निर्देशकको खोजीमा रेखा

अर्थ / वाणिज्य
Typography

काठमाडौं । तिहार लगत्तै नयाँ फिल्म सुटिङको तयारीमा रहेकी रेखा थापा निर्देशकको खोजीमा छिन् । आफैं निर्देशन गर्ने तयारीमा रहेकी रेखा पछिल्लो समय निर्देशन नगर्ने सोचमा पुगिन् ।

 

‘म आफैंले मुख्य भूमिका निर्वाह गर्ने भएकाले निर्देशन नगर्ने मुडमा छु,’ अनलाइनखबरसँग कुरा गर्दै रेखाले भनिन्, ‘निर्देशन गर्दा अभिनयमा असर पर्ला कि भन्ने चिन्ता छ ।’

 

त्यसो त उनी आफ्नै लगानीमा चलचित्र बनाउँछिन् । सुटिङ कहाँ गर्नेदेखि सुटिङमा के-के खुवाउनेसम्मको चिन्ता आफैंले गर्नुपर्छ । ‘हरेक विधामा काम गर्न छुट्टाछुट्टै व्यक्तिलाई जिम्मा दिइए पनि निर्माता भएपछि सबैतिर चिन्ता गर्नुपर्ने रै’छ’ उनले भनिन् ।

 

लगानी, निर्माण प्रक्रिया र अभिनय यी कामले नै थकित हुने धारणा राख्ने रेखाले निर्देशनको जिम्मेवारी अरुलाई दिँदा आफूलाई तनाव कम हुने बताइन् ।

 

अन्य ब्यानरको फिल्ममा पनि सक्रिय

 

पछिल्लो समय आफ्नै ब्यानरमा मात्रै फिल्म खेल्ने योजना बनाएकी रेखा अहिले घर बाहिरको फिल्ममा समेत सक्रिय हुने योजनामा छिन् । सबिन श्रेष्ठको ‘हिरो रिटर्न्स’मा सम्झौता गरेकी रेखा अर्को चलचित्र ‘डायरी’मा पनि अनुबन्ध भएकी छिन् ।

 

‘राम्रो भूमिका पाएँ भने बाहिरको फिल्ममा पनि काम गर्छु,’ उनले भनिन् । उनले अभिनय गरेको ‘पलाँस’ प्रदर्शनको तयारीमा छ । अन्य केही चलचित्रबाट समेत अभिनयको प्रस्ताव आइरहेको उनले बताइन् ।