बहिरा व्यक्तिहरुलाई बाख्राको पाठी वितरण

स्थानिय
Typography

असार २० ।
भरतपुर महानगरपालिकाका बहिरा व्यक्तिहरुलाई बाख्राको पाठी वितरण गरिएको छ । चितवन बहिरा संघको आयोजना र भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा यहाँका बहिराहरुलाई स्वरोजगारको लागि बाख्राको पाठी वितरण गरिएको हो । मंगलबार कार्यक्रमको आयोजना गरि महानगरपालिकाका विभिन्न २३ जना बहिरा व्यक्तिहरुलाई बाख्राको पाठी वितरण गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा सचिव मधुराम दवाडीले बहिरा व्यक्तिहरु पनि स्वरोजगार भएमा उनीहरुले आफ्नो आवश्यकता पुरा गर्न अरुको सहयोगको अपेक्षा गर्नु नपर्ने बताए । उनीहरु स्वरोजगार भएमा परिवारको बोझ नहुने र आफ्नो लागि खर्च आफैले पु¥याउन सक्ने उद्देश्य राखी बाख्रा वितरण गरिएको दवाडीले बताए । बाख्रा वितरण कार्यक्रममा जिल्ला अपाङ्ग समन्वय समिति चितवनका संयोजक भरतमणि भट्टले महानगरपालिकाले लक्षित वर्ग कार्यक्रम अन्तर्गत क्षमता विकास र भौतिक विकासका कार्यक्रम सञ्चालन गर्ने बताए । यस अगाडि क्षमता विकासमा मात्रै बजेट छुट्याइने गरेको भएपनि यस पटक भने क्षमता अभिवृद्धिको लागि बजेट विनियोन भएकाले बहिरा व्यक्तिको लागि बाख्राको पाठी वितरण गरिएको भट्टले बताए । बहिरा व्यक्तिहरुको अभिभावकले पनि आफ्ना बहिरा छोराछोरीलाई स्वरोजगार बनाउन प्रेरणा दिनुपर्नेमा भट्टले जोड दिएका थिए । चितवन बहिरा संघका उपाध्यक्ष संगत गुरुङले स्वागत मन्तव्य राख्दै बहिरा व्यक्तिहरुले पनि समाजमा केही गरेर देखाउने बेला आएका बताए । बहिरा व्यक्तिहरुसँग क्षमता भएर पनि बाहिर काम गर्न नपाउने गुनासो गर्दै गुरुङले अब व्यक्ति आफै स्वरोजगार हुँदै समाजमा आफ्नो पहिचान कायम गर्न बहिरा व्यक्तिहरु लाग्नुपर्नेमा जोड दिए । कार्यक्रम चितवन बहिरा संघकी अध्यक्ष विष्णुकुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।