असार २१ ।

 

चितवनमा लागु औषध प्रयोगकर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । प्रयोगकर्तासँगै यसको कारोबारमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गर्न समेत चितवन प्रहरीले सफलता पाएको छ । चितवनमा चालु आर्थिक वर्ष २०७३÷०७४ को जेठ मसान्तसम्ममा ठूलो परिमाणमा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छ । यस आर्थिक वर्षमा पाँच सय ७३ किलो चरेश, २६ किलो गाँजा, १४ लिटर कोरेक्सलगायत अन्य लागु औषध प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए । प्रहरीले लागु औषध कारोबारको ४७ वटा मुद्दामा चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ८० जनालाई पक्राउ गरि मुद्दा चलाएको थापाको भनाइ छ ।

लागु औषध कारोबारीसँगै प्रयोगकर्ता समेत नियन्त्रणमा लिएर प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ । प्रहरीले यस वर्ष सात सय ५० जना लागु औषधका दुव्र्यसनीलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको छ । बेरोजगार हुनु, उच्च महत्वकांक्षा राख्नु, एक्लोपना हुनु, कौतुहलता हुनु आदी कारणले लागु औषधको प्रयोगकर्ता बढ्दै गएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । चितवनमा किशोर अवस्थाका र विशेष गरि १० जोड दुई पढ्ने विद्यार्थीहरु कुलतमा फस्ने गरेको थापाले बताए ।

प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेका व्यक्तिसँग ओसारपसारमा प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ । लागु औषध ओर्सान प्रयोग गरिएको दुई वटा ट्रक र दुई वटा भारतीय नम्बर प्लेट भएको टाटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाएको छ ।

असार २१ ।
पशु सेवा कार्यालय चितवनको बाख्रा पालन लक्षित कार्यक्रमबाट ६० लाख ५० हजार रुपैंया अनुदान रकम वितरण भएको छ । चालु आर्थिक बर्ष ०७३÷७४ को हालसम्म बाख्रा पालन सम्बन्धि विभिन्न ५ ओटा कार्यक्रमबाट किसानहरुले ६० लाख ५० हजार रुपैंया अनुदान रकम प्राप्त गरि सकेका छन् । बाख्रा पालनमा युवा लक्षित कार्यक्रम अन्तर्गत ४ किसानहरुले ४ लाख रुपैंया अनुदान पाएका छन् । त्यस्तै बाख्रा फार्म प्रबद्र्धन अन्तर्गत १३ जना किसानहरुले १० लाख रुपैंया, बाख्रा स्रोत केन्द्र अन्तर्गत ५५ जना किसानले ३२ लाख ५० हजार रुपैंया प्राप्त गरेको पशु सेवा कार्यालय चितवनका बरिष्ठ पशुु चिकित्सक डा. डिल्लिराम सेढाईले जानकारी दिए । भुकम्प प्रभावित क्षेत्रका ३० जना किसानलाई बाख्रा पालन गरि जिविकोपार्जन गर्ने उदेश्यले २ लाख रुपैंया अनुदान दिइएको उनले वताए । त्यस्तै प्रजनन् योग्य बोकाको लागि ८० जना किसानहरुलाइ १२ लाख रुपैंया अनुदान दिइएको सेढाईले वताए । सेढाईका अनुसार चिवतनमा बार्षिक ४२ सय मेट्रिक टन खसि बोकाको मासु उत्पादन हुंदै आएको छ । चितवनमा अन्य जिल्लाबाट समेत खसि बोका आउने साथै यहांबाट अन्य जिल्लामा समेत लैजाने भएकाले मासुको माग र पुर्ति एकै रहेको छ । कम्तिमा ५० ओटा बाख्रा पालन गर्ने किसानहरुले मात्रै बाख्रापालन सम्बन्धि अनुदान पाउने सेढाईको भनाइ छ । यसैविच आइतबार देखि व्यवसायिक रुपमा बाख्रापालन गर्ने १३ जिल्लाका किसानहरुलाइ गोठ व्यवस्थापन तथा आहारा सम्बन्धि तालिम दिइएको छ । तालिममा पशु स्वास्थ्य, बजारीकरणका विषयमा जानकारी गराइने बरिष्ठ पशुु चिकित्सक सेढाईले वताए । क्रस गरिएका बाख्राहरुको स्तर बृद्धि गर्ने तरिका लगायतका विषयमा किसानहरुलाइ जानकारी गराइने उनको भनाइ छ । तालिम शुक्रबार सम्पन्न हुने उनले जानकारी दिए ।

असार २० ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा मंगलबार हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइएको छ । ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट बिरूवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरू गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यस दिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ । चतुर्मास समेत भनिने यी चार महिनामा तुलसीको पूजा गरे मनकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । यो चारमहिनासम्म व्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्ने, जसअनुसार साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने चीजबीज खानु नहुने कुरा ‘निर्णय सिन्धु’, ‘हेमाद्री’ र ‘वीर मित्रोदय’ लगायत ग्रन्थमा उल्लेख गरिएको गौतमले उल्लेख गरे । असारदेखि कात्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवम् श्रवण गर्ने परम्परा छ । जेठ शुक्ल एकादशीका दिन बीउ रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रूपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गर्ने गरिएको भनाइ पनि छ । वैज्ञानिक रूपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वे्दिक औषधिका रूपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पिपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक स्वरूप पवित्र मानिन्छ । वर्षमा २४ एकादशी पर्छन् । तीमध्ये आषाढ शुक्ल र कात्र्तिक शुक्ल एकादशीलाई ठूली एकादशीका रूपमा लिइन्छ । अरू २२ एकादशीका दिन व्रत बस्न नसक्नेले पनि यी दुई एकादशीमा व्रत बस्ने गर्छन् ।

असार २० ।
शहरी विकासले भरतपुर महानगरको सिंचित क्षेत्र घट्दै गएको छ । नारायणी लिफ्ट सिंचाईबाट यस बर्ष भरतपुर महानगरको ३ हजार २ सय १२ हेक्टर जमिन सिंचित हुंदै छ । नारायणी लिफ्ट सिंचाईको स्थापनाको समयमा भरतपुरको ४ हजार ७ सय हेक्टर जमिन सिंचित हुने गरेको थियो । यस बर्ष रोपाईका लागि असार २५ गते पानि नहरमा छाड्ने नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजनको तयारी छ । नारायणी लिफ्टको पानि बि र सि नहरका लागि विभाजन हुने गरेको छ । बि नहरले यज्ञपुरी, नारायणपुर, तोरीखेत, पारसनगर, देवनगर र फुलवारी सम्मको जमिनमा सिंचाई पु¥याइने नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजनका इन्जिनियर अर्जुन खनालले जानकारी दिए । बि नहरको लम्बाई २२ किलोमिटर रहेको छ भने यसबाट १८ सय हेक्टर जग्गामा सिंचाई पुग्ने गरेको छ । सि नहरले बसेनी, भोजाड, टिकौली जंगल छेउ छेउ हुंदै गौरीगञ्ज सम्म सिंचाई पु¥याएको छ । सि नहरको लम्बाइ १९ किलोमिटर रहेको र यसले १४ सय १२ हेक्टर जमिनमा सिंचाई पु¥याउने खनालले वताए ।

शहरी विकासले नारायणी लिफ्टको सि नहर अन्तर्गत पर्ने बसेनि, मेडिकल कलेज, कारागार तथा कृष्णपुरको शाखा नहर बन्द भएको छ । नारायणी लिफ्टबाट ४ ओटा पम्पले ८÷१० घनमिटर प्रतिसेकेण्ड पानि तान्ने गर्दछ । त्यस्तै नारायणी लिफ्टको नहर अतिक्रमण पनि क्रमश बढ्दै गएको छ । बस्ति विकास तथा अव्यवस्थित सुकुम्बासी बसाईले नहर अतिक्रमण बढेको हो । नहर अतिक्रमण रोक्न स्थानिय प्रशासनले केहि गर्न सकेको छैन् । जग्गा प्लटिङले पनि नहर अतिक्रमण भएको तर्फ कृषकहरुको ध्यान जान नसकेको नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन डिभिजनका इन्जिनियर अर्जुन खनालले वताए । कृषि पेशामा कृषकहरुको मोह हराउंदै गएको उनको भनाइ छ । उनका अनुसार यहांका कृषकहरु नै अन्य पेशा तथा व्यवसायमा आकर्षित हुंदै गएका छन् । नारायण्ी लिफ्टको सिंचाइ क्षेत्रमा नहर नपुग्ने ६ स्थानमा डिभिजन कार्यालयले डिप बोरिङको व्यवस्था गरेको छ । सि नहर अन्तर्गत पर्ने गौरीगञ्ज, तोरी खेत लगायतका स्थानमाथ ६ ओटा डिप बोरिङ गाडिएको छ ।

असार २१ ।
संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र चितवनको टिकौलीस्थित जैविकमार्गमा जथाभावी सवारीसाधन रोक्ने चालक अब कारबाहीमा पर्ने भएका छन् । जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा लापरबाही गर्नेलाई जरिवानादेखि मुद्दा चलाउनेसम्मको कारबाही गर्ने निर्णय भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । ‘जैविकमार्गको सुरक्षा चुनौतीपूर्ण’ भन्ने शीर्षकमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि निकुञ्जले पोस्ट स्थापना गरी संयुक्त गस्ती गरेर त्यहाँ जथाभाबी गर्ने चालकलाई कारबाही गरिने भएको हो । निकुञ्ज, जिल्ला वन कार्यालय, ससस्त्र वन रक्षक तालिम केन्द्र तथा नेपाली सेनाबाट सो क्षेत्रमा संयुक्त गस्ती गरी सुरक्षामा कडाइ गरिने मङ्गलबार निर्णय भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए । लापरबाही गरेर गाडी रोकेमा मोटरसाइकललाई एक सय रुपैयाँ, साना सवारी साधनलाई पाँच सय रुपैयाँ र ठूला सवारी साधनलाई एक हजार रुपैयाँ जरिवाना गरिने पाठकको भनाइ छ । साउन १ गतेदेखिनै सुरक्षा टोली परिचालन गरेर कारबाही थालिने छ । त्यसअघि भने प्रचारात्मक कार्यक्रम सञ्चालन गरेर चालकलाई जानकारी दिइने निकुञ्जको भनाइ छ । यहाँ सञ्चालित सीसी क्यामरा मर्मत गरी गस्ती प्रभावकारी बनाउन सशस्त्र वन रक्षक तालिम केन्द्रलाई निर्देशनसमेत दिइएको छ । यही असार २३ गतेबाट ‘संरक्षणका लागि एक मिनेट’ अभियानसमेत शुरु गरेर चालकलाई सचेत गराइने निकुञ्जले जनाएको छ । टिकौलीसँग जोडिएका सामुदायिक वनमा सरसफाइ अभियान चलाउन समेत आग्रह गरिएको पाठकले बताए । यहाँको जैविक मार्गमा बाघ, गैँंडा, चित्तल, जरायो, मृगलगायत वन्यजन्तु राजमार्गबाटै ओहरदोहर गर्छन् । गाडीले यस्ता वन्यजन्तुलाई किचेर भाग्ने गरेकाले सुरक्षामा कडाइ गर्न लागिएको हो । टिकौलीस्थित जैविकमार्गमा अस्थायी सुरक्षा पोस्ट स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । निकुञ्ज र वन कार्यालयको समन्वयमा नेपाली सेना तथा सशस्त्र वन रक्षक समेतको सहभागितामा सडक गस्ती गर्नेगरी सुरक्षा पोस्ट निर्माण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

असार २० ।
चितवनमा यो बर्ष फेरि बर्षा सुरु भएसगैँ एक महिलामा चिकेनगुनिया भएको पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाकी एक महिलामा चिकेनगुनिया भएको पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाले बताए । जेठ १९ गते विरामी भई नारायणी सामुदायिक हस्पिटलमा उपचार गर्न आएकी महिलामा रगत परिक्षण गर्दा झण्डै एक महिनापछि चिकिनेगुनिया भएको पुष्टि भएको हो । नयाँ–नयाँ रोगको महामारी फैलिइरहेका बेला गत बर्ष भदौँ र मंसिरमा गरि दुई जनामा चिकेगुनिया फेला परेकोमा यस बर्ष भने सुरुवातमा नै असारमा यो रोग देखिएकोले उच्च सर्तकता अपनाईसकेको कार्यालयका किट नियन्यत्रक राम केसीले बताए । चितवनमा नयाँ रोग स्क्रब टाइफस भेटिएसगैँ चिकेन गुनिया पनि देखिएपछि संक्रमण फैलन नदिन विशेष कार्यक्रम गर्ने तयारी भईरहेको कार्यालयले जनाएको छ । चिकेनगुनिया एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्छ । यो डेँगुजस्तै रोग हो । चिकित्सकका अनुसार चिकेनगुनिया भएका बिरामीलाई ज्वरो आउने, शरीरमा रातो–रातो बिमिराजस्ता डाबर आउने, बान्ता हुने तथा हड्डी तथा जोर्नी दुख्नेलगायत लक्षण देखापर्छ

असार २० ।


व्यवस्थापिका–संसद्, विकास समितिले नारायणगढ–मुग्लिन सडकखण्डमा आगामी डेढ महिनासम्म राति सवारी सञ्चालन नगर्न निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन थालेपछि थप सुरक्षाको प्रबन्ध गर्न, वर्षायामको समयसम्म करिब डेढ महिना राति सवारी आवागमन निषेध गर्न, वैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक विस्तारको काम गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले काठमाडौँ उपत्यकाभित्रका सडकलाई तत्काल स्तरोन्नति गर्न, मापदण्डानुसार सडकको चौडाइ तत्काल विस्तार गर्न, आगामी दिनमा बिजुलीका तारलाई युटिलिटिटनेलअन्तर्गत अन्डरग्राउन्ड गर्न र सडकलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा पु¥याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, सडक विभाग, काठमाडौँ महानगरपालिकालाई र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड सम्झौतानुसार यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरी हस्तान्तरण भइसक्नुपर्नेमा हालसम्म औसत ५० प्रतिशत मात्रै काम भएको छ । समितिले सडक विस्तारको कार्यलाई द्रुत गतिमा अगाडि बढाई सन् २०१७ भित्रै निर्माणसम्पन्न गरिसक्नसमेत निर्देशन दिएको छ । बैठकले उत्तरी सीमा नाका जोड्ने सडक, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्गलगायत राजमार्गको कार्य प्रगतिबारे समितिले नियमित रुपमा स्थलगत भ्रमण÷अनुगमन गरी देखिएका समस्या पहिचान गर्दै समाधानका लागि लेखी पठाए पनि अझै पनि कतिपय समस्या समाधान नभएकाले सो सम्बन्धमा मन्त्रालय र सडक विभागलाई पुनः ध्यानाकर्षण गराएको छ । बैठकले सडक निर्माण गर्ने सीमित निकायबीच पनि समन्वयको अभाव रहेको ठहर गर्दै समितिले उपत्यका विकास प्राधिकरण, सडक विभाग, महानगरपालिकालगायतले समन्वयमा काम गर्नुपर्ने जनाएको छ ।

More Articles ...