जेठ २२, चितवन ।
खैरहनी–१२ का सीमान्तकृत महिलाहरूको जीविकोपार्जन र आर्थिक सशक्तीकरणका लागि मौसमी तरकारी खेतीसम्बन्धी तालिम प्रदान गरिएको छ। करुणा ट्रस्ट युकेको आर्थिक तथा प्राविधिक सहयोग, खैरहनी नगरपालिकाको समन्वय र नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) को आयोजनामा यो तालिम सञ्चालन भएको हो।
एड्वानले सञ्चालन गरेको तालिमले महिलाहरूलाई व्यावसायिक तरकारी खेतीका लागि उच्च प्रविधि, सीप र ज्ञानको प्रयोग गरी कम लागतमा उत्पादन गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ। कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख कविता उप्रेतीले किसानले फोनमार्फत समस्या टिपाएमा कृषि प्राविधिकले खेतमै पुगेर सेवा प्रदान गर्ने बताइन्। उनले विषादीरहित उत्पादनमा जोड दिँदै आगामी आर्थिक वर्षको बजेट निर्माणमा सामूहिक खेतीका लागि आवश्यक बजेट माग गर्न आग्रह गरिन्।
खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्तले कृषि समूह दर्ता गरी सामूहिक खेतीमा लाग्न सहभागी महिलाहरूलाई सुझाए। उनले वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मङ्गलबार खैरहनी–१२ को सूर्यकिरण टोलमा आयोजित तालिममा अकबरे खुर्सानी, चुकन्दर र मौसमी तरकारी खेतीसम्बन्धी जानकारी प्रदान गरिएको सहजकर्ता सुनिता दराईले बताइन्। उनले तालिममा सहभागी समूहलाई बीउ पूँजीस्वरूप ५०,००० रुपैयाँ नगद प्रदान गरिएको जानकारी दिइन्।
तालिममा खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सृजना श्रेष्ठ, कार्यपालिका सदस्य दुखीराम दराई, वडा सदस्यहरू श्यामप्रसाद रेग्मी, एकला महतो, माया सार्की र अनिता चौधरीको उपस्थिति थियो। एड्वानकी अध्यक्ष विन्दु परियारको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो।