किसानलाई ५० प्रतिशत अनुदान सहयोगमा कृषि कार्यको लागि टेक्टर वितरण

प्रमुख समाचार
Typography

असार २८ ।


पश्चिम चितवनका किसानहरुलाई नेपाल सरकारको ५० प्रतिशत अनुदान सहयोगमा कृषि कार्यको लागि टेक्टर वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा भरतपुर महानगरपालिकाको वडा नम्बर १५, २०, २५ र २६ का किसानलाई तीन वटा टेक्टर वितरण गरिएको हो । प्रति टेक्टर १६ लाख रुपैयाँ मूल्य रहेकोमा किसानको आठ लाख रुपैयाँ र परियोजनाको आठ लाख रुपैयाँमा किसानलाई टेक्टर प्रदान गरिएको हो । भरतपुर २६ को प्रगतिशील युवा कृषक समूह, भरतपुर १५ को प्रांगारिक कृषि उत्पादक सहकारी संस्था र भरतपुर २० र २५ को साकम्बरी ताजा तरकारी सहकारीलाई टेक्टर वितरण गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत सोमनाथ घिमिरेले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पश्चिम चितवनको छ सय हेक्टरका सात सय किसान लाभान्वित भएका छन् । परियोजनाबाट अनुदानमा उपलब्ध भएको टेक्टरले किसानको खेतबारी जोत्दा चलनचल्तीको दर भन्दा २० प्रतिशत सस्तोमा जोत्नुपर्ने नियम समेत बनाइएको छ । परियोजना सञ्चालनमा आएपछि उक्त क्षेत्रमा तरकारी उत्पादनमा वृद्धि हुनुका साथै अर्गानिक खेतीतर्फ किसानलाई आकर्षित गरिएको छ । टेक्टर हस्तान्तरण कार्यक्रममा शनिश्चरे कृषि सहकारी संस्थाका अध्यक्ष कर्ण बहादुर सुवेदी, जिल्ला कृषि विकास कार्यालय चितवनका गुञ्जानगर सेवा केन्द्र प्रमुख वेदप्रसाद रेग्मी, टेक्टर खरिद समिति संयोजक बलराम राउत, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समिति सदस्य प्रकास पन्तलगायतले मन्तव्य राखेका थिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालक समितिका सहसंयोजक विजय भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष चित्रसेन अधिकारी प्रमुख अतिथि रहेका थिए ।