News

चितवन, फागुन ७ ।

तनहुँ र नवलपुर (बर्दघाट सुस्ता पूर्व)मा ३८.१६ मेगावाट क्षमताको कालिका कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ । मौलाकालिका हाइड्रोपावर कम्पनी प्रालिले ५ अर्ब ९६ करोडको लगानीमा कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि प्रस्ताव गरेको हो । यो आयोजना तनहुँको देवघाट गाउँपालिकाको वडा नम्बर १, ४ र ५ तथा नवलपुर (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नम्बर ३ मा रहनेछ ।
कालिगण्डकी नदीमा बन्ने आयोजनाको जडित क्षमता ३८.१६ मेगावाट रहने आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजना निर्माण हुने नदीमा मासिक रुपमा औसतमा ४०६ घनमिटर प्रति सेकेण्डको बहाब हुने तथा न्यूनतम मासिक बहाव ९० घनमिटर प्रति सेकेण्ड र अधिकतम मासिक बहाव १३ सय ९४ घनमिटर प्रति सेकेण्ड रहने छ । आयोजनाअन्तर्गत ३ वटा ट्रान्सफर्मरहरु रहनेछन् ।
आयोजनाको प्रसारण लाइन १३२ केभीको सिंगल सर्किट रहनेछ भने यसको लम्बाई १० किमि रहने जनाइएको छ । आयोजनाबाट उत्पादित विद्युत कालिका कालिगण्डकी सब–स्टेशनबाट न्यू भरतपुर सब–स्टेशन, चितवनमा जोडिने छ ।

 

 

७ फागुन, पोखरा ।

 

पोखराको बेगनास पोखरा सडकखण्ड मा माइक्रो बस दुर्घटना भएको छ । करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडानाक प्रहरी चौकी नजिकै शिशुवा खोला खस्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ । बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ । थप विवरण आउन बांकी रहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

चितवन, फागुन ५ ।

आदिवासी लिम्वु याक्थुङ समुदायको प्रतिनिधिमूलक र साझा संस्था किरात याक्थुङ चुम्लुङको २४ औं राष्ट्रिय चुम्लुङ बैठक चितवनको भरतपुरमा हुने भएको छ । यही फागुन ७ र ८ दुई दिन सम्म हुने कार्यक्रममा विविध विषयमा छलफल हुने आज (शुक्रबार) पत्रकार सम्मलेन गरी जानकारी दिएको छ । ७ गते हुने उद्घाटनका दिन कार्यक्रम स्थलमा भेला भएर लिम्बु याक्थुङ आदिवासीहरुको साँस्कृतिक झाँकी सहित बजार परिक्रमा गरी कार्यक्रम स्थलमै उद्घाटन गर्ने कार्यक्रम रहेको किरात याक्थुङ चुम्लुङ चितवनका अध्यक्ष जनक लिम्बुले जानकारी गराउनुभयो । उद्घाटन कार्यक्रम पश्चात बन्दसत्र हुने उहांको भनाई छ। लिम्बुवानका ९ जिल्ला, उपत्याकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका प्रतिनिधी राष्ट्रिय चुम्लुङ बैठकमा सहभागी रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । यसैगरी प्रदेश नं. १ को लिम्बुवान प्रदेश कार्य समिति र बागमती प्रदेशको नेवा–ताम्सालिङ प्रदेश कार्य समिति, ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित् चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु गरी २२८ जना कार्यक्रममा सहभागी हुनेछन् । यसैगरी थप व्यवस्थापक जिल्ला कार्य समिति र अन्य सहभागी समेत रहने छन् । राष्ट्रिय चुम्लुङ बैठकले सांगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्नेछ । यसैगरी मुकुमलुङ संरक्षण, प्रदेश न १ लाई “लिम्बुवान, किरात नामाङ्करणू, लिम्बु र याक्थुङ भाषामा शिक्षक दरबन्दी र प्रदेश नं १ मा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा कार्यन्वयन, ऐतिहासिक स्थलहरुको संरक्षण, अमुर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलहरुको संरक्षण लगायतका एजेण्डाहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुनेछ ।

किरात याक्थुङ चुम्लुङको स्थापना वि. स २०४६ साल भाद्र १७ गते भएको हो । यो आदिवासी लिम्वु याक्थुङ समाजको भाषिक, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायतको क्षेत्रमा विगत लामो समयदेखि कार्यरत रहेकोछ । यस संस्थाले लिम्वु र याक्थुङ आदिवासीहरु माथि भएको अन्याय एवम् सबैखालका विभेद र असमानताको अन्त्यको लागि निरन्तर संघर्ष गर्दै आइरहेको छ ।

 

Subcategories