मंसिर २७ ।


चितवनलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको हंस बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो आठौं वार्षिकोउत्सवको अवसरमा बुधबार रक्तदान एवं सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नारायणगढ आयोजना गरिएको रक्तदान कार्यक्रममा ५ जना महिला र ४६ जना पुरुष गरी जम्मा ५१ जनाले रक्तदान गरेका छन् । यसै गरी संस्थाका विभिन्न ६९ जना शेयर सदस्यका साथै ६ जना कर्मचारीलाई समेत सम्मान गरिएको छ । दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख श्री कृष्ण कुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि डल्लाकोटीले सहकारीहरु सहकारीको मुल्य मान्यता र सिद्धान्त तथा संस्था स्वयंको विनियमले तोकेको परिधिभित्र रही सदस्यहरु र समुदायप्रती जिम्मेवार हुदै संचालन हुनुपर्ने बताए । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलयका निमित्त प्रचार्य रामभक्त रानाभाट, जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टिकाराम भट्टाराई, नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, पूर्व सभासद् गिता वाग्ले विशिष्ट अतिथि थिए । कार्यक्रमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले रक्तदान गर्ने सबैलाई धन्यवाद दिँदै संस्थाको मुख्य उद्देश्य भनेको शेयर सदस्यहरुको सन्तुष्टी र सामाजिक सेवा रहेको बताए । संस्थाका उपाध्यक्ष श्री बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए । हंस बहुउदेश्यीय सहकारी संस्था लि. को पहिलो सेवाकेन्द्र सौराहचोक टाँडीको सातौ स्थापना दिवसको अवसरमा पुस १५ गते उक्त स्थानमा निःशुल्क स्वास्थ्य शिविर समेत गरिने भएको छ ।


मंसिर १७ ।


अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर नारायणगढका लायन्स लियो क्लबले भरतपुर अस्पतालमा रहेका अपाङ्ग बिरामीहरुलाई न्यानो कपडा वितरण गरेको छ । लायन्स÷लियो क्लब अफ नारायणगढ बालकुमारी र लायन्स क्लब अफ नारायणगढ नारायणीको संयुक्त आयोजनामा आइतबार अस्पतालको स्पाइलन इन्जुरी केन्द्रमा रहेका बिरामीहरुलाई ब्लाङ्केट र फलफूल वितरण गरिएको हो । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले मेरुदण्ड भाँचिएर उपचार गराइरहेका विभिन्न आठ जना बिरामीलाई ब्लाङ्केट र फलफूल वितरण गरिएको जानकारी दिनुभयो । चिसो बढ्दै गएको र आर्थिक अवस्था न्यून भएका बिरामीहरुले त्यहाँ उपचार गराइरहेकाले उनीहरुलाई न्यानोका लागि ब्लाङ्केट वितरण गरेको चुकेको भनाइ थियो । पाँच वर्ष अगाडि स्थापना भएको स्पाइनल इन्जुर केन्द्रलाई विभिन्न संघसंस्थासँग मिलेर बोर्ड गठन गरेर सञ्चालन गरिएकोमा दुई हप्ता अगाडिदेखि भरतपुर अस्पतालको स्वामित्वमा ल्याइएको छ । धेरै बिरामीहरु उपचार गराइरहेको अस्पतालले आफ्नै शुल्कमा समेत बिरामी उपचार गर्दै अबको दिनमा सेवा विस्तार गर्दै जाने अस्पतालका मेसु बताउनुहुन्छ ।

राजधानी बाहिरको एक मात्रै स्पाइन इन्जुरी केन्द्रमा तराईका २३ जिल्लाका बिरामीहरुले सेवा लिइसकेका छन् । आठ बेड भएको स्पाइनल इन्जुरी केन्द्रको छुट्टै फिजियोथेरापी कक्ष समेत रहेको छ । स्पाइनल इन्जुरी केन्द्रलाई गुणस्तरीय बनाउँदै लैजाने तयारी भएको अस्पतालले जनाएको छ ।

मंसिर १२ ।


मिस नर्स चितवनको दोस्रो संस्करणको फाइनल प्रतिस्पर्धा यही मंसिर १७ गते हुने भएको छ । सन् २०१४ मा पहिलो पटक आयोजना गरिएको मिस नर्स दुई वर्षपछि गत असोज २३ गतेदेखि दोस्रो संस्करणको छनौट सुरु भएको थियो । मिस नर्स २०१७ का लागि ३० जना सहभागी भएकामा १३ जना अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका छन् । विभिन्न समयमा उनीहरुलाई व्यक्तित्व विकाससँगै, अन्य सीप तथा तालिमहरु दिएर फाइनल प्रतिस्पर्धाको लागि तयार पारिएको आयोजक सहज मिडियाले जनाएको छ । चितवनमा रहेर नर्सिङ पढ्दै तथा नर्सिङ पेसामा आवद्ध भएका १८ देखि २५ वर्षसम्मका युवतीहरुले भाग लिएको प्रतिस्पर्धामा मिस नर्सको उपाधी जित्नेले २५ हजार रुपैयाँ नगद सहित एक लाख रुपैयाँ बराबरको पुरस्कार पाउने छन् । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले २० हजार रुपैयाँ नगदसहित ७५ हजार रुपैयाँ बराबरको पुरस्कार तथा सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ बराबरको पुरस्कार पाउने आयोजकले जनाएको छ । नर्सिङ पेसामा रहेका युवतीहरुलाई बाहिरी क्षेत्रमा समेत परिचित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सहज भण्डारीले बताउनुभयो । प्रतियोगितालाई वर्षेनि निरन्तरता दिने समेत आयोजकको भनाइ छ ।

चितवन, कार्तिक ३०–


बहुप्रतिक्षित क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’को टिम चितवन टाईगर्सले विहीबार चितवनमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको छ । चितवन जिल्ला क्रिकेट संघको सहकार्यमा नारायणगढस्थित क्याम्पाचौरमा ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम भएको हो । सो कार्यक्रममा ३० जना खेलाडीले सहभागिता जनाएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले जानकारी दिए । प्रत्येक टिमले ‘ट्यालेण्ट हण्ट’ मार्फत स्थानीय खेलाडीलाई आवद्ध गराउने निर्णय अनुरुप चितवन टाईगर्सले पनि ‘ट्यालेण्ट हण्ट’ कार्यक्रम गरेको हो ।
आजको ‘ट्यालेण्ट हण्ट’ कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान राजु खड्का र पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी छनौटकर्ताको रुपमा रहेका थिए । ‘ट्यालेण्ट हण्ट’ बाट हेमन्त कुमार थापा क्षेत्री, गौतम केसी, संघर्ष, दिवस पौडेल र आकाश थापा गरि पाँच जना खेलाडीको नाम सर्ट लिष्टमा परेको थियो । पाँच जना मध्येबाट व्याट्सम्यानमा आकाश थापा र फाष्ट बलरमा गौतम केसी छनौट भएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष प्रधानले जानकारी दिनुभयो ।
आगामि पुसमा हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताका टिमहरुले ११ जना खेलाडी छनौट गरिसकेका छन् । हरेक टिमले तीन जना विदेशी खेलाडीलाई समेत अनुबन्धन गर्न पाउने प्रावधान रहेको छ । चितवन टाईगर्सको मालिक नवलपरासी निवासी किशोर भट्टराई हुन् । चितवन टाईगर्सको टिममा राष्ट्रिय खेलाडीहरु सुवास खकुरेल, पृथु बास्कोटा, दीपेन्द्रसिंह ऐरीलगायतका युवा खेलाडीहरु रहेका छन् ।


आनन्द पोखरेल
चितवन, १३ मंसिर

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै चितवनमा उम्मेदवारहरुले घरदैलोलाई तीव्रता दिएका छन् । चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले नियमित रुपमा घरदैलो गर्दै आफ्ना उम्मेदवारका चुनावी एजेण्डाहरु स्थानीय जनता समक्ष लगेका छन् ।
चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ मा वाम गठबन्धनले घरदैलो गरेको छ । प्रतिनिधिसभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रदेशसभामा एमालेका कृष्ण भुर्तेल तथा समानुपातिकको प्रदेश र प्रतिनिधिसभाका लागि आफूलाई मन पर्ने दलमा मतदान गर्न सिकाउँदै वाम गठबन्धनका कार्यकर्ताहरुले घरदैलो गरेका छन् । समूहमा हिँडेका वाम गठबन्धनका कार्यकर्ताहरुले शिवघाट, फुर्तीचोक लगायतका ठाउँका स्थानीय जनतालाई निर्वाचनका दिनमा भोट हाल्ने सहि तरिका सिकाउँदै घरदैलो गरेका हुन् ।
जनताको मत अमूल्य हुने भएकाले मत खेर नजाओस् भनेर उनीहरुलाई मतदान गर्ने सहि तरिका सिकाउँदै घरदैलो गरेको कार्यकर्ताहरु बताउँछन् । वामपन्थी सरकारले विकास गर्ने योजना ल्याएर काम गर्न नपाउँदै सरकार ढालिएको उदाहरणहरु प्रस्तुत गर्दै एक पटक वामपन्थीको बहुमतको सरकार निर्माण गरेर जनताको विकास निर्माणको चाहना पुरा गर्नुपर्ने पुष्प केसीले बताए । लामो समयदेखि देशमा राजनीतिक अस्थिरता आएकोले अबको निर्वाचनबाट वाम सरकार निर्माण गर्दै समृद्ध नेपालको परिकल्पना साकार गर्नुपर्ने केसीको भनाइ थियो ।
उक्त घरदैलोमा प्रदेशसभा उम्मेदवार कृष्ण भुर्तेल समेत सहभागी भएका थिए । भुर्तेलले जनताको हरेक सुखदुखमा साथ दिँदै आएको र आगामी दिनमा समेत उनीहरुको दुखसुखमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।

मंसिर ०४ ।


लायन्स क्लब अफ नारायणगढ बालकुमारीको स्थापना दिवसको अवसर पारेर क्लबका अध्यक्ष बालगोपाल चुके र उनकी पत्नीले चितवन मानव सेवा आश्रममा खाना खुवाएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा आश्रय लिइरहेका अनाथ व्यक्तिलाई सोमबार खाना खुवाइएको हो । मानवीय काम गर्नको लागि स्थापना गरिएको संस्थाको हरेक वार्षिकोत्सवमा फरक फरक कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिलाई खाना खुवाइएको क्लबका अध्यक्ष बालगोपाल चुकेले बताए । क्लबको स्थापना दिवसको अवसर पारेर चुके दम्पतीले चितवन मानव सेवा आश्रमको अक्षय कोषमा रहने गरि १५ हजार रुपैयाँ समेत प्रदान गरेका छन् । सडकबाट उद्धार गरिएका व्यक्तिहरुलाई अक्षयकोषबाट आउने व्याजले खान खुवाउन पुगोस् भन्ने उद्देश्यले स्थापना गरिएको चितवन मानव सेवा आश्रम अक्षयकोषका लागि चुके दम्पतीले उक्त रकम प्रदान गरेका हुन् । कार्यक्रम मार्फत नै क्लबका सदस्य धु्रव प्रसाद पौडेलले मंसिर २० गते पर्न गएको आफ्नी छोरीको जन्म दिनको अवसरमा आश्रमको अक्षयकोषमा ११ हजार रुपैयाँ प्रदान गरेका छन् । यसैबीच, क्लबका पूर्व अध्यक्ष सरोज मास्केले समेत आफ्नो जन्म दिनको अवसर पारेर उक्त कार्यक्रम मार्फत एक दिनको खाना खुवाउने रकम आश्रमलाई प्रदान गरेका छन् । नारायणगढका व्यवसायी समेत रहेका मास्केले बिहानको खाना, दिउँसोको खाजा र बेलुकीको खाना वापतको रकम संस्थाका अध्यक्ष ममता शर्मा न्यौपानेलाई प्रदान गरेका हुन् । चितवन मानव सेवा आश्रममा हाल ३१ जना महिला र एक जना बालक सहित ४६ जना असहाय व्यक्तिहरुले आश्रय लिइरहेका छन् । मानसिक सन्तुलन गुमाएका, बिरामी, असहाय व्यक्तिहरुलाई चितवन सहिसत काठमाडौँ, नुवाकोट, गोरखा, नवलपरासीको सडकबाट उद्धार गरेर चितवन मानव सेवा आश्रममा राखिएको आश्रमका उपाध्यक्ष विनोद ढकालले जानकारी दिए ।

कात्तिक २७ ।


भिमसेन बचत तथा ऋण सहकारी संस्था भरतपुर २ को पांचौ बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाले आफ्नो साधारण सभाको अवसरमा विभिन्न विधामा शेयर सदस्यहरुलाइ सम्मान गरेको छ । ज्येष्ठ नागरिक २ जना, असल बचतकर्ता २ जना, असल ऋणी २ जना र आवधिक बचत कर्ता एवं असल बालबचत कर्ता १÷१ जना शेयर सदस्यलाइ सम्मान गरेको हो । कार्यक्रममा संस्थाका सचिव अशोक श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दिपक शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय भरतपुरका सहकारी निरिक्षक रामबाबु पौडेल, उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष एवं संस्थाका सल्लाहकार राजु श्रेष्ठ लगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

More Articles ...

Sign up via our free email subscription service to receive notifications when new information is available.