News

माघ १०, चितवन ।
वागमती प्रदेशमा ३ वटा मन्त्रालय कटौती हुने भएको छ । १४ वटा मन्त्रालयबाट घटाएर ११ मन्त्रालय कायम गर्ने तय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । प्रदेश मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनाइएको मन्त्रालय निर्धारण समितिले आज दिउँसो १ बजे प्रतिवेदन पेश गर्दैछ । अध्ययनका लागि १६ दिनको म्याण्डेट पाएको उक्त समितिले १० देखि ११ मन्त्रालय राख्न सुझावसहितको प्रतिवेदन बनाएको छ । अहिलेको १४ मन्त्रालयको कामको मूल्याङ्न, आर्थिक भारलाई मध्यनजर गर्दै आफुहरूले कुन९मन्त्रालय कटौती गरी कहाँ मर्ज गर्दा काम गर्न सहज हुन्छ भन्ने हिसाबमा प्रतिवेदन तयार पारिएको निरौलाले जानकारी दिए । स्रोतका अनुसार उद्योग तथा वाणिज्य मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सस्ंकृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई कटौती गरी अन्यमा गाभ्न सुझाएको बताइएको छ ।

माघ १०, चितवन ।
प्रतिनिधिसभाको काम कारवाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सांसद सदस्यहरुको नामावलीसहितको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो भने सांसद रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गर्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको थियो । समितिलाई १५ दिनको समय दिइएको छ । प्रतिनिधिसभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही लगाएत व्यवस्थापकीय कार्य सम्पादन गर्दा अपनाउनुपर्ने कार्यका लागि नियमावली मस्यौदा तयार गर्ने व्यवस्था छ ।

माघ १०, चितवन ।  दुर्लभ मानिएको एक सिङ्गे गैँडा संरक्षणसम्बन्धी छलफल गर्न एसियाका पाँच देशका उच्च अधिकारीहरु चितवन आउने भएका छन् । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ का लागि उनीहरु नेपाल आउने भएका हुन् । यही फेब्रुअरी ३ देखि ५ सम्म चितवनको पटिहानीमा गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय बैठक हुन लागेको हो ।

नेपाल, भारत, भूटान, इन्डोनेसिया र मलेसियाका उच्च अधिकारीहरु बैठकमा सहभागी हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तले जानकारी दिनुभयो । नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिवहरु बैठकमा सहभागी हुनुहुनेछ ।

 

अन्य देशबाट समकक्षीसहित गैँडाका क्षेत्रमा काम गर्ने विज्ञहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । फिल्डमा काम गर्ने कर्मचारीहरु भने पर्यवेक्षकका रुपमा सहभागी हुनेछन् । एकसिङ्गे गैँडा भारतमा सबैभन्दा बढी पाइन्छ भने नेपाल एकसिङ्गे गैँडा पाउने देशमध्ये दोस्रो स्थानमा पर्दछ ।

बैठकमा गैँडा संरक्षणमा देखिएका चुनौतीका विषयमा छलफल गरी आगामी योजनाहरु तय गरिने बताइएको छ । यसअघि गैँडा संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय बैठक इन्डोनेसिया र दोस्र्रो भारतको दिल्लीमा भएको थियो ।

Subcategories