२६ भदौ, चितवन। यस वर्षको दशैंका लागि आगामी असोज १३ देखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत १३ असोजदेखि नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट्न साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए । १३ असोजबाट राष्ट्र बैंकका साथै बैंकहरू मार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गर्न लागिएको हो । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताए । हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएको भन्दै केन्द्रीय बैंकले यसपटक नयाँ नोट उपलब्ध नगराउने भएको हो ।