आनन्द पोखरेल
चितवन, १३ मंसिर


प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा चितवनमा निर्वाचन आचार संहिता उल्लंघन गर्ने होडबाजी नै चलेको छ । सार्वजनिक स्थानमा सभा सम्मेलन गर्नेदेखि लिएर, घरदैलोमा स्पीकरसहितको माइक प्रयोग गर्ने, बिजुलीको पोल तथा तारमा निर्वाचन चिन्ह अंकत झण्डा तथा तुल व्यानर झुण्डाउने गतिविधि बढ्दै गएको हो ।
‘हेभीवेट’ उम्मेदवारका कारण चर्चाको शिखरमा पुगेको चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक दलहरुले आचारसंहिता उल्लंघन गरेका छन् । चितवनको क्षेत्र नम्बर ३ मा वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनद्वारा आचारसंहिता उल्लंघनमा प्रतिस्पर्धा नै भएको छ । आचार संहिताले व्यवस्था गरेबमोजिम कुनै पनि सार्वजनिक स्थानमा झण्डाहरु राख्न नपाइने चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माको भनाइ छ ।
‘आचार संहिताको बारेमा उम्मेदवार, राजनीतिक दल, स्थानीयबासिन्दा सबै जानकार छन्’ शर्माले भने–‘यदि कुनै सार्वजनिक स्थानमा कुनै राजनीतिक दलले व्यानर, झण्डालगायतका वस्तुहरु राखेका छन् भने जो सुकैले पनि हटाउँदा हुन्छ ।’ आचार संहिता उल्लंघन गरेर राखिएको झण्डाहरु, तुल व्यानर लगायतका वस्तुहरु कसैले हटाउन नसकेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई खबर गर्न सकिने समेत शर्माले बताए ।
चितवनको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा लोकतान्त्रिक गठबन्धनको तर्फबाट बहालवाला मन्त्री विक्रम पाण्डेसहितका व्यक्तिहरु उम्मेदवार बनेका छन् । निर्वाचन आचार संहिता २०७२ लाई जिस्काउने गरि क्षेत्र नम्बर ३ मा गतिविधिहरु भइरहेका भएपनि निर्वाचन अधिकृतको कार्यालयमा कसैले उजुरी नगरेको चितवन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत शम्भुराज रेग्मी बताउँछन् । आचार संहिता उल्लंघनका विषयमा अनुगमनका काम समेत भइरहेको जानकारी गराउँदै रेग्मीले त्यसको बारेमा सूचना दिन आग्रह गरे ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने अधिकांश ग्रामीण भूभागमा आचार संहिताको व्यापक उल्लंघन भएको पाइन्छ । गीतानगर, चोकबजार, पटिहानी, शिवनगर, मंगलपुर, रामपुरजस्ता ठाउँहरुमा मुख्य सडकको किनार, बिजुलीको पोलमा राजनीतिक पार्टीको चुनाव चिन्ह अंकित झण्डा राखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले आफ्नो शक्ति प्रदर्शन गर्न यसरी सडक किनारमा तुल, व्यानर, झण्डा राखिएका कारण दुवै तर्फका व्यक्तिहरु मौन बसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचनलाई मर्यादित र सभ्य बनाउनतर्फ कुनै पनि दलका उम्मेदवारले ध्यान नदिएर निर्वाचन आचारसंहिताको खिल्ली उडाइरहेका छन् । चितवनमा साना राजनीतिक दलले भन्दा पनि ठूला राजनीतिक दलले सबैले देख्ने गरि निर्वाचन आचारसंहिता मिचेर काम गर्दा समेत निर्वाचन आयोग भने लिखित उजुरीको प्रतीक्षामा बसेको छ ।


आनन्द पोखरेल
चितवन, १३ मंसिर


पृथ्वी राजमार्ग अन्तर्गत चितवनको चुम्लिङमा यात्रु बस र ट्रक ठोक्किदा भएको दुर्घटनामा आठ जना यात्रुको ज्यान गएको छ । काठमाडौँबाट अर्घाखाँचीको लागि छुटेको लु२ख २९१ नम्बरको यात्रु बसलाई मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ना६ख ४९७२ नम्बरको ट्रकले ठक्कर दिँदा यात्रु बस सडकबाट एक सय मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै छ जनाको शव भेटिएको थियो भने पछि कुरिनटारको गोताखोर प्रहरीले त्रिशूलीबाट एक जनाको शव निकालेको तथा उपचारका क्रममा काठमाडौँको बि एण्ड बि अस्पतालमा एक जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु भएका आठ जना मध्ये यो समाचार तयार पार्दासम्म चार जनाको परिचय खुलेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार मृत्यु भएका मध्ये अर्घाखाँची घर भएका ५२ वर्षीय नधराज अधिकारी, अर्घाखाँचीकी ४३ वर्षीया लक्ष्मी पौडेल, दैलेखका ३३ वर्षीय अम्बर बहादुर शाही र नवलपरासीका कृष्ण ढकालको परिचय खुलेको छ । पौडेलको उपचारको क्रममा काठमाडौँको बि एण्ड बि अस्पतालमा मृत्यु भएको हो ।
मृतकका आफन्तहरु चितवन आउने क्रममा रहेकोले अन्य चार जनाको सनाखत हुने समय लाग्ने पन्तले जानकारी दिए । दुर्घटनामा परि मृत्यु भएका सात जनाको शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको पन्तले बताए । २१ जना घाइते मध्ये नौ जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाइते भएका १२ जनालाई एम्बुलेन्स र हेलिकप्टरबाट काठमाडौँ लगिएको पन्तको भनाइ छ ।
बसका सहचालक सुनील क्षेत्रका अनुसार बसमा ३२ जना सवार थिए । बुधबार बिहान कलंकीबाट २६ यात्रुसहित छुटेको बसमा कलंकीबाट थप चार जना दुर्घटनामा परि तीन जना यात्रु हराइरहेका छन् । अर्घाखाँचीकी २५ वर्षीय मनिसा थापा सहित तीन जना हराइरहेका छन् ।
उपचारका लागि भरतपुर ल्याइएकामध्ये नौ जनाको मात्रै परिचय खुलेको छ । घाइते भएका मध्ये बसका चालक कपिलबस्तु घर भएका ४० वर्षीय यमबहादुर क्षेत्री, सहचालक प्युठान घर भएका २० वर्षे सुनील क्षेत्री, अर्घाखाँचीकी २१ वर्षीय ईन्दिरा दमासे, अर्घाखाँचीकै २० वर्षीय सन्दिप दमासे, अर्घाखाँचीका ३० वर्षीय गोविन्द बहादुर सुनार, बाँकेकी ४० वर्षीय उमा पोखरेल, अर्घाखाँचीका ३१ वर्षीय राजेन्द्र रायमाझी, अर्घाखाँचीका ४२ वर्षीय माधव खनाल र नाम नखुलेका करिब ५÷६ महिनाका बालक रहेका छन् । सबैको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


भरतपुर, १२ मंसीर ।


वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले सरकार बनाउने र ढाल्ने खेलमा लाग्ने उम्मेदवारलाई मतदान गर्न नहुने बताएका छन् । भरतपुर–६ गितानगरको गौचरणमा आयोजित कोणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सत्तामा गएपछि आफ्नो निर्वाचन क्षेत्र भुल्ने नेताले विकासको गति अघि बढ्न नसक्ने दावी गरेका छन् ।
“अस्थिरता ल्याउने, सरकार फेरबदलमा लाग्ने र निर्वाचन क्षेत्र फेर्दै हिँड्ने व्यक्तिबाट गाउँ वस्तीका समस्या समाधान हुँदैनन्”, उनले भने, “जनताको भविष्य निर्वाचनले गर्छ, स्थानीयले खोजेका बेला भेट्न सक्ने प्रतिनिधि चुन्नुपर्छ, नेता रोजेर हुँदैन ।” उनले सत्तामा पुगेर ब्रहमलुट गर्ने स्वार्थमा भिजेका व्यक्तिले चुनावमा दिने आश्वासन कहिल्यै पुरा नहुने दावी गरे । “भोट किनेर सत्तामा पुग्ने, ब्रहमलुट गर्ने, परिवारको मात्रै चिन्ता गर्नेबाट निर्वाचन क्षेत्रको विकास हुँदैन”, उनले भने, “स्थानीय तह चुनावमा चितवनले यो पीडा भोगिसकेको छ, फेरी गल्ती हुन नपाओस् ।” उनले टिभिमा हेरेर चित्त बुझाउनुपर्ने नेता भन्दा जनसेवामा लाग्ने प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिए ।

उनले सुकुम्बासी तथा भूमिहिनलाई जग्गाधनि पुर्जा दिने काम पुरा गरेरै छाड्ने दावी गरे । कांग्रेस र राप्रपा (प्रजातान्त्रिक) मिलेर निर्वाचन क्षेत्रको विकासमा प्रतिवद्ध बनेर विकासका योजना कार्यान्वयन गरिने दावी गरे । उनले माडी बाँदरझुला वस्तीलाई राजनीतिक खेलाडीहरुले भोट बैंकका रुपमा राखेको आरोप लगाए । हाइवे नजिकै उचित व्यवस्था सहित सरकारले स्थानान्तरणको पहल गरेपनि अनावश्यक रुपमा भ्रम फैलाएर स्थानान्तरण प्रक्रिया अवरुद्ध पारेको बताए । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।


मंसिर १२ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले राप्रपा प्रजातान्त्रिकका उम्मेदवारलाइ समर्थन गरेर गर्न नहुने काम गरेको वताएका छन् । मंगलबार रिपोर्टस क्लबसंगको साक्षात्कार कार्यक्रममा बोल्दै प्रचण्डले चितवनका जनताको भरोसा रहेकाले आफु चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ को उम्मेदवार बनेको वताए । सरकारलाइ अझै पनि आफ्नो पार्टिले समर्थन गरि राखेको भन्दै उनले कांग्रेस सरकार गिराउन एमाले संग पार्टि एकता गर्ने निर्णय नगरेको प्रष्ट्याएका छन् । राजनितिक स्थायित्व र विकास निर्माण एवं समृद्धिका लागि बाम गठबन्धन बनेको उनको भनाइ छ । कम्युनिष्टको नेतृत्वमा सरकार बनोस् भनेर प्रचण्डले चाहनु जायज र स्वभाविक रहेको वताउंदै उनले स्थानिय तहको निर्वाचनमा पनि कांग्रेसले रोल्पा कालिकोट लगायतका जिल्लामा एमाले संग तालमेल गरेको स्मरण गरे । चुनावी तालमेल हरेक पार्टिले आफुलाइ कसरी फाइदा हुन्छ भनेर हेर्ने भन्दै उनले प्रदेश नं. २ मा माओवादीको अवस्था कमजोर देखेपछि कांग्रेस तालमेल गर्न नचाहेको उल्लेख गरे । आफुले चुनावी तालमेल मात्रै नहेरेको वताउंदै राजनितिक स्थिरताका लागि विचार मिल्ने पार्टि संग पार्टि एकता गर्ने निर्णय गरेको जानकारी दिए । आफु संगको सहकार्यमा कांग्रेसमा गम्भिरताको कमी र रणनैतिक रुपमा बुझ्न नसक्नु कमजोरी रहेको उनको भनाइ छ ।
लामो समय कांग्रेस पार्टिमा रहि संघर्ष गरेका नेताहरु पार्टि अध्यक्षको निर्णयबाट चिन्तित बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वताएका छन् । बुढेसकालमा आएर राप्रपाको हलोलाइ भोट गर्नुपर्दा कांग्रेसका इमान्दार नेताहरुमा कंहि कतै चित्त नबुझेको पाएको उनको भनाइ छ । आफुले समेत सम्मान गर्नुपर्ने कांग्रेसका नेताहरु यहां रहेको भन्दै उनले हलोलाइ समर्थन गरेर कांग्रेस उल्टो बाटो हिंडेको आरोप लगाए । विपिको विचार र नैतिकताका आधारमा कांग्रेस नेता कार्यकर्ताहरुले माओवादीलाइ समर्थन गर्न प्रचण्डले आग्रह समेत गरेका छन् ।


नेपाली काग्रेस वडा नं ५ मा  आयोजना गरेको घरदैलो कार्यक्रममा चितवन क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेदवार शेषनाथ अधिकारीले आफु पञ्चायतकालमा धेरै समय यहि सेरोफेरोमा रहेको बताउदै त्यसबेला जस्तै यसपटक पनि आफुलाई जनताले माया गर्ने बताउनुभयो। घरदैलो कार्यक्रम बोल्दै उहांँले आफुलाई माया गरेको क्षेत्रमा बल्ल प्रत्यक्ष रुपमा काम गर्दै आएको र निर्वाचीत भएपछि पनि जनताले गुनासो गर्न नपर्ने गरि काम गर्ने विश्वास दिलाउनुभयो ।
 नेपाली काग्रेस भरतपुर ५ ले नारायणपुर, तोरिखेत ,कैलाशनगर, गुलाबबाग क्षेत्रमा गरेको घरदैलो तथा मतदाता भेटघाट गरेको छ । स्थानीयहरु राजनिति र बिकास बुझेका परिपक्व नेता भोट माग्न आफ्नो घर आगनमा आउदैगर्दा स्वागतका लागि आतुर देखिन्थे । आफ्ना क्षेत्रका समस्याको फेहरिस्त सुनाउदै स्थानियहरु अव समस्याको समाधान हुनेमा ढुक्क देखिन्थ्ये । सबै मतदाताको घरमा पुग्नुपर्ने बाध्यताका बीच पनि उम्मेदवार अधिकारीले मतदाताको गुनासो ढुक्क भएर सुनेको पाईथ्यो ।
शिक्षा राज्य मन्त्रि समेत रहेका उम्मेदवार अधिकारीले यो निर्वाचन नागरिकलाई सर्वाेच्च बनाउने कि नेताहरुलाई सर्वोच्च बनाउने भन्ने छिनोफानो गर्नेे निर्वाचन भएकाले थप सजग रहन आग्रह गर्नुभएको थियो । नेपाली काग्रेस चितवनका पुर्व सभापति समेत रहेका शेषनाथ अधिकारी भरतपुर ५ साबिकको भरतपुर १३ मा पुग्दा पुराना मतदातामा निक्कै ठुलो उत्साह देखिन्थ्यो । घरदैलो कार्यक्रमा नेपाली काग्रेसका जिल्ला स्तरिय नेताहरुको समेत बाक्लो उपस्थिती रहेको थियो ।


शिशिर सिंखडा
शक्तिखोर, चितवन, १२ मंसिर ।


संयुक्त वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम आज शक्तिखोरका विभिन्न क्षेत्रमा गरिएको छ । प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्णभक्त पोख्रेल र प्रदेश सभाका उम्मेदवार घनश्याम दाहाल सहितका सयौं स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका थिए । कालिका नगरपालिकाको वडा नं. ७ स्याउली बजार, सगुनटोल, जुटपानी बजार, कालिका ८ को न्यूरेनी, देवीटार लगायतका क्षेत्रका मतदाताहरुसँग उम्मेदवारहरुले भेटघाट गरेका थिए ।
सोही क्रममा देवीटारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मेदवार कृष्णभक्त पोख्रेलले यसै शक्तिखोर क्षेत्रमा बन्ने औद्योगिक क्षेत्र छिटो भन्दा छिटो सम्पन्न गरी स्थानीय हजारौ युवाहरुलाई रोजगार उपलब्ध गराउने बताए । शक्तिखोर क्षेत्रमा व्यवसायिक तरकारी खेती र बाख्रापालनको सम्भावना रहेकोले यसको विकासको लागि उचित व्यवस्थापन गर्ने बताए । कयरखोला तटबन्धन, बाटो, सिंचाई लगायतका विकास निर्माण कार्यमा नगरपालिकासँग समन्वय गरी छिटो भन्दा छिटो कार्य सम्पन्न गर्ने समेत पोख्रेलले बताए । नगरपालिकाकै समन्वयमा यस क्षेत्रका पुर्जा विहिन एवम् भूमि विहिनहरुलाई व्यवस्थित गरिने समेत उनले बताए ।नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका पोख्रेलले वामपन्थीको बहुमतको सरकारको विकल्प नभएको भन्दै चितवनका ९ वटै उम्मेदवारहरु वाम गठबन्धनका विजयी हुनेमा निश्चिन्त रहन स्थानीयलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा “क” का उम्मेदवार घनश्याम दाहालले हिजो हामीलाई टाउकोको मूल्य तोक्नेहरुसँग वाम गठबन्धनको प्रतिष्पर्धा हुन नसक्ने भन्दै यस क्षेत्रको विकासको लागि वाम गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन अनुरोध गरेका थिए । “मेरा प्रतिष्पर्धी उम्मेदवारले भ्रमको खेती गर्दै आर्थिक प्रलोभन देखाई रहेका छन् । यस्ता प्रलोभनमा नलाग्नु होला । एकदिनको प्रलोभनले यस क्षेत्रको विकास हुन सक्दैन ।” उनले भने । पैसा बाडेर चुनाव जित्ने मनसाय राख्ने मेरा प्रतिष्पर्धीलाई जनताले वाम गठबन्धनलाई मतदान गरी विजयी गराईदिएपछि थाहा पाउने समेत बताए ।
कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले स्थानीय तह, प्रदेश र केन्द्र सरकार वामपन्थीको हुनेमा ढुक्क रहन आग्रह गर्दै अब यस नगरपालिकाको हरेक विकास निर्माण नगरपालिका मार्फत् गएर स्थानीयको जीवनस्तर उकास्न आफु प्रतिवद्ध रहेको बताए । कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक रामध्वज डल्लाकोटी, राजेन्द्र प्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर १२ ।


आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि चितवनमा मतदात अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाबाट मतदान केन्द्रमा खटाइएको छ । कर्मचारी खटाउँदा निश्पक्ष रुपमा नियुक्ति गरियोस् भन्ने निर्वाचन आयोगको उद्देश्य अनुसार गोलाप्रथाबाट कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चितवनको तीन वटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा निर्वाचनको लागि मंगलबार मतदान अधिकृतहरु छनौट गरिएको हो । स्पष्ट, स्वस्थ र निष्पक्ष होस् भनेर मतदान अधिकृत, सहायक मतदान अधिकृतहरु गोलाप्रथाबाट छनौट गरेर खटाइएको हो ।

चितवनको चार सय आठ वटा मतदान केन्द्रमा खटाइने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गोलाप्रथाद्वारा छनौट गरिएको हो । अन्य कर्मचारीहरुलाई भने मतदान अधिकृत अनुसार खटाइने भएको छ । सन्तुलन मिलाउनको लागि सहायक कर्मचारीहरु भने दक्षताको आधारमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.