चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला
मंसीर ६ भरतपुर। चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. ९ मिलनचोक नजिकै केरुङ्गा नहरको पुलमुनी बोरामा प्याक गरिएको अवस्थामा एक महिला र पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो।‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ । दुबै जनाको हात, खुट्टा बाँधिएका अवस्था भेटिएको डिएसपी पण्डितले जानकारी दिए ।
खोलामा माछा मार्न गएका एक व्यक्तिलाई गन्ध आएपछि ती व्यक्तिले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर गरेको डिएसपी पण्डितले बताए।शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने उनको भनाइ छ । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । शवको सनाखत हुन बाँकी छ ।