साउन २१, चितवन । भारतका वरिष्ठ पत्रकार तथा तहलका पत्रिकाका पूर्वप्रधान सम्पादक तरुण तेजपाललाई यौन उत्पीडन तथा बलात्कारसम्बन्धी मुद्दामा १० वर्षको कारावास र लाखौँ रुपैयाँ जरिवाना सजाय सुनाइएको छ । मुम्बई उच्च अदालतले बिहीबार सजाय निर्धारण गर्दै भारतीय दण्ड संहिताका विभिन्न धारा अन्तर्गत तेजपाललाई दोषी ठहर गरेको हो । यसअघि अदालतले सन् २०२१ मा गोवा ट्रायल अदालतले दिएको सफाइको फैसला उल्टाउँदै उनलाई दोषी ठहर गरेको थियो । सजाय सुनाउनुअघि अदालतले बचाउ पक्ष र सरकारी पक्षका वकिलहरूको दलिल सुनेको थियो । तरुण तेजपालका वकिलले यो उनको पहिलो आपराधिक मुद्दा भएको र सन् २०१३ को घटनापछि उनी निरन्तर जमानतमा बसेको उल्लेख गर्दै न्यूनतम सजाय दिन आग्रह गरेका थिए । बचाउ पक्षले अदालतसँग सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारीका लागि आठ हप्ताको समय दिई आत्मसमर्पण गर्न अनुमति दिन पनि अनुरोध गरेको थियो ।
यता, सरकारी पक्षका तर्फबाट बहस गर्दै महान्यायाधिवक्ताले अदालतसँग अधिकतम सजायको माग गरेका थिए । उनका अनुसार पीडित महिलाले तेजपाललाई विश्वास गर्ने र अभिभावक सरह सम्मान गर्ने अवस्था भए पनि उनले पीडितको स्पष्ट अस्वीकारका बाबजुद अपराध दोहोर्‍याएका थिए । तेजपालले आफ्नो कार्यप्रति कुनै पछुतो नदेखाएको तर्क पनि सरकारी पक्षले प्रस्तुत गरेको थियो । सजाय सुनाउने क्रममा मुम्बई उच्च अदालतले घटना भएको करिब १३ वर्ष बितिसकेको उल्लेख गरेको छ । अदालतले यस अवधिमा तेजपालविरुद्ध यस्तै प्रकृतिको अर्को कुनै गम्भीर आरोप वा उजुरी नआएको पनि उल्लेख गरेको छ । साथै, अदालतले दुवै पक्षले आफ्नो जीवन अगाडि बढाउनुपर्ने अवस्था रहेको टिप्पणी पनि गरेको थियो । यद्यपि, अदालतले अपराधको गम्भीरतालाई ध्यानमा राख्दै कानुनअनुसार सजाय निर्धारण गरेको स्पष्ट पारेको छ । अदालतले भारतीय दण्ड संहिताको धारा ३७६ (२) (एफ) अन्तर्गत १० वर्षको कठोर कारावास र ५ लाख भारतीय रुपैयाँ जरिवाना सुनाएको छ । धारा ३७६ (२) (के) अन्तर्गत १० वर्षको कठोर कारावास र ५ लाख भारतीय रुपैयाँ जरिवाना सजाय दिएको छ ।

त्यस्तै, धारा ३५४ अन्तर्गत १ वर्षको कठोर कारावास र १० हजार रुपैयाँ जरिवाना, धारा ३५४ अन्तर्गत १ वर्षको कठोर कारावास तथा जरिवाना अनि धारा ३५४ बी अन्तर्गत ३ वर्षको कठोर कारावास सुनाएको छ । अदालतले सजाय एकै पटक वा छुट्टाछुट्टै कसरी कार्यान्वयन हुने भन्ने विषय सम्बन्धित कानुनी प्रक्रियाअनुसार तय हुने जनाएको छ ।

यो मुद्दा सन् २०१३ मा सुरु भएको थियो । त्यतिबेला तहलका पत्रिकामा कार्यरत एक कनिष्ठ महिला कर्मचारीले गोवास्थित एक होटलको लिफ्टमा तरुण तेजपालले आफूमाथि यौन उत्पीडन तथा बलात्कार गरेको आरोप लगाएकी थिइन् । घटनापछि यो मुद्दाले भारतभर ठुलो चर्चा पाएको थियो । तरुण तेजपालले सुरुदेखि नै आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । २०२१ को मेमा गोवाको ट्रायल अदालतले प्रमाण पर्याप्त नभएको भन्दै तेजपाललाई सबै आरोपबाट सफाइ दिएको थियो ।

तर गोवा सरकारले उक्त फैसला कानुनअनुसार गलत भएको दाबी गर्दै बम्बई उच्च अदालतमा पुनरावेदन गरेको थियो । लामो सुनुवाइपछि बम्बई उच्च अदालतले ट्रायल अदालतको फैसला उल्टाउँदै तेजपाललाई दोषी ठहर गरेको हो । तर तरुण तेजपालका कानुनी प्रतिनिधिले बम्बई उच्च अदालतको फैसलालाई भारतको सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् । बचाउ पक्षले उच्च अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको जनाएको छ ।