तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता

प्रमुख समाचार
Typography

असार ०४ ।
दोस्रो चरणको स्थानीय तह यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा यो दोस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको हो । प्रदेश नं १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, एक सय ११ नगरपालिका र दुई सय १५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार पाँच सय ८१ मतदानस्थल आठ हजार तीन सय ६४ मतदानकेन्द्र कायम गरिएको छ । राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ । महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आइतबार बिहान ८ देखि अपराह्न ४ बजेसम्मको समय तय गरिएको थियो । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार सात सय ६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार नौ सय कर्मचारी खटिने आयोगले जानकारी दिएको छ ।