जेठ २२, चितवन । भरतपुर । आज बिहीबार विश्व वातावरण दिवस, चितवन जिल्लाभर वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना भएका छन् । चितवनका सातै पालिकाले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम आयोजना गरेका छन् । भरतपुर महानगरपालिकाको वातावरण तथा विपद् महाशाखाले वृक्षरोपण तथा सरसफाइ आयोजना गर्न गरेको छ । महानगरका विभिन्न वडाहरुले समेत सरसफाइ तथा वृक्षरोपण एवम् तालिमका आयोजनाहरु गरेका छन् । नेपाललगायत संसारभरि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो । सन् १९७४ देखि विश्वमा वातावरण दिवस मनाउन थालिएको थियो । नेपालले भने सन् १९८० को दशकदेखि विश्व वातावरण दिवस मनाउन थालेको हो । मानवकै अज्ञानको कारणबाट नै वनविनाश, भूक्षय आदि हुने गरेको छ । गोन्द्राङ प्रहरी बिटदेखि जिल्ला प्रशासन कार्यालयसम्म भरतपुर महानगरले वृक्षरोपण तथा सरसफाइ गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार विश्व वातावरण दिवसमा बर्सेनि वातावरण संरक्षण तथा सरसफाइ कार्यक्रम हुँदै आएको छ । यसवर्ष पनि भरतपुर महानगर, वे गु्रप, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, टोल विकास संस्था, विद्यालय, आमा समूह, महिला समूह, वातावरण संरक्षणकर्मी लगायत सम्पूर्णको उपस्थितिमा भरतपुर–१२ को गोन्द्राङ प्रहरी बिटदेखि जिल्ला प्रशासन कार्यालयसम्म बृहत् सरसफाइ तथा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो । वातावरण दिवसकै अवसर पारेर रत्ननगर नगरपालिका, माडी नगरपालिका, कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका र राप्ती नगरपालिकाका वडाहरुले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम भएका छन् । भरतपुर महानगरपालिकाले विश्व वातावरण दिवसकै अवसर पारेर आफ्ना कार्यालयहरुमा सरसफाइ र वृक्षरोपण गर्न, विद्यालय, क्याम्पस तथा शैक्षिक परिसरमा सरसफाइ र वृक्षरोपण गर्न निर्देशन गरेको छ ।
नेपालले पनि वातावरण दिवस धेरै पहिलेदेखि मनाउने कार्य गर्दै आएको छ । दिवसका कार्यक्रमले जनतामा चेतनामूलक सन्देश फैलाउने गरेको पाइन्छ । दिवसलाई वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरु तय गरी मनाउने परिपाटी रहेको छ । यी कारणहरुले गर्दा वायु प्रदूषणमा कमी आई वातावरणमा भने सुधार आएको कुरा सम्बन्धित क्षेत्रका विज्ञहरुले औँल्याएका छन् । नेपालको संविधानले हामी सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ । नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।