जेठ २२, रत्ननगर । । रत्ननगर उद्योग बाणिज्य संघमा उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम सुरु भएको छ । रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित उक्त तालिमको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । सो अबसरमा उनले संघले उद्यामशिलता विकास र नेतृत्व विकासमा गरेको कामको अनुशरण गर्न योग्य रहेको बताए ।
निजी क्षेत्रले व्यवसायिक सुरक्षासंगै सामाजिक उत्तरदायित्व बहन गर्न सके विश्वास बढ्ने उनको भनाई छ । संघका अध्यक्ष शंकर गिरीले उद्यमी महिलाहरुलाई क्षमता तथा नेतृत्व विकासका लागि उद्घोषण कला, बैठक सञ्चालन तथा माइन्यूट लेखन तालिम आयोजना गरिएको बताए । नेतृत्व तहमा पुग्ने सम्भावना भएका उद्यमी महिलाहरुलाई केन्द्रीत गरी तालिम गरिएको उनको भनाई छ । लायन्स क्लयका नेता निरज श्रेष्ठले बैठक सञ्चालन तथा माइन्यूट लेखन तथा सञ्चारकर्मी रामकान्त पौडेलले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनेछन् ।
संघकी कार्यसमिति सदस्य लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा संघका कार्यसमिति सदस्य रघुनाथ भट्टले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । तालिममा ४० जनाको सहभागिता रहेको छ । रत्ननगर उद्योग बाणिज्य संघले स्थानीय सरकारको आर्थिक सहयोगमा महिलाहरुलाई उद्यामी बनाउन सीप मुलक तालिम सञ्चालन गरिरहेको छ । कार्यक्रम संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको थियो ।