पौष १७, भरतपुर ।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेशको कृषि तथा पक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा १० औं राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइएको छ । कार्यक्रममा मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान चारदेखि पाँच प्रतिशत रहेको बताए ।
आर्थिक वर्ष २०७७÷०७८को तथ्यांक अनुसार कृषिजन्य कूल ग्राहस्थ उत्पादनमा पोल्ट्रीले आठ प्रतिशत ओगटेको शर्माले बताए । अर्थतन्त्रमा बलियो योगदान दिने पोल्ट्री क्षेत्रबाट वार्षिक मासु उत्पादनमा ४३ प्रतिशत क्षेत्र ओगटेको जानकारी दिए । नेपालमा कूल पाँच लाख २० हजार सात सय ४२ मेट्रिकटन मासु उत्पादन हुने गरेकामा पोल्ट्री क्षेत्र (कुखुरा र हाँस) ले दुई लाख २७ हजार चार सय एक मेट्रिकटन मासु उत्पादन गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा फिजिसिन डा. भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि मासु र अण्डाको महत्वबारे प्रकाश पारेका थिए।

डा. अधिकारीले मानव स्वास्थ्यका लागि आवश्यक सम्पूर्ण तत्व अण्डा र कुखुराको मासुमा हुने बताउंदै बिहान खाजाका रुपमा अण्डाको प्रयोग प्रत्येक दिन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताए । उद्योग सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण आर्थिक क्षेत्र चलायमान बन्न नसक्दा चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याउन खोज्दा व्यवसायी मर्कामा परेको बताएका थिए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बैंकहरुका कारण व्यवसायी पलायन हुन थालेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा डा होमबहादुर बस्नेत, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, ह्याचरी उद्योग सङ्घका अध्यक्ष ऋषिराम पौडेल, नेपाल दाना उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लगायतले पोल्ट्री व्यवसायको समस्या समाधानमा जोड दिएका थिए।