नारायणगढ मुग्लिन सडकमा दिनहुँ आउने पहिरो र सडक विस्तारको कारण सौराहामा पर्यटक घटे

प्रमुख समाचार
Typography

सार २८ ।

 

नारायणगढ मुग्लिन सडकमा दिनहुँ आउने पहिरो र सडक विस्तारको प्रत्यक्ष असर सौराह क्षेत्रका होटल व्यवसायमा परेको छ । हाल यो सडकखण्डको सवारी आवागमनमा अवरोध भइरहेको छ । सौराह क्षेत्रमा एक सय ५० भन्दा बढी होटल छन् । नारायणगढ मुग्लिन सडक हुँदै चल्ने साना सवारीले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन् । तर, ठूला र पर्यटकीय बस चल्नसक्ने अवस्थामा छैन । यसको प्रत्यक्ष मारमा सौराहका होटल व्यवसायी परेका छन् । एक ठाउँमा आएको पहिरो सफा गर्न नपाउँदै अर्को ठाउँमा पहिरो जाँदा सौराह हिँडेका पर्यटक पनि बीच बाटोमा अलपत्र छन् । सौराह काठमाडौं उपत्यका बाहिरको दोस्रो पर्यटकीय गन्तव्य हो । पोखरापछि धेरै पर्यटक जाने सौराह विगत एक महिनादेखि सडक अवरोधकै कारण सुनासन बनेको छ । जंगल सफारीदेखि दुलर्भ एक सिंगे गैंडा र बाघ हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटक सौराह क्षेत्रमा कमै मात्रमा देखिन्छन् । जंगल सफारीका लागि सबैभन्दा सहज गन्तव्य पनि सौराह नै हो । त्यसमा पनि दुर्लभ मानिने घडियाल तथा विभिन्न प्रजातीका वनस्पति र पशुपंक्षी हेर्न खर्चालु पर्यटक आउने गन्तव्यको रूपमा सौराह क्षेत्रलाई लिइन्छ । सौराह क्षेत्रको समस्याले समग्र पर्यटन क्षेत्रमा असरपर्ने पर्यटन व्यवसायी बताउँछन् । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको चपेटामा परेको सौहारको होटल व्यवसाय पुनः नारायणगढ–मुग्लिन सडक विस्तार र पहिरोको चापमा परेको हो । सामान्य अवस्थामा ३० देखि ४० प्रतिशत अकुपेन्सी हुने सौराह क्षेत्रका होटलमा अहिले १० प्रतिशत पनि अकुपेन्सी नरहेको जंगल सफारी लजका सञ्चालक तथा क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ ।