भदौ २७, रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघले बाग्लुङ उद्योग बाणिज्य संघको टोलीलाई स्वागत गर्दै व्यवसायिक विकासका बारेमा अन्तर्किया कार्यक्रम गरेको छ । भ्रमणमा निस्किएको बाग्लुङ उवासंघको टोलीलाई स्वागत गर्दै व्यवसाय प्रर्बद्धन र आर्थिक विकासको लागि सहकार्यको प्रस्ताब गरिएको छ ।

रत्ननगर उबासंघका अध्यक्ष शंकर गिरीले आर्थिक मन्दीका कारण कमजोर बन्दै गएको व्यवसायको विकास र स्थानीय स्तरका आर्थिक विकासको लागि दुई संघ बीचको सहकार्यको प्रस्ताब गरिएको बताए । उनले आर्थिक विकाससंगै व्यवसायिक हक हितका लागि साझा एजेण्डा सहित सहकार्य गर्नुपर्ने, व्यवसायिक संघ संगठनहरुले मात्र मेला महोत्सव गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि पर्यटन व्यवसायी बीच समन्वय गरी आकर्षक प्याकेज सहित छुटको व्यवस्था गरि व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले उद्योगी व्यवसायीहरुको राजश्व नीति, कर प्रणाली र पर्यटन प्रवद्र्धनलगायतका विषयमा व्यवसायिक एकता हुनुपर्नेमा जोड दिए ।

राज्यको कर प्रणाली र आर्थिक मन्दीको अबसरले व्यवसायी पलायन हुँदै गएको भन्दै यसमा राज्य गम्भिर हुनुपर्ने बेला आएको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराज राजभण्डारी र नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य दयाराम पौडेलले आर्थिक अवस्था नाजुक भएको अवस्थामा व्यवसायीहरु बीच समन्वय आवश्यक रहेको भन्दै बैक व्याजदर, निजी क्षेत्रहरुको समस्याका लागि संस्थागत रुपमा सामधान खोज्नुपर्नेमा जोड दिएका थिए ।

रत्ननगर उद्योग वाणिज्य संघ र बाग्लुङ उद्योग वाणिज्य संघका व्यवसायीहरु विच एक आपसमा परिचयात्मक कार्यक्रम सहित स्वागत गरिएको थियो । उक्त कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष, कार्यसमिति सदस्य, बाग्लुङ उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरुको उपस्थितिमा अन्तर्किया कार्यक्रम आयोजना गरिएको थियो । रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद मन्तव्य राखेका थिए भने महासचिव उपेन्द्र शर्मा आचार्यले कार्यक्रम संचालन गरेका थिए ।