फागुन २५, चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा भन्दा बढी मत समानुपातिकमा पाएको छ। यी तीनै क्षेत्रमा रास्वपाले पाएको मत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्राप्त मत भन्दा झण्डै दोब्बर छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाले समानुपातिकतर्फ ६० हजार ४० मत प्राप्त गरेको छ। रास्वपाले यो क्षेत्रमा २०७९ मा २८ हजार ४०१ मत प्राप्त गरेको थियो। अहिलेको निर्वाचनमा प्रत्यक्षतर्फ ५९ हजार २७७ मत प्राप्त गरेर सोबिता गौतम विजयी भएकी छन्। रास्वपाले क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ ५४ हजार ५०९ प्राप्त गरेको छ। २०७९ मा यहाँबाट ३५ हजार ९ सय ४५ मत प्राप्त गरेको थियो। अहिले यहाँबाट रवि लामिछाने ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका छन्। क्षेत्र नम्बर १ मा रास्वपाले समानुपातिकमा मत ५९ हजार २४३ प्राप्त गरेको छ। २०७९ मा ३४ हजार ६९१ मत प्राप्त गरेको थियो। प्रत्यक्षतर्फ रास्वपाका हरि ढकाल ५८ हजार २०२ मत प्राप्त गरेर विजयी भए। तीन वटा क्षेत्रबाट रास्वपाले १ लाख ७३ हजार ७९२ मत प्राप्त गरेको छ। अघिल्लो निर्वाचनमा ९९ हजार ३७ मत पाएको थियो। यी तीनवटै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ २०७९ को भन्दा कम मत प्राप्त गरेका छन्।