मंसिर ०४ ।


लायन्स क्लब अफ नारायणगढ बालकुमारीको स्थापना दिवसको अवसर पारेर क्लबका अध्यक्ष बालगोपाल चुके र उनकी पत्नीले चितवन मानव सेवा आश्रममा खाना खुवाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रय लिइरहेका अनाथ व्यक्तिलाई सोमबार खाना खुवाइएको हो । मानवीय काम गर्नको लागि स्थापना गरिएको संस्थाको हरेक वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिलाई खाना खुवाइएको क्लबका अध्यक्ष बालगोपाल चुकेले बताए । क्लबको स्थापना दिवसको अवसर पारेर चुके दम्पतीले चितवन मानव सेवा आश्रमको अक्षय कोषमा रहने गरि १५ हजार रुपैयाँ समेत प्रदान गरेका छन् । सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई अक्षयकोषबाट आउने व्याजले खान खुवाउन पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएको चितवन मानव सेवा आश्रम अक्षयकोषका लागि चुके दम्पतीले उक्त रकम प्रदान गरेका हुन् । कार्यक्रम मार्फत नै क्लबका सदस्य धु्रव प्रसाद पौडेलले मंसिर २० गते पर्न गएको आफ्नी छोरीको जन्म दिनको अवसरमा आश्रमको अक्षयकोषमा ११ हजार रुपैयाँ प्रदान गरेका छन् । यसैबीच, क्लबका पूर्व अध्यक्ष सरोज मास्केले समेत आफ्नो जन्म दिनको अवसर पारेर उक्त कार्यक्रम मार्फत एक दिनको खाना खुवाउने रकम आश्रमलाई प्रदान गरेका छन् । नारायणगढका व्यवसायी समेत रहेका मास्केले बिहानको खाना, दिउँसोको खाजा र बेलुकीको खाना वापतको रकम संस्थाका अध्यक्ष ममता शर्मा न्यौपानेलाई प्रदान गरेका हुन् । चितवन मानव सेवा आश्रममा हाल ३१ जना महिला र एक जना बालक सहित ४६ जना असहाय व्यक्तिहरुले आश्रय लिइरहेका छन् । मानसिक सन्तुलन गुमाएका, बिरामी, असहाय व्यक्तिहरुलाई चितवन सहिसत काठमाडौँ, नुवाकोट, गोरखा, नवलपरासीको सडकबाट उद्धार गरेर चितवन मानव सेवा आश्रममा राखिएको आश्रमका उपाध्यक्ष विनोद ढकालले जानकारी दिए ।

चितवन, कार्तिक ३०–


बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’को टिम चितवन टाईगर्सले विहीबार चितवनमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा नारायणगढस्थित क्याम्पाचौरमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम भएको हो । सो कार्यक्रममा ३० जना खेलाडीले सहभागिता जनाएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । प्रत्येक टिमले ‘ट्यालेण्ट हण्ट’ मार्फत स्थानीय खेलाडीलाई आवद्ध गराउने निर्णय अनुरुप चितवन टाईगर्सले पनि ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको हो ।
आजको ‘ट्यालेण्ट हण्ट’ कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान राजु खड्का र पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी छनौटकर्ताको रुपमा रहेका थिए । ‘ट्यालेण्ट हण्ट’ बाट हेमन्त कुमार थापा क्षेत्री, गौतम केसी, संघर्ष, दिवस पौडेल र आकाश थापा गरि पाँच जना खेलाडीको नाम सर्ट लिष्टमा परेको थियो । पाँच जना मध्येबाट व्याट्सम्यानमा आकाश थापा र फाष्ट बलरमा गौतम केसी छनौट भएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
आगामि पुसमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका टिमहरुले ११ जना खेलाडी छनौट गरिसकेका छन् । हरेक टिमले तीन जना विदेशी खेलाडीलाई समेत अनुबन्धन गर्न पाउने प्रावधान रहेको छ । चितवन टाईगर्सको मालिक नवलपरासी निवासी किशोर भट्टराई हुन् । चितवन टाईगर्सको टिममा राष्ट्रिय खेलाडीहरु सुवास खकुरेल, पृथु बास्कोटा, दीपेन्द्रसिंह ऐरीलगायतका युवा खेलाडीहरु रहेका छन् ।

कात्तिक २७ ।


भिमसेन बचत तथा ऋण सहकारी संस्था भरतपुर २ को पांचौ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा शेयर सदस्यहरुलाइ सम्मान गरेको छ । ज्येष्ठ नागरिक २ जना, असल बचतकर्ता २ जना, असल ऋणी २ जना र आवधिक बचत कर्ता एवं असल बालबचत कर्ता १÷१ जना शेयर सदस्यलाइ सम्मान गरेको हो । कार्यक्रममा संस्थाका सचिव अशोक श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दिपक शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी निरिक्षक रामबाबु पौडेल, उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष एवं संस्थाका सल्लाहकार राजु श्रेष्ठ लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कात्तिक २७ ।
भरतपुर २ आँपटारीमा रहेको स्मल हेभन मोडल स्कुलले अभिभावकहरुलाई परामर्श दिएको छ । विद्यालयले आफ्ना विद्यार्थीहरुका अभिभावकलाई परामर्श प्रदान गरेको हो । उक्त अभिभावक परामर्श कार्यक्रममा सहभागी भएका दुई सय भन्दा बढी अभिभावकलाई प्रशिक्षक रविन कटुवालले प्रशिक्षण दिएका थिए । कटुवालले वाल मनोविज्ञान, उनीहरुलाई कसरी लगनशील बनाउने भन्ने विषयमा अभिभावकहरुलाई प्रशिक्षण दिएका हुन् । सानै उमेरका बालबालिकाहरुदेखि नै अभिभावकले विशेष ख्याल गर्दै उनीहरुको पढाई प्रति चनाखो बनाउनुपर्ने कुटवालले बताए । कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष एवम् भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले बालबालिकाहरुलाई गाली गर्न नहुने उल्लेख गर्दै उनीहरुलाई रमाइलो वातावरणमा पढाउनुपर्ने बताएका छन् । उक्त परामर्श कार्यक्रम विद्यालयका कार्यकारी निर्देशक रामप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.