मंसिर ११ ।


चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने रत्ननगर महोत्सव यो वर्ष पौष २७ गतेदेखि माघ ७ गतेसम्म हुने भएको छ । पूर्वी चितवनको क्षेत्रीय रंगशालाका लागि प्रस्तावित टिकौली चौरमा आयोजना हुन लागेको यो नवौं महोत्सव हो । यसपटक आयोजना गर्न लागिएको महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रर्वद्धन सम्बन्धि ४ सय ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । स्थानीय तथा स्वदेशमा उत्पादीत बस्तुको प्रदर्शनीका लागि पनि स्टलहरु रहनेछन् । कृषिलाई प्राथमिकतामा राखिएको यो पटकको महोत्सवमा पाँचलाख भन्दाबढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सव अवधिभर करिब ५० करोड भन्दाबढीको कारोवार हुने आयोजकको विश्वास छ ।

यस वर्षको महोत्सवमा पर्यटन प्रवद्र्धनका कार्यक्रम अन्तर्गत चितवनका प्रमुख पर्यटकीय गन्तव्य सौराहा, चेपाङ पहाडी पदयात्रा मार्ग, सिराईचुली, उपरदाङगढी, रत्ननगर क्षेत्रका टिकौली ताल, चेपाङ ताल, बीसहजारी ताल सँगै टिकौलीमा रहेको जैविक विविधता सूचना केन्द्रको प्रचार प्रशारको व्यवस्था समेत मिलाईने आयोजकले जनाएको छ । आगामी दिनमा आयोजना हुने मेला महोत्सवहरुले विदेशमा पलायन हुने युवाहरुलाई रोक्न प्रेरणा दिने खालका हुनुपर्ने रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन बताउँछन् ।

महोत्सवमा दैनिक जसो राष्ट्रिय तथा स्थानीय कलाकारहरुको मनोरञ्जनात्मक सांगेतीक प्रस्तुतीहरु रहनेछन् । यो पटक सांगीतिक कार्यक्रम सँगै विभिन्न आदिवासी जनजातिका भेषभुषा तथा नृत्य सहितको कला संस्कृति प्रदर्शनी गरिने आयोजकको भनाई छ । महोत्सव स्थल प्रवेशको लागि सर्वसाधारण नागरिकलाई ५० रुपैयाँ तथा विद्यार्थीलाई २५ रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । प्रत्येक टिकट बिक्रीबाट प्राप्त हुने रकम मध्येबाट दुई रुपैयाँ बाल श्रम न्यूनीकरणका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

मंसिर ११ ।


सन् १९७८ देखि सुरु भएको चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्र नेपालकै एकमात्रै सुविधायुक्त प्रजनन केन्द्र हो । यहाँ वर्षेनि एक सय भन्दा बढी बच्चा कोरल्ने गरिएको छ । बर्दियामा रहेको गोही प्रजनन केन्द्रले गत वर्षदेखि मात्रै बच्चा कोरल्न थालेको भएपनि चितवनको प्रजनन केन्द्र सुविधासम्पन्न मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको घडियाल गोही प्रजनन केन्द्रको व्यवस्थापनको काम समेत भएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रमा रहेका गोहीले सोही स्थानमा नै अण्डा पार्ने गरेका छन् भने प्राकृतिक बासस्थानमा गोहीले पारेको अण्डा समेत संकलन गरेर यहाँ ल्याई बच्चा कोरल्ने काम थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रले हरेक वर्ष सय वटा अण्डा नदी किनारबाट ल्याएर बच्चा कोरल्ने तथा यहाँ हुर्किएका सय वटा गोही प्राकृतिक बासस्थानमा लगेर छोड्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेल बताउँछन् ।

स्वच्छ पानी मन पराउने र ताजा माछा खाने घडियाल गोही संरक्षित जीव हो । प्राकृतिक वासस्थानमा यी जीवको संख्या नेपालभर तीन सयभन्दा केही बढी भएको अनुमान छ । छ सय ५० वटा गोही रहेको प्रजनन केन्द्रलाई व्यवस्थित गर्नको लागि पोखरी मर्मत सम्भार तथा दैनिक सरसफाई, पानी खोल्ने र भर्ने काम गर्नको लागि कर्मचारीको समेत खटाइएको घडियाल प्रजनन केन्द्रका प्रमुख बेदबहादुर खड्काले बताए ।

घडियाल गोहीको दुश्मनको रुपमा प्रदुषण तथा चोरीशिकार रहेको संरक्षणकर्मीहरु बताउँछन् । गोही प्रजनन केन्द्रमा एउटा मात्रै बयस्क भाले गोही रहेको छ भने चितवन राष्ट्रिय निकुञ्ज वरिपरीको प्राकृतिक क्षेत्रमा भाले गोही नरहेको निकुञ्जले जनाएको छ ।

१० मंसिर, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैं सम्मान रहेको बताए । प्रचण्डले पीडित परिवार र मृतकका पक्षमा दीर्घकालीन प्रकृतिका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।


बाह्र वर्षअघि सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले थापेको विद्युतीय एम्बुसमा यात्रुवाहक बस परेर सोही ठाउँमा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए । सोही घटनाका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा माओवादी आलोचित बनेको थियो । माडीको अयोध्यापुरीबाट नारायणगढतर्फ आइरहेको ना२ख ३२४५ नं। को बसलाई कल्याणपुर र वसन्तपुर बजारको बीचमा पर्ने बाँदरमुढे खोलामा माओवादीले एम्बुसमा पार्दा सो घटना भएको थियो । वि।सं। २०६२ जेठ २३ गते घटना भएको हो ।

घटनापछि पहिलो पटक प्रचण्ड बाँदरमुढे पुगेका हुन्। यसअघि १२ वर्षको अवधिमा घटनास्थलमा बनेको स्मारकमा प्रचण्ड जाने कार्यक्रम पटक पटक तय भएको भए पनि मिलेको थिएन । चितवन क्षेत्र नं। ३ बाट प्रचण्ड वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । चुनावी प्रचारका लागि माडीको बाँदरझुला जाने क्रममा दाहाल बाँदरमुढे हुँदै गएका हुन् ।

आज दिउँसो बाँदरझुलामा घरदैलो र चुनावी सभा हुँदैछ । दाहाल सोमबार दिनभर पनि चुनावी कार्यक्रमअन्तर्गत माडीमा रहने कार्यक्रम छ । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर माडी जानुपर्ने हुन्छ । कडा सुरक्षाका साथ प्रचण्ड माडी हुँदै बाँदरझुला पुगेका हुन् । समय मिलेमा आज दिउँसो ठोरीको सोनापुरसम्म जाने कार्यक्रम रहेको बताइएको छ । रासस

मंसिर ०९ ।


चितवनको भरतपुरमा रहेको चित्रवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडल संस्थाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । संस्थाको २१ औँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले २७ जना वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो । संस्थाले आफ्ना शेयर सदस्य मध्ये ८० वर्ष नाघेका १५ जना पुरुष र १२ जना महिलालाई सम्मान गरेको थियो । समाजमा रहेका ज्येष्ठ नागरिकहरु इतिहास भएको र उनीहरुसँग भएको ज्ञानलाई मनन गर्न सकेमा समाज परिवर्तन गर्न सहज हुने संस्थाका अध्यक्ष भुवन आचार्यले बताउनुभयो । समाजका हरेक व्यक्ति ज्येष्ठ नागरिक हुने भएकाले आफ्ना आमाबुबालाई सबैले सम्मान गर्नुपर्नेमा आचार्यले जोड दिनुभयो । संस्थाका ज्येष्ठ सदस्यहरुलाई जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराई, नेफ्स्कुन सञ्चालक शान्ती अधिकारी, नेफ्स्कुन सञ्चालक भरतप्रसाद अधिकारी, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तेजेन्द्रबहादुर खड्कालगायतले दोसल्ला ओडाएर सम्मानपत्रबाट सम्मान गरेका थिए । त्यस्तै चित्रवन बचत तथा ऋण सहकारी संस्थाले उक्त कार्यक्रममा राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा अध्ययनरत दुई जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरेको छ । त्यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रमका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । यसैगरि शनिबार नै आयोजना गरिएको रक्तदान कार्यक्रममा १६ जना महिला सहित ६८ जनाले रक्तदान गरेका छन् ।

१० मंसिर ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएका ३२ जिल्लामा मतदान सकिएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म ती जिल्लाका मतदाताले केन्द्रमा पुगेर मतदान गरेका थिए ।

निर्वाचन अयोगले साँझ ५ बजेभित्र सम्बन्धित मतदान केन्द्रभित्र पुगेका मतदाताले मतदान गर्न पाउने जनाएको छ । त्यसैले केहि मतदान केन्द्रहरुमा मतदान प्रक्रिया अन्तिम चरणमा छ । तर, अधिकांश मतदान केन्द्रमा मते मतदान प्रक्रिया सकिएर मतपेटिका सील गरे सदरमुकाम पठाउने तयारी हुँदैछ । तर हेलिकोप्टर प्रयोग गर्नुपर्ने उच्च हिमाली क्षेत्रका मतपेटिका भने भोलि (सोमबार) बिहान मात्र सदरमुकाम ल्याइने निर्वाचन आयोगले जनाएको छ ।स्थानीय तह निर्वाचनमा समग्रमा ७३ प्रतिशत मत खसेकोमा पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करिव ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । यद्यपी निर्वाचन आयोगले यसबारे आधिकारिक जानकारी दिन बाँकी छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार सकिएको निर्वाचनमा छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रहृयो । तर, स्थानीय तहको चुनावमा जस्तो यस चुनावमा मतदाताको उत्साह भने कमी पाइएको छ ।

 


१० मंसिर,  ।

पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको छ ।

मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रहरुमा मतदान सुरु भएको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

पहिलो चरणमा आज प्रदेश नं। १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङमा मतदान भइरहेको छ ।

यस्तै प्रदेश नं। ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं। ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं। ५ का रुकुम पूर्वी भाग र रोल्पामा मतदान भइरहेको छ ।

प्रदेश नं। ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं। ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ ।

पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।


मंसिर ०९ ।


नेकपा एमाले चितवनका अध्यक्ष एवम् प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का संयुक्त वामपन्थी उम्मेदवार कृष्णभक्त पोख्रेलले चितवनको समग्र विकास संयुक्त वामपन्थी गठबन्धनले मात्र गर्न सक्ने बताएका छन् । चितवनको कालिका नगरपालिका क्षेत्रमा आज भएको घरदैलोको क्रममा पदमपुर ५ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार पोख्रेलले चितवनको समग्र विकासको खाका हामीले तयार गरेको भन्दै निर्वाचन पछि गठन हुने वामपन्थी सरकारले जनपक्षीय काम गरी अगाडि बढ्ने बताए । सुकुम्वासी समस्या समाधान, खगेरी खोला, थाङखोला लगायतका खोलाहरुको तटबन्धन, कालिका नगरपालिका क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो निर्माण गर्ने पनि आफ्नो मुख्य एजेण्डा रहेको पोख्रेलले बताए । निशुल्क शिक्षा, स्वास्थ्य र रोजगार पनि आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै पोख्रेलले अब बन्ने वामपन्थी गठबन्धनको बहुमतको सरकारले जनभावना अनुसार काम गर्न सक्ने समेत बताए । एमाले जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले चितवनको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभामा उम्मेदवार रहेका वाम गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुने निश्चित भएकोले कांग्रेस गठबन्धनका उम्मेदवारहरु अत्तालिएको बताए । संयुक्त वामपन्थी गठबन्धनको देशैभर बहुमत आउने र पुष महिनामा वामपन्थीको सरकार बनेपछि जनमुखी कामहरु हुनेमा ढुक्क हुन आग्रह गर्दै उम्मेदवार पोख्रेलले चितवनका सम्पूर्ण वामपन्थी उम्मेदवारहरुलाई मतदान गर्न समेत आग्रह गरेका थिए । सोही कार्यक्रममा प्रदेश सभा सदस्य चितवन क्षेत्र नं. २ “क” का उम्मेदवार घनश्याम दाहालले चितवनवासी जनताको हरेक सुखदुखमा आफु रहिरहेको र रहिरहने समेत बताए । स्थानीयको समस्या समाधान गर्न सधैं प्रतिवद्ध रहेको भन्दै उम्मेदवार दाहालले सडक, ढल, सिंचाई, स्वास्थ्य, खानेपानी लगायतका सबै विकास निर्माण गर्नको लागि आफु लागिपर्ने उनले बताए । देशैभर वामपन्थी गठबन्धनको जनलहर बढेर गएको भन्दै उम्मेदवार दाहालले अब बन्ने सरकारले देशको आर्थिक विकासको लागि काम गर्ने समेत उनले बताए । कार्यक्रममा ५० वर्ष भन्दा बढी नेपाली कांग्रेसमा रही क्रियाशील रहेका हालै सो पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका चितवनका नेता त्रिलोचन पौडेलले कांग्रेसले यो देशमा केही गर्न नसकेको र अब पनि कांग्रेसले यो देशको विकासको लागि केही गर्न नसक्ने उनले बताए । लामो समयसम्म सरकार रहेर पनि कांग्रेसले देश र जनताको लागि काम गर्न नसकेको भन्दै पौडेलले वामपन्थीको छोटो समयको सरकारले जनमुखी काम गरेर देखाई सकेको समेत उनले बताए । पदमपुर क्षेत्रमा आयोजित घरदैलो कार्यक्रममा संयुक्त वामपन्थी उम्मेदवार सहित सयौं कार्यकर्ता घरदैलो एवम् मतदाता भेटघाट कार्यक्रममा सहभागी भएका थिए । सोही कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी १ दर्जन भन्दा बढी युवाहरु एमालेमा प्रवेश गरेका थिए ।

More Articles ...