चैत २९, चितवन ।
इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व इद उल फित्र (इद) बिहिबार हर्षाेल्लासका साथ देशभर धुमधामले मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा बिहिबार बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो । ईदको अवसरमा काठमाडौंको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्नेहरुको घुइँचो लागेको छ । एकअर्कालाई अंगालो हालेर ईद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन् । हिजरी संवतको रमजान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन् । ईद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ । ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्ठान्न परिकार खाने–खुवाउने चलन छ । यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि जकात अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा पनि छ । प्रत्येक बस्तीमा रहेको मस्जिद व्यवस्थापनले यो कोष सञ्चालन गर्ने गरेको इस्लाम धर्मावलम्बी बताउँछन् । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ । ईदको अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।