होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने
चितवन, पुस १७ ।
होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । आज नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने जानकारी गराएका हुन् । संघले समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकोले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गर्दै करिब ७०० प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनको दोस्रो दिन भरतपुर महानगरपालिकाभित्र प्रतिनिधि र पर्यवेक्षकका लागि निःशुल्क सवारीसाधन सञ्चालन गरिने व्यवस्था मिलाएको संघले जनाएको छ । होटल व्यवसायी महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले कोरोना तथा आर्थिक मन्दीको कारणले २० देखि ३० प्रतिशत व्यवसायी पलायन भएको बताए । सम्मेलनले व्यवसाय क्षेत्रमा केही आशाको सञ्चार गर्ने चुकेको भनाइ छ । ’ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रममा पर्यटनसम्बन्धी विभिन्न प्रस्तुती र कार्यशालाहरु पनि हुने उपाध्यक्ष चुकेले जानकारी दिए । सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका चितवनका होटल व्यवसायी दिनेशकुमार चुके अध्यक्षको मुख्य दाबेदार रहेका छन् । विसं २०६७ मा स्थापना भएको होटल व्यवसायी संघको पहिलो महाधिवेशन पनि चितवनमा नै भएको थियो । यसपटक हुने चौथो अधिवेशन तथा दशौं वार्षिक साधारण सभा उद्घाटन अघि भरतपुरको चौबिस कोठीबाट उद्घाटन स्थलसम्म विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली गरिने जनाइएको छ ।