भरतपुर महानगरपालिकालाई २०७५ साल भित्र बालमैत्री महानगर घोषणा गर्ने तयारी

प्रमुख समाचार
Typography

भरतपुर महानगरपालिकालाई २०७५ साल भित्र बालमैत्री महानगर घोषणा गर्ने तयारी गरिएको छ । बालमैत्री महानगर घोषणा गर्नको लागि कार्यविधिमा उल्लेख गरिएको ३९ वटा र महानगरले थपेको दुई वटा गरि ४१ वटा सूचक प्राप्त गर्नुपर्ने हुन्छ । चित्रवन नगरपालिका, नारायणी नगरपालिका र कविलास गाविस थपिएर महानगर बनेको भरतपुरमा आगमी २१ महिनाभित्र बालमैत्री नगर बनाउन चुनौति देखिएको छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा दुई हजार भन्दा बढी बाल श्रमिक रहेका छन् । दुई वर्ष अगाडिको तथ्यांक अनुसार करिब दुई सय जना बालबालिकाहरु निकृष्ट खालका बालश्रमिकको रुपमा कार्यरत रहेका छन् । महानगरपालिकामा थप गरिएको भूभागमा बालमैत्री अभियान सुरु गर्नुपर्ने र मन्त्रालयबाट स्थलगत अनुगमन हुँदा सूचक पूरा भएको पाइएमा मात्रै बालमैत्री नगर घोषणा हुनेछ । महानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न निकृष्ट प्रकारको बालश्रम चुनौति रहेको उल्लेख गर्दै भरतपुर महानगरपालिकाका सामाजिक विकास अधिकृत तुलसी श्रेष्ठ बाल श्रमिक कानुनी र सामाजिक अपराध भएकाले यसको न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको बताउँछन् ।

नेपालमा १५ वर्ष अगाडि २६ लाख बालश्रमिक रहेकोमा हाल १६ लाख बालश्रमिक रहेका छन् । १५ वर्षमा १० लाख बालबालिकालाई बालश्रमबाट मुक्त गरिएकोले सबैको साथ र सहयोग भएमा बालश्रमिक अन्य गर्न सकिने सरोकारवालाहरुको जोड छ । पछिल्लो तथ्यांक अनुसार भरतपुरमा घरेलु कामदारको रुपमा २९ प्रतिशत, होटल रेष्टुरेन्टहरुमा २२ प्रतिशत तथा यातायात क्षेत्रमा ८ प्रतिशत बालश्रम प्रयोग गरिएको छ । निकृष्ट प्रकारको बालश्रम अन्तर्गत रहेका पाँच वटा सूचक पुरा गर्न निकै कठिन रहेको बालबालिकाको क्षेत्रमा काम गर्दै आएको दियालो परिवार नारायणगढका अध्यक्ष केदारनाथ खनाल बताउँछन् ।