कार्तिक ७, नारायणगढ ।
नारायणगढ रोटरी क्लबले कार्तिक ९ गते शुक्रबार नेपालको पहिलो पप गायक ओम विक्रम बिष्टको लाइभ कन्सर्टको आयोजना गर्ने भएको छ ।
भरतपुरको होटल सिराइचुलीमा दिउँसो ४ बजेबाट कार्यक्रम सुरु हुने क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक विज्ञानलाल श्रेष्ठले जानकारी दिएका छन् । उक्त कार्यक्रममा नेपालका ख्यातीप्राप्त ड्रमर देव राणा र बरिष्ठ बेस गिटारवादक सुवर्ण लिम्बुलगायत बरिष्ठ संगीतकर्मीहरूको सङ्गीत संयोजनमा ओम विक्रम बिष्टको लोकप्रिय गीतहरू प्रस्तुत गरिने पूर्व अध्यक्ष तथा कार्यक्रम निर्देशक सहनलाल प्रधानले बताए । गायक बिष्टलाई साथ दिन गायिका एञ्जिला श्रेष्ठ पनि आउने भएकि छिन् ।
सोही कार्यक्रममा पप गायक बिष्टले भर्खरे रेकर्ड गर्नुभएको दीपक प्रधानको रचना तथा सहनलाल प्रधानको सङ्गीत रहेको गीतको म्युजिक भिडियोसमेत रिलिज गरिने कार्यक्रम संयोजक विज्ञानलाल श्रेष्ठले बताए । साथै गायक तथा सङ्गीतकार सहनलाल प्रधानकै सङ्गीत र प्रेमविनोद नन्दनको रचनामा साम्राज्ञी प्रधानले गाएको “देशको माया” बोलको म्युजिक भिडियो सार्वजनिक गरिने श्रेष्ठले बताए । “स्वार्थभन्दा माथि सेवा” भन्ने उद्देश्य लिएर स्थापना भएको नारायणगढ रोटरी क्लबले स्थापनाकालदेखि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको र यस कार्यक्रमबाट बचत हुन आएको रकमले थप सेवाका कार्यहरू गर्ने अध्यक्ष तारानाथ पाठकले जानकारी दिएका छन् । साथै कार्यक्रमको लागि सम्पूर्ण तयारीहरू पुरा भइसकेको समेत उनले बताए ।