News


माघ २६, भरतपुर । । 
वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गर्नुभएको छ । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड ७९ लाखको काम सुरु भएको बताउनुभयो ।
‘घटिघटावबाट अब रु १ करोड ८० लाख रुपैयाँ छ,उहाँले भन्नुभयो,‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेण्डर खुल्छ । मेषजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौ।’
प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताउनुभयो । यी वडा मध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको प्रष्ट पार्नुभयो ।
वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भएपनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने उल्लेख गर्नुभयो ।
प्रमुख दाहालले पश्चिम चितवनवासीको माग अनुसार मेघौली विमानस्थलको स्तरोन्तीको कार्य पनि सुरु भइसकेको र विमानस्थलको क्रमिक रुपमा व्यवस्थापनको कार्य अगाडि बढाइने बताउनुभयो ।
मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार सरचालिस रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिनुभयो।
मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेषजाली निर्माण गरिने ईन्जिनियर आचार्यले जानकारी दिनुभयो।
गोले सनसाईन जेभि सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ ।
पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी ठुलो जनधनको क्षति पुराउदै आएको छ ।

 

माघ २५, चितवन । तस्विर कोमल चन्द्र भगत । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम भरतपुरमा प्रभावकारी बन्दै गएको छ । भरतपुर महानगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका हुन् । भरतपुर–१८ की गीता अधिकारीका श्रीमान् लामो समययता विदेशमा श्रमिक हुनुहुन्छ । घरमा मुख्य जिम्मेवारी लिने मान्छे नहुँदा घरको जिम्मेवारी गीताको काँघमा परेको छ । उहाँले सबै जिम्मेवारी थेग्न सक्नुभएन र उहाँलाई मनोसमामाजिक समस्याले ग्रस्त बनाउन थाल्यो । गीताले भन्नुभयो, “श्रीमान् विदेश गएपछि घरमा बसेर काम गर्ने जाँगर केही हुन्थेन । घरमा कमाई नहुँदा सबै उहाँकै भरमा परिन्थ्यो ।” सामी कार्यक्रममा संलग्न भएपछि आफूमा धेरै परिवर्तन आएको उहाँले बताउनुभयो । “पहिला केही काम गर्न मन नलाग्ने, काम गरे पनि सफलता नहँुदा निकै निरास भएको थिएँ । अहिले घरमा बाख्रा, भैँसी पाल्नुका साथै किसानी गरेर परिवारको खर्च बचत गरेको छु ।”

गीताले श्रीमानलाई अब यही बोलाएर व्यवसाय गर्ने सोच बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “काम गरे यहीँ पनि हुनेरहेछ । श्रीमानलाई अब बोलाएर गाउँमा मिल खोल्ने योजना बुनेको छु । यो कार्यक्रम निकै प्रभावकारी छ । मलाई त यस कार्यक्रममा जाँदा माइत गएको जस्तो अनुभव हुन्छ ।”

त्यसैगरी घरको चारजना विदेशमा श्रम गर्न हिँडेपछि भरतपुर–१६ निवासी शोभा भुसाल सापकोटाको घर रित्तो भएको थियो । घरमा काम गर्नेहरू विदेश भएपछि उहाँको परिवार पूर्णतया विदेशको आम्दानीमा आश्रित भयो । घरमा भएका निष्क्रिय जीवन बिताउन थाले ।

अहिले भने सापकोटा यतिखेर आफ्नै घरको काममा व्यस्त र सक्रिय हुनुहुन्छ । उहाँले घरखर्च आफँैले कमाएर चलाउनुभएको छ । उहाँले भन्नुभयो, “आनन्दसँग बसेर पनि नहुँदो रहेछ । निस्क्रिय भएर बस्दा झन् समस्या हुने रहेछ । घरमा उपलब्ध हुँदाहुँदै पनि हरेक सामान हामी किनेर खाने अवस्थामा थियौँ, तर आजकाल त्यस्तो छैन ।” उहाँ आफ्नो खर्च र बालबालिकाको खर्चका लागि खेती किसानीको काम गर्दै आउनुभएको छ ।

विदेशबाट आएको पैसाले मात्रै घरखर्च चलाउँदा मानसिकरूपमा असर पर्दै गएको हुँदा सामी परियोजनाको मनोपरामर्शका कारण अहिले घरलाई चाहिने आवश्यक खर्च आफैँ जुटाउन थालेका सापकोटाले बताउनुभयो ।

भरतपुर–१६ कै सङ्गीता रेग्मी भट्टले पहिला–पहिला वैदेशिक रोजगारबाट आएको रकमले घरखर्च चल्ने भएपछि सबै काम भुल्दै गएको बताउनुभयो । घरम निष्क्रिय भएर बस्दा घरायसी समस्या उत्पन्न हुन थालेपछि मानसिकरूपमा पनि कमजोर हुनुभएको उहाँ अहिले त्यस्तो नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सामी परियोजनामार्फत बचत गर्ने र आफूले पनि केही गर्नुपर्छ भन्ने भएपछि अहिले त्यस्तो समस्या छैन ।” बचत गर्ने बानीको विकास र मानसिकरूपमा हुने समस्या समाधानका लागि मनोपरामर्श तालिम आवश्यक रहेको उहाँको भनाइ छ ।

वैदेशिक रोजगारमा श्रीमान् रहेको समयमा मानसिक समस्या उत्पन्न भएर आत्महत्याको प्रयाससम्मको सोच बनाउनुभएकी भरतपुर–२५ की राधा खाती अहिले मानासिक र शारीरिकरूपमा स्वस्थ हुनुहुन्छ । श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि उहाँलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उहाँले गुनासो गर्दैगर्दा उहाँ निकै भावुक बन्नुभयो ।

यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको भए अहिले यो स्थानमा आउन नसक्ने खातीले बताउनुभयो । सामी परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उहाँले सुनाउनुभयो । परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि उहाँहरूको परिवारमा खुसीयाली छाएको उहाँले बताउनुभयो ।

भरतपुर–१७ की चन्द्रमाया दुरा अब वैदेशिक रोजगारमा रहनुभएका श्रीमान्लाई नेपालमा बोलाएर व्यवसाय गर्ने सोचमा हुनुहुन्छ । विगत सात वर्षदेखि वैदेशिक रोजगारका क्रममा कतारमा रहनुभएका उहाँका श्रीमान्लाई बोलाएर यही काम गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । श्रीमान विदेशमा हुँदा कमाएको पैसा केही वचत गरेर अहिले थोरै कुखुरा पालेको बताउँदै उहाँले अब श्रीमानलाई विदेश नपठाउने बताउनुभयो । उहाँले भन्नुभयो “परिवारको जिम्मेवारी उठाउने श्रीमान नहुँदा मानसिक रुपमा समस्या हुँदो रहेछ ।”

भरतपुर महानगरपालिकाभित्रका ९६ हजार घरधुरीमा ३३ हजार घरधुरीबाट वैदेशिक रोजगारमा गएका छन् । एउटै घरबाट चार जनासम्म वैदेशिक रोजगारमा जाने गरेको सामी परियोजनाका कार्यक्रम संयोजक सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष भरतपुर महानगरपालिकाबाट मात्र छ हजारभन्दा बढी श्रम अनुमति लिएर रोजगारीका सिलसिलामा विदेश जाने गरेका छन् । गत आवमा मात्र भरतपुरबा छ हजार पाँच सय ६१ जनाले श्रम अनुमति लिएर रोजगारीमा गएका शर्माले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारमा रहेको समयमा अङ्गभङ्ग भए वा मृत्यु भएका परिवारका लागि अध्ययन खर्च र उपचारमा वैदेशिक रोजगार बोर्डले सहयोग गर्ने विषयमा ज्ञान नहुँदा त्यसको सेवा लिन आउनेको सङ्ख्या कम रहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ । 

 

माघ २५, चितवन । तस्विर कोमल चन्द्र भगत । राष्ट्रिय थारु कलाकार मञ्चको पहिलो महाधिवेशन चितवनको आदिवासी थारु जातिको बाहुल्यता रहेको पर्यटकीय क्षेत्र सौराहामा हुने भएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गर्दै माघ २७ र २८ गते महाधिवेशन गर्न लागेको जनाएको छ । संगठनलाई गति दिनका साथै महाधिवेशनले थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई पनि प्रवर्द्धन गर्ने मञ्चका अध्यक्ष विरबहादुर चौधरीले बताए । ‘पाँच वर्षअघि गठन भएको यो हाम्रो संगठन थारु कलाकारहरुको क्षमता बढाउन, पेशाको संरक्षण गर्न क्रियाशिल रहि थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवर्द्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको अध्यक्ष चौधरीले बताए ।

अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोक नाच, लोक गीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उनले बताए ।

दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा कर्‍या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।

 

थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताए । थारु समुदायमा प्राचिन लोकभाका र लोकगीतहरु हुर्डुङ्ग्वा, झुम्रा, संख्या, सज्ना, मैना, मांगर, धमरा, धुम्रु, मघौटा, छोक्रा, महोत्या, विरहैन, चाँचैर, बाह्रमासा, तीनमासा, दिन नचवा, अध्यरत्याहरु छन् । त्यसै गरी थरी थरीका लोकनृत्यहरु छन् ।

लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताए ।

अधिवेशनमा यस्ता मौलिक सिर्जना र साधनहरुका बारेमा परिचर्चाहरु हुने उनले बताए । त्यसै गरी थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु, अन्डीको भात, चिच्चर, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार लगायतका खाना अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।

थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पुर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रतगैंयाले जानकारी दिए । प्रत्येक जिल्लाबाट पाँचजना प्रतिनिधि र एकजना पर्यवेक्षक आउने छन् । अधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताए ।

 

Subcategories