चितवन, कार्तिक ८ ।
मत्स्य तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन चितवनमा बुधबारबाट सुरु भएको छ । नेपाल मत्स्य समाजको आयोजनामा चितवनको भरतपुरमा मत्स्य तथा मत्स्यपालन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन कृषि तथा पशुपन्छि मन्त्री रामनाथ अधिकारीले गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अधिकारीले सम्मेलनले नेपालको मत्स्य क्षेत्रको दिगो विकासको लागि एक कोशेढुङ्गाको रुपमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि जलस्रोतमा तथा जलिय जैविक विविधतामा धनी भएकोले नेपाली समुदायले जीविको पार्जनको माध्यम बनाउनुपर्ने उहांले बताउनु भयो । नेपालको दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपालमा मत्स्य पालनमा विभिन्न चुनौती रहेका जनाउँदै उहांले ‘गुणस्तरीय माछाको उत्पादनमा आग्रह गर्नुभयो । मत्स्यपालनले नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा जम्मा सुन्य दशमलब ४४ प्रतिशत योगदान गरे तापनि यो क्षेत्र यस दशकमा कृषि क्षेत्रको सबैभन्दा तीव्र रूपमा वृद्धि भइरहेको उपक्षेत्र रहेको मन्त्री अधिकारीको भनाइ थियो । हालसालै स्वीकृत राष्ट्रिय मत्स्य विकास नीतिले नेपालमा मत्स्य प्रवद्र्धन तथा संरक्षणको लागि आवश्यक रणनीतिक मार्गचित्र तयार गरेको उहांले बताउनु भयो। ‘स्वस्थ जनता अर्थतन्त्र र वातावरणका लागि निलो क्रान्ति’ भन्ने मुल नाराका साथ तीन दिने सम्मेलन आयोजना गरिएको मुल समारोह समिति संयोजक प्रा.डा. सुनिला राईले जानकारी दिनुभयो । सम्मेलनको मुख्य उद्देश्य शिक्षाविद, वैज्ञानिक, नीति निर्माता, व्यवसायी, विद्यार्थी, कृषक र सम्बन्धित अन्यलाई आफ्ना अनुभव, अनुसन्धानका नतिजा तथा असल अभ्यासहरु आदान प्रदान गर्ने रहेको राईको भनाइ छ ।
यस सम्मेलनबाट साना र मध्यम स्तरका कृषकहरुलाई लक्षित गरी पर्यावरणमैत्री दिगो मत्स्यपालन, मत्स्य स्वास्थ्य, मत्स्य पोषण र मत्स्य प्रजनन र जलचर व्यवस्थापन लगायतका क्षेत्रहरुमा भएका अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गरीने छ । कार्यपत्र भारत, चीन, बंगलादेश, थाइल्याण्ड, हंगेरी, जापन, संयुक्त राज्य अमेरिका, फिलिपन्स, मलेसिया र नेपालका वैज्ञानिकले प्रस्तुत गर्नेछन् । जसमा १ सय ३ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनको अन्तिम दिन सहभागिहरुले अन्नपूर्ण फिस फार्म, बिस हजारी ताल र घडियाल प्रजनन केन्द्रको लागि स्थलगत अध्ययन समेत गर्नेछन् । एक सय २१ मौखिक कार्यपत्र र २२ पोष्टर प्रस्तुतिकरण गरिने राईले जानकारी दिनुभयो ।