चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल २० वर्गकिलोमिटर वृद्धि

प्रमुख समाचार
Typography


असार ०४ ।
दुर्लभ वन्यजन्तुको वासस्थान रहेका चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २० दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । यसअघि चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९ सय ३२ वर्गकिलोमिटर रहेकोमा ३८ बर्षपछि क्षेत्रफल थपिएर अहिले ९ सय ५२ दशमलव ६३ वर्गकिलोमिटर भएको उनले बताए । निकुञ्ज स्थापनापछि क्षेत्रफल बृद्धि भएको यो दोस्रो पटक हो । विसं २०७३ सालमा राजपत्रमा प्रकाशित सुचना अनुसार नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सिमा हेरफेर गरिएको जनाईएको छ । २०६० सालतिर निकुञ्जको पुर्वी सेक्टरमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सिमा बढाईएको अर्यालले जानकारी दिए । निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्रफल रहेकोमा त्यसको ५ बर्ष पछि अर्थात २०३५ सालमा यसको क्षेत्रफल बढेर ९३२ वर्गकिलोमिटर र अहिले आएर निकुञ्जको क्षेत्रफल ९५२ दशमलव ६३ वर्गकिलोमिटर भएको छ । चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने यो निकुञ्जमा पछिल्लो गणना अनुसार गैंडा ६ सय ५, बाघ १२०, गौरीगाई ३६८ रहेका छन् । त्यस्तै विभिन्न प्रजातिका सयौ वन्यजन्तु र चरा यस निकुञ्जमा देख्न सकिन्छ । यसको मध्यवर्ती क्षेत्रफल भने ७२९ वर्गकिलोमिटर रहेको छ ।