पुस २० ।


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठन अघिनै पार्टी एकीकरण हुने वताएका छन् । प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले बिहिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै प्रचण्डले सरकार गठनको वाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको वताए । उनले पार्टी एकिकरणमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकरात्मक भएको दावी गरे । प्रचण्डले दुई दलका नेतालाई समूचित भूमिका दिनेमा यसअघिनै सहमती भएकाले कुनै विवाद नभएको प्रष्ट पारेका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री भन्दापनि सुशासन सँमृद्धि र राष्ट्रिय एकतामा जोड दिएको वताए । नेतृत्वमा गम्भिर छलफल भैरहेको भन्दै प्रचण्डले पार्टी एकतावारे कसैलेपनि कहिँकतै वोल्न जरुरी नरहेको वताए । प्रचण्डले राष्ट्रिय सभाको निर्वाचनको मिति तोक्ने र प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने जिम्मा आजको वैठकवाट सरकारलाईनै दिएको वताए । उनले सरकारले सँविधानको भावना अनुरुप प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्नुपर्ने वताउनुभयो । उनले अस्थायी केन्द्रका वारेमा चिन्ता नलिन सवैलाई आव्हान गरे । अहिलेको निर्णय तुरुन्तै प्रदेशसभाले फेर्न पनि सक्ने भएकाले यसलाई ठूलो विषय वनाउनु जरुरी नभएको प्रचण्डको भनाई छ । प्रचण्डले राष्ट्रिय सभाको निर्वाचन लगत्तै सरकार गठन हुने वताउनुभयो । चितवन उद्योग संघको अधिवेशन र भरतपुर महानगरपालिकाको नगरपारिषद उद्घाटन गर्न प्रचण्ड चितवन आएका हुन्

पुस २० ।


चितवन मौरी पालनको लागि उत्कृष्ट जिल्ला भएपनि विभिन्न कारणले मौरी पालनमा समस्या हुने गरेको छ । चितवनमा प्रशस्त मात्रामा तोरीको उत्पादन हुने तथा पहाडी भागमा चिउरी पाइने भएकाले पनि यहाँको महलाई गुणस्तरीय मानिन्छ । चितवनको मह गुणस्तरीय भएपनि बिक्रीका लागि भने समस्या भएको किसानहरु बताउँछन् । यति बेला चितवनको पहाडी क्षेत्रमा सेताम्य रुपमा मौरीका गोलाहरु देख्न पाइन्छ । चितवन सहित देशका विभिन्न जिल्लाका किसानले मौरी चराउनको लागि पहाडी भेगमा लिएर आएका छन् । चितवनमा महको उत्पादन राम्रो हुने भएपनि बजारीकरणको समस्या रहेको छ ।

चिउरीको उत्पादन पहाडी क्षेत्रमा हुने भएकाले मौरी चलाउन लैजान समेत समस्या पर्ने गरेको छ । मौरी चराउनका लागि पहाडी क्षेत्रमा लैजान पर्ने भएपनि सडक सञ्जाल नहुँदा किसानहरुलाई अप्ठ्यारो पर्ने गरेको छ ।

चितवनमा उत्पादन भएको मह महङ्गो हुने भन्दै पतन्जली र डाबर नेपालले अन्यत्रबाट मह ल्याएर नेपाली मह भन्दै बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । मह उत्पादनको मौरीको चरन क्षेत्रमा निर्भर हुने भएपनि एउटा गोलाबाट वार्षिक रुपमा ४० किलोसम्म मह उत्पादन हुने गर्दछ ।

पूर्वी नेपालको सर्लाही, चितवन, दाङलगायत अन्य जिल्लालाई मौरीको लागि पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । नेपालमा पाँच हजार एक सय ५० जना मौरीपालक किसानले वार्षिक रुपमा दुई हजार टनसम्म मह उत्पादन गर्दछन् । मौरीपालक किसानलाई प्रोत्साहन गर्नको लागि सरकारले महको बजारीकरण तथा सडक सञ्जाल विस्तार गर्नुपर्ने किसानहरु बताउँछन् ।


पुस २० ।


यही पुस २८ गतेबाट पूर्वी चितवनको खैरहनीमा खिचरा महोत्सव हुने भएको छ । भूमिपुत्रका रुपमा परिचित थारु समुदायको सांस्कृतिक महत्व उजागर गर्ने उद्देश्यले खिचरा महोत्सव आयोजना गरिएको हो । खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा हुने महोत्सवको यो पाँचौँ संस्करण हो । करिब ६० प्रतिशत तयारी सकिएको महोत्सवका संयोजक नारायण महतोले जानकारी दिनुभयो । यस पटकको महोत्सवमा मुख्य आकर्षणका रुपमा पाँच फिटको घोँगी र चिचर रहने छ । साथै थारु संस्कृतिको हस्तकलाको प्रदर्शनीसमेत हुनेछ । माघ ८ गतेसम्म सञ्चालन हुने सो महोत्सव परिसरमा सजावटको काम भइरहेको छ । महोत्सवमा २०० कक्ष रहने छ । प्रचारप्रसार समितिका संयोजक कारी महतोका अनुसार महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि रु ५० तथा विद्यार्थीका लागि रु २५ शुल्क लाग्नेछ । वृद्धावृद्ध र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । टिकट बिक्रीबाट संकलित रकम थारु संग्रहालय र इ–लाइब्रेरी बनाउनका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

पुस २० ।


जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुगमनका लागि संयुक्त अनुगमन टोली गएको थाहा पाएपछि कालिका नगरपालिकाका पसलेहरु पसल बन्द गरेर भागेका छन् । कालिका नगरपालिकाको विभिन्न स्थानमा किराना, औषधि पसल तथा होटलको अनुगमनमा टोली पुगेको खबर पाएपछि पसलेहरुको भागभाग भएको हो । म्याद गुज्रिएको सामान विक्री गरेको र विना इजाजत पसलहरु सञ्चालन गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय चितवनले कालिका नगरपालिकाको विभिन्न भागमा अनुगमन गरेको छ । अनुगमन टोली पुगेको जानकारी पाएपछि नगरपालिकाको पदमपुर, जुटपानी, शक्तिखोरमा खुला भएका पसल समेत बन्द गरेर पसलेहरु भागेका जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रविण तिवारीले बताए ।

बजार संरक्षण अधिकृत, खाद्य निरीक्षक, उपभोक्ता अधिकार संरक्षण मञ्च तथा पत्रकार सहितको अनुगमन टोलीले कालिका नगरपालिकामा किराना पसल, होटल तथा औषधि पसलहरु अनुगमन गरेको छ । दर्ता प्रकृया पुरा नगरि सञ्चालन गरिएका विभिन्न तीन वटा औषधि पसललाई अनुमगन टोलीले बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओमनारायण शर्माले बताए ।

शहरी क्षेत्रमा मात्रै सिमित गरिएको बजार अनुगमन यस पटक भने ग्रमीण क्षेत्रमा समेत गरिएको हो । अनुगमनका क्रममा एलोपेथिक औषधि पसल दर्ता गरेर आयुर्वेदिक औषधि बिक्री गरेका औषधि पसलको अनुमतिमा ल्याब तथा अस्पताल सेवा प्रदान गर्दै आएका औषधि पसललाई बन्द गरिएको हो । स्थानीय प्रशासनले लामो समय अनुमगन नगर्दा त्यस क्षेत्रका उपभोक्ताहरुले भगवान भरोसामा उपचार गर्दै आइरहेका थिए ।

पुस २० ।


खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै बिहिबार दबाबमूलक कार्यक्रम गरेका छन् । भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब ¥यालीसमेत निकालेका हुन् । फेसबुकबाट गठित वे ग्रूप नामक संस्थाको संयोजना तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा नगरपालिका अगाडि प्लेकार्डसहित स्थानीयवासीले प्रदर्शन समेत गरेका छन् । सरसफाइ अभियानमा लागेका अभियन्ता भोजनारायण कँडेलले प्लास्टिकजन्य फोहरमध्ये गुड्खा खाएर जथाभावी फ्यँकिने गरेकाले गुड्खा प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताए । सातामा एक दिन एक छिन् समाजका लागि भन्ने नारासहित सरसफाइ अभियान चलाउँदै आएको वे ग्रूपको नेतृत्वमा बिहिबार भरतपुरमा दबाबमूलक ¥याली निकालिएको हो । नारायणगढको लायन्सचोकबाट शुरु भएको दबाब ¥याली शहीदचोक, पुल्चोक घुमेर भरतपुर महानगरपालिका अगाडि आई सभामा परिणत भएको थियो । सभामा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष राजन गौतमले गुड्खाले स्वास्थ्यमा समेत असर पार्ने भन्दै यो अभियानलाई प्रभावकारी गराउनुपर्नेमा जोड दिए । जिल्लालाई गुड्खामुक्त घोषणा नगरेसम्म आफू अभियानमा लागिरहने गौतमले बताए । यसअघि उक्त समूहले गुड्खामुक्त गर्न दबाबस्वरुप हस्ताक्षर अभियान चलाएर स्थानीय प्रशासनलाई समेत बुझाएको थियो । गुट्खाले मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले हाम्रो ध्यान यसतर्फ तानिएको भरतपुरका अर्का अभियन्ता तथा नेपालमैत्री समाज जिल्लाअध्यक्ष विरेन्द्र पौडेलले बताए । सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिकको फोहर अत्यधिक भएकाले यस्ता फोहर नियन्त्रण आवश्यक हुने सहभागीको भनाइ छ । मानव स्वास्थ्यमा असर गर्ने, जथाभावी फालिएकाले फोहर संकलन गर्न पनि गाह्रो हुने र पुनः प्रयोग पनि गर्न नसकिने भएकाले गुट्खा प्रतिबन्ध गर्नुपर्ने माग गर्दै उनीहरुले बिहिबार नगरपालिकाको ध्यानाकर्षण समेत गराएका थिए ।

पुस २० ।


विश्वविद्यालय अनुदान आयोगले चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र (क्यूएए) प्रदान गरेको छ । विश्वविधालय अनुदान आयोगले पुस १९ गते आयोजित कार्यक्रम मार्फत क्याम्पसलाई प्रमाण पत्र प्रदान गरेको हो । क्यूएए प्रप्त भएसँगै क्याम्पस अन्तर्रा्ष्ट्रियस्तरको मान्यतामा सूचीकृत भएको बिहिबार क्याम्पसमा पत्रकार समेलनको आयोजना गरी जानकारी दिइएको छ । नेपालभरका आठ सय भन्दा बढी सामुदायिक क्याम्पस छन् । देशभरवाट १९ वटा शौक्षिक प्रतिष्ठानले क्यूएए प्राप्त गरेका थिए । सप्तगण्डकी वहुमुखी क्याम्पस क्यूएए पाउने १८ औं शौक्षिक प्रतिष्ठान हो । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई सन् २००७ देखि क्यूएए सर्टिफाईट गर्न शुरु गरेको हो । अन्तराष्ट्रिय विशेषज्ञ समेतको टोलीबाट पटक–पटक क्याम्पसको विद्यामान गुणस्तरको अवस्था अध्ययन पछि मात्र क्याम्पसको क्यूएए सर्टि्फिकेट प्रदान हुने क्याम्पस प्रमुख खेमनारायण उपाध्यायले जानकारी दिए । क्याम्पसको भौतिक अवस्था, पाठ्यक्रम, क्याम्पसले प्रर्दान गरेको सेवा तथा सुविधाहरु, अध्ययन÷अनुसन्धान पद्धति, स्तरीयता लगायत बिषयहरुलाई मापदण्ड बनाएर अनुगमन गरिएको उपाध्यायले बताए । आयोगले दिएको प्रमाणिकरण ५ वर्ष सम्मको लागि हुने छ, भने आयोगबाट नियमित गुणस्तर जाँच गरिने छ । हालको गुणस्तर ह्रास आएमा पाँच वर्षपछि यो प्रमाण पत्र फिर्ता हुन सक्छ । विश्व विद्यालय अनुदान आयोगको मंसिर ७ गते बसेको बैठकले क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र दिने निर्णय गरेको थियो ।२०४५ सालमा स्थापना भएको क्याम्पस चितवन लगायत छिमेकी जिल्लाहरुका विद्यार्थीको रोजाईमा पर्ने गरेको छ । क्याम्पसमा शिक्षा, मानविकी, व्यवस्थापन र बिज्ञान विषयमा अध्यापन हुने गरेको छ । क्याम्पसमा ३५ सय भन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन् ।

पुस १८ ।


नेपालमा बिदेशी पर्यटकको आगमनमा नयाँ रेकर्ड कायम भएको छ । सन् २०१७ नेपालमा सबैभन्दा धेरै पर्यटक आएको वर्ष बन्न पुगेको छ । अध्यागमन विभागका अनुसार सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ जना बिदेशी पर्यटक नेपाल आएका छन् । यसअघि सन् २०१२ सबैभन्दा धेरै पर्यटक नेपाल आएका थियो । त्यो वर्ष ८ लाख ३ हजार ९२ पर्यटक नेपाल आएका थिए । भूकम्पपछिको पुर्न्निर्माण र राजीतिक स्थिरताको कारण बन्द हडताल कम हूँदा पर्यटकको संख्या बृद्धि भएको अध्यागका विभागका निर्देशक कोशहरी निरौलाले बताए । सन् २०१६ को तुलनामा एक लाख ८७ हजार २ सय १६ जना धेरै पर्यटक नेपाल आएका छन् । सन् २०१६ मा ७ लाख ५३ हनार २ जना पर्यटक नेपाल आएका थिए। देशमा शान्ति प्रक्रिया सुरु भएपछि पर्यटकको संख्या निरन्तर बढेपनि सन् २०१३, १४ र १५ मा पर्यटकको संख्या घटेको थियो । देशको राजनीतिक अवस्था, भूकम्प तथा नाकाबन्दी जस्ता कारणले पछिल्लो दुई वर्ष पर्यटक आगमनमा असर गरेकोमा सन् २०१७ मा पर्यटकको आगमन उल्लेख्य बृद्धि भएको हो। सन् २०१७ मा नेपाल घुम्न आउनेमा सबैभन्दा धेरै भारतीय र चिनियाँ छन् । पछिल्लो वर्ष १ लाख ६० हजार ८ सय ३२ जना भारतीय नेपाल घुम्न आएका छन्। त्यस्तै चिनियाँ पर्यटकको संख्या अघिल्लो वर्षको बराबर छ । सन् २०१७ मा १ लाख ४ हजार ६ सय ६४ चिनियाँ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो वर्ष पनि १ लाख ४ हजार ५ जना चिनियाँ नेपाल आएका थिए। छिमेकी देशपछि नेपाल घुम्न आउने बिदेशीमा अमेरिकन धेरै छन्। २०१७ मा ७९ हजार १ सय ६४ जना अमेरिकन नेपाल घुम्न आएका छन् । अघिल्लो वर्ष भारत र चीनपछि श्रीलङकन पर्यटकहरु धेरै आएकोमा पछिल्लो वर्ष नेपाल आउनेमा अमेरिकन तेसो स्थानमा छन् । गत वर्ष ५३ हजार मात्र अमेरिकन नेपाल घुम्न आएका थिए। पछिल्लो वर्ष श्रीलङकन पर्यटक पाँचौ स्थानमा परेका छन्। ५१ हजार ५८ जना बेलायती तथा ४५ हजार ३ सय ६१ श्रीलङकन पर्यटकन यो अवधिमा नेपाल आएका छन् । जर्मनीबाट २९ हजार ९ सय १८, जापानबाट २७ हजार ३ सय २६ तथा बंगलादेशबाट २९ हजार ६० जना नेपाल आएका छन् । इल्याण्डबाट ३८ हजार एक सय ५४, कोरियाबाट ३४ हजार ३ सय १, अष्ट्रेलियाबाट ३३ हजार ३ सय ७१ तथा म्यानमारबाट ३० हजार ८ सय ५२ जना पर्यटक नेपाल आएका छन् । सबैभन्दा धेरै अक्टोबर महिनामा पर्यटक आएका छन ्। अक्टोबरमा एक लाख १२ हजार ४ सय ९२ जना पर्यटक नेपाल आएका थिए। पछिल्लो दुई वर्षको तथ्याङक हेर्ने हो भने नेपालमा पर्यटकको आगमन ८० प्रतिशतले बृद्धि भएको छ । सन् २०१५ मा नेपालमा ५ लाख ३८ हजार ९ सय ७० जना पर्यटक नेपाल आएका थिए ।

More Articles ...