भरतपुर वडा नम्बर १९ का उमेदवारहरुले चुनावी घरदैलोलाइ निरन्तरता दिए

प्रमुख समाचार
Typography

असार ०४ ।
मतपत्र च्यातिएपछि अदालतमा पुगेको मुद्दाको किनारा नलागे पनि चितवनको भरतपुर वडा नम्बर १९ का उमेदवारहरुले चुनावी घरदैलोलाइ निरन्तरता दिएका छन् । उनीहरु घरदैलोमा मतदाता प्रभावित गर्ने काममा सक्रिय छन् । भरतपुर १९ मा मतगणना या पुनःमतदान भन्ने विषयको निर्णय नआए पनि उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्ने काम भने जारी राखेका छन् । मतदाताको घरदैलोकै क्रममा रहेका एमालेका उमेदवार देवी ज्ञवालीले पहिलो पटक अदालतले मत माग्न पर्दैन भनेकाले अबको आदेश पनि पुनःमतगणनाकै आउने दावी गर्दै परिस्थितिको बारेमा मतदातालाई जानकारी दिन मात्रै घरदैलोमा सहभागी भएको दावी गर्छन् । मतपत्र कसले च्यात्यो, किन च्यात्यो, कसरी च्यात्यो लगायतका विषयमा मतदातालाइ जानकारी गराईको उनको भनाइ छ ,
यता कांग्रेस–माओवादी केन्द्रकी संयुक्त प्यानलबाट मेयरमा उमेदवारी दिएकी रेणु दाहाल पनि अहिले भतपुर १९ मै छन् । गएको जेठ १४ गते पौने १२ बजे राति मतगणनाकै क्रममा मतपत्र च्यातिएको थियो । पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो । सोही दिनबाट यहाँ मतगणना रोकिएको छ । अनुसन्धान गरी निर्वाचन आयोगले पुनःमतदानको निर्णय गरेपछि एमालेले मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । अदालतले मतदान अघि नबढाउन अन्तरिम आदेश दिएपछि अहिले उक्त मुद्दा विचाराधीन छ ।
२ पटक सुनुवाई सरेको मुद्दा मंगलबार असार ६ गते सुनुवाई हुँदैछ । तर अदालतको फैसला नआउँदै मत माग्न उमेद्वारहरु भरतपुर १९ मा खटिएका छन् । निर्वाचन आयोगको निर्णय आउनेवित्तिकै गाउँ पसेका उमेदवारहरु फर्किएका छैनन् । एमालेले माओवादीका कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाएको छ भने माओवादीले एमालेले कब्जा गर्न लाग्दा मतपत्रको रक्षा गर्ने क्रममा च्यातिएको दावी गरेको छ । भरतपुर १९ मा १४ गते राति वडा नम्बर १९ को खसेको २ हजार ८९७ मतमा १८०९ मत गनिएको थियो । त्यो बेलामा देवी ज्ञवालीले ४१ हजार ६४१ मत लयाएका थिए भने रेणुले ४० हजार ९०८ मत ल्याएकी थिईन् । उनीहरुको मतान्तर ७३३ थियो । अन्य थप मतपत्र गन्दै गर्दा मतपत्र च्यातिएको थियो ।