चैत ३०, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । 
चितवनमा भोली बैशाख १ गते देखि २९ औं वन्यजन्तु सप्ताह सुरु हुँदैछ । हरेक बर्ष वन र वन्यजन्तु संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने प्रकृतिका गतिविधि आयोजना गरी सप्ताह मनाइदै आएको हो । चितवन राष्ट्रिय निकुञ्ज सहित संरक्षण र पर्यटनसंग सम्बन्धित २६ वटा संघसंस्थाहरुको सहकार्यमा सप्ताह मनाउन लागिएको हो । रत्ननगरको बछौलीमा रहेको मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी वन्यजन्तु सप्ताहको उद्देश्य र एक हस्तासम्म गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको छ । वन्यजन्तुको संरक्षण: पर्यापर्यटन र आयआर्जन भन्ने मुल नाराका साथ मनाउन लागिएको वन्यजन्तु सप्ताहमा संरक्षण र जीविकोपार्जनलाई जोड दिइएको मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनु भयो ।

सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख १ गते उद्घाटन, २ गते टिकौली सडकखण्ड वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन, वन्यजन्तु र वाताबरण संरक्षणमुलक सचेतना ¥याली गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताउनुभयो । मृगकुञ्ज मध्यवर्ती वन उपभोक्ता समितिको अगुवाईमा चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्थाको सहकार्यमा सप्ताह मनाइदै छ । कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतु तामाङ, समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष बसन्त राना, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल गुरुङ लगायतको सहभागिता रहेको थियो ।