News

भदौ १६, काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरू अघि बढाएको बताउनुभएको छ ।

 

शनिबार पार्टी कार्यालय पेरिसडाडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभाम्भ गर्दै प्रचण्डले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाएको बताउनुभएको हो । उहाले एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको धारणा राख्नुभयो । सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको उहाले बताउनुभयो ।

त्यस्तै जनतालाई सहज रुपमा सेवा दिनका लागी पनि सरकारले गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको उहाको भनाइ छ । प्रचण्डले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील रहेको जिकिर गर्नुभयो । बिभिन्न उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने षड्यन्त्रहरू भइरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उहाले बताउनुभयो । सिंगो पार्टी एकढिक्का भएर अगाडि बढे सबै चुनौती सामना गर्न सक्ने र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्ने बताउनुभयो । 

समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ अभियानले सफलता प्राप्त गर्ने उहाले विश्वास व्यक्त गर्नुभयो । उहाले जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा रहेको धारणा राख्नुभयो । तीनमहिनासम्म चल्ने अभियान अन्तर्गतमा माओवादीका नेताहरु जनताको घर–घरमा जाने माओवादीले जनाएको छ ।

भदौ १६, भरतपुर । । चितवन रही सञ्चारकर्म गर्ने गोरखाका पत्रकारले गोरखा चितवन पत्रकार समाज गठन गरेको छ । आज शनिवार पुर्खौली घर गोरखा भई हाल चितवनमा पत्रकारिता कार्यमा संग्लन पत्रकारको भेलाले गोरखा चितवन पत्रकार समाज गठन गरेको हो । भेलाले नविन बाबु मरहठट्टाको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति बनाएको छ । तदर्थ समितिको सदस्यहरुमा शान्ता अधिकारी, रवि भट्ट(रोशी), लक्ष्मी ढकाल, तुलमान गुरुङ, सुनिल पराजुली, सरोज उपरकोटी, सनद अधिकारी र रवि रेग्मी रहेका छन । भेलाले असोज महीनाभित्रमा समाजको वृहद भेला गर्ने निर्णय पनि गरेको छ ।

भदौ, १४, चितवन
परम्परागत सांस्कृतिक पर्व गाईजात्रा बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइएको छ । सो अवसरमा चितवनको नारायणगढ र अन्य क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ । भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ । गाईजात्रा मूलतः नेवार संस्कृतिबाट सुरू भएको हो । यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना टोलटोलमा घुम्ने गर्छन् । उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ । इतिहास अनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गर्नुभएको हो । उहाँले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ । राजा मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ । गाईजात्रामै विभिन्न प्रहसन तथा हास्यव्यंग्यात्मक कार्यक्रम गरेर मनाउने गरिएको छ ।

Subcategories