चितवनका किसानहरूले शुक्रबार दोस्रो चरणको आन्दोलन सुरू गरे
फागुन १२, भरतपुर । राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै चितवनका किसानहरूले शुक्रबार दोस्रो चरणको आन्दोलन सुरू गरेका छन्। किसानका मागहरू सम्बोधन गर्न दबाबका लागि कृषि औजारसहित सडकमा आएर प्रदर्शन गरेका छन् । अघिल्लो आन्दोलन प्रति सरोकार निकायले चासो नदेखाएको भन्दै दोस्रो चरणको आन्दोलन गर्नुपरेको किसान संघर्ष समिति चितवनका संयोजक लेखनाथ भुषालले जानकारी दिनुभयो। केन्द्रीय बस टर्मिनल भरतपुरमा कृषि औजारसहित भेला भएका किसानहरू जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको पुल्चोक पुग्ने भुषालले जानकारी दिनुभयो । चितवनसहित अन्य विभिन्न जिल्लाका किसानहरू सरकारले दिएको किसान परिचयपत्रसहित प्रदर्शनमा आएका छन् । किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएकाले कार्यान्वयनमा दबाब दिन दोस्रो चरणको आन्दोलन गर्नु परेको भुषालको भनाई छ । नेपालमा पर्याप्त उत्पादन हुने तरकारी, फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन किसानले माग गरेका छन्। उनीहरूले किसानले उठाएका दस बुँदे मागहरूलाई नीतिगत रूपमा कार्यान्वयन गर्न दबाब दिँदै आएका छन्। गत माघ २० गते किसानहरूले नारायणगढको पुल्चोकस्थित पूर्व(पश्चिम राजमार्गमा तरकारी फालेर किसान आन्दोलनको घोषणा गरेका थिए। किसान आन्दोलनका अगुवा अरविन्द्र सुवेदीले आगामि दिनमा वार्ता र आन्दोलन सँगसँगै अघि बढाउने बताए। उनले मागको सुनुवाइ नभए देशभरका किसान काठमाडौं पुगेर सिंहदरबार घेर्ने बताए।