भाद्र २४, २०७३- सार्जिल खान र खालिद लतिफले ओल्ड ट्रयाफोर्डमा इंग्ल्यान्डका बलरलाई चारैतर्फ प्रहार गरेपछि पाकिस्तानले बुधबार राति एकमात्र ट्वान्टी–२० खेलमा ९ विकेटको जित हात पार्दै भ्रमण टुंगाएको छ। 

 

बायाँ हाते सार्जिलले ५९ रन बनाएपछि इंग्ल्यान्डले दिएको १ सय ३६ रनको लक्ष्य पाकिस्तानले ३१ बल अगाडि १ सय ३९ रन बनाएर पूरा गर्‍यो। ३६ बल खेलेका सार्जिलले ७ चौका र ३ छक्का प्रहार गरे। उनले लतिफसँग पहिलो विकेटका रूपमा ६९ बलमा १ सय ७ रन जोडे।

लतिफले ७ चौका र ३ छक्का मदतले नटआउट ५९ रन बनाए। इंग्ल्यान्डले त्यही टोली उतारेको थियो, जसलाई वेस्ट–इन्डिजले अन्तिम ओभरको रोमाञ्चक खेलमा पराजित गरी अप्रिलमा कोलकातामा विश्व ट्वान्टी–२० क्रिकेट जितेको थियो। यस नतिजापछि सरफराज अहमदले ट्वान्टी–२० कप्तानका रूपमा पाकिस्तानलाई पहिलो खेलमै विजयी दिलाएका छन्। यी दुईबीचको टेस्ट शृंखला २–२ को बराबरीमा रोकिएको थियो भने एकदिवसीय इंग्ल्यान्डले ४–१ ले आफ्नो पक्षमा पारेको थियो। 

यसअघि इंग्ल्यान्डले ७ विकेट गुमाई १ सय ३५ रनमात्र बनाउन सक्यो। जेसन रोय र एलेक्स हेल्सले ७ ओभरभित्र ५६ रन जोडे पनि इंग्ल्यान्ड त्यसपछि खुम्चिएको थियो। रोय २१ रनमा इमाद वासिमको बलमा एलबीडब्लू आउट भए। हेल्सले २६ बलको इनिङ्समा ५ चौका प्रहार गरे। जो रुट ६, जोस बटलर १६, इयान मोर्गन १४ र बेन स्टोक्स ४ रनमै आउट भएपछि इंग्ल्यान्ड दबाबमा आएको थियो। मोइन अलीले नटआउट १३ र डेविड विलीले १२ नटआउट बनाउँदै इंग्ल्यान्डको स्कोरलाई हेर्न लायक बनाएका थिए। पाकिस्तानबाट वाहव रियाजले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। वासिम र हसन अलीले २–२ विकेट बाँडे। 

 

 

 

प्रकाशित: भाद्र २४, २०७३