पूर्वीचितवन महोत्सवमा करिब १ लाख दर्शकद्धारा अवलोकन , २० दम्पत्ती सम्मानित

प्रमुख समाचार
Typography

चितवन , मंसिर ३


चितवनको रत्ननगरमा संचालन भएको पूर्वीचितवन महोत्सव समापन गरिएको छ । रत्ननगर जेसिजले कार्तिक २४ गतेदेखी सूरु गरेको महोत्सव आइतबार सकिएको हो । पूर्वीचितवन महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार पूर्वीचितवनका २० दम्पतीलाई सम्मान समेत गरेको छ । वैवाहिक जिवनमा बादिएर ५० बर्ष पूरा गरेका दम्पत्तीहरुलाई सम्मान गरिएको महोत्सवका संयोजक निरज श्रेष्ठले जानकारी दिए । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले दम्पत्तीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा दम्पत्तीहरुलाई सम्मानसँगै महोत्सव अवधिभर महोत्सव परिसर भित्र आयोजना गरिएको विभिन्न प्रतियोगितामा विजयी भएकाहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । महोत्सवमा रत्यौली प्रतियोगिता , मेहेन्दी प्रतियोगिता , दुलही श्रंङगार प्रतियोगिता ,विद्यालय स्तारिय नृत्य प्रतियोगिता , बालविवाह सम्बन्धि वक्तीत्वकला प्रतियोगिता भएका थिए । १० दिनसम्म चलेको महोत्सवमा करिव १ करोड बराबरको कारोबार भएको आयोजकले अनुमान गरेको छ । महोत्सवमा २३५ वटा स्टल सहित बालउद्यान रहेको थियो । महोत्सवमा प्रत्येक दिन स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।