चितवनमा वर्खे धान कटानीको काम सुरु

स्थानिय
Typography

कात्र्तिक ०३ । 

चितवनमा वर्खे धान कटानीको काम सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाको पुर्वि क्षेत्रमा मात्रै १० प्रतिशत धान कटानी भइसकेको छ । समग्र जिल्लामा भने ४ प्रतिशतको हाराहारीमा मात्रै धान कटानी भएको कार्यालयले जनाएको हो । जिल्लाको पश्चिमी क्षेत्रमा धान रोपाई ढिला सुरु भएकाले पनि कटानीमा ढिला भएको हो । मंसिरको १५ सम्ममा जिल्लामा सबैजसो ठाउंहरुमा वर्खे धान कटानीको काम सकिने समेत कार्यालयले जानकारी दिएको छ । कार्यालयकी योजना अधिकृत तथा सूचना अधिकारी कमला न्यौपानेका अनुसार चितवनमा यस वर्ष २७ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेति भएको छ । चितवनमा पुर्वि क्षेत्रमा वर्खे धानका लागि खैरहनी, कठार, कुमरोज, भण्डारा, रत्ननगर, पिठुवा, जुटपानी, आदि पकेट क्षेत्र मानिन्छन् । पश्चिम क्ष्ँेत्रमा भने गीतानगर, पटिहानी, जगतपुर, शुक्रनगर, मेघौली, गुञ्जानगर, माडी, आदि पकेट क्षेत्र हुन् । यस वर्ष वर्खे धानको उत्पादनकत्व राम्रो भएको, समयमा पानी पर्नु, रसायनिक मल समयमा नै कृषकहरुलाई उपलब्ध हुन र रोग व्याध कम लागेका कारण उत्पादनमा वृद्धि हुने न्यौपानले बताएकी छन् । केही कृषकहरुको धानमा भने गवारो तथा लिफ ब्लाष्ट रोग देखा परेको न्यौपानेको भनाई छ । गवारे रोग देखा परेको खेतमा पाकेको भान फोस्रो हुने गरेको पाइएको छ । चितवन जिल्लामा अघिल्लो वर्ष २७ हजार ३ सय ४२ हेक्टर क्षेत्रफलमा वर्खे धान खेति गरिएको क्षेत्रफल माछा पालन तथा प्लटिङमा प्रयोग भएसंगै धान खेति हुने क्षेत्रफलमा कमी भएको न्यौपानेको भनाई छ । न्यौपानेका अनुसार यस वर्ष चितवनमा वर्खे धान अन्तर्गत सावित्री, राधा ४, लोकनाथ, रामधान, लगायतका धानहरु लगाइएको छ । वर्खे धान चितवनमा तराई भेगमा बढि लगाउने गरिन्छ । तराई भेगमा पनि जिल्लाको पुर्वि क्षेत्रमा असोजको दोस्रो हप्ताबाट नै अगौटे धानहरु काटेर तरकारी खेति सुरु भइसकेको छ । विषेशगरी अगौटे धान लगाउने कृषकहरुले धान कटानी संगै व्यवसायिक तरकारीहरु उत्पादन गर्ने गर्दछन् । पछौटे धान लगाउने कृषकहरुले भने हिउंदे खाद्यान्न वालीहरु लगाउने गर्दछन् । हिउंले तरकारी अन्तर्गत काउली, बन्दा, टमाटर, भेडे खुर्सानी, आदि लगाउन कृषकहरुले सुरु गरेको जिल्ला कृषि विकास कार्यालय चितवनकी योजना अधिकृत तथा सूचना अधिकारी कमला न्यौपानेको भनाई छ । हिउंले खाद्यान्न वाली अन्तर्गत भने कृषकहरुले गहुं, मुसुरो, आलु, राजमा लगाउन सुरु गरेका छन् ।