चितवन असोज ४ ।
चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यका अनुसार कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो ।
विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा अहिले गैँडा छैनन् । आचार्यले शुरुमा यहाँबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने बताउनुभयो । कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ सेनाको पोष्ट रहेको क्षेत्र नजिक गैँडालाई राखिनेछ ।
केही वर्षअघि आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा १३ वटा अर्ना ल्याइएको थियो । तत्कालिन समयमा स्थानीयले चितवनबाट आरक्षमा गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालेको थियो । चितवनमा त्यहाँबाट ल्याइएका र चिडियाखानाबाट ल्याइएका थप दुईसहित १५ वटा अर्ना भने बच्न सकेनन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनुभयो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अनाथ हुन पुगेको अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । तिनीहरुलाई पुष्पा र अञ्जली नामकरण गरिएको थियो ।
अहिले पुष्पा तीन वर्ष नौ महिना र अञ्जली दुई वर्ष तीन महिना उमेरका छन् । ती गैँडा अहिले पनि मानव वस्तीमा आएर दुःख दिने गरेका छन् । तिनै गैँडालाई कोशीमा पठाउन लागिएको पुनले बताउनुभयो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडा पठाउनका लागि सबै तयारी भइसकेको छ । पुरानो खोरलाई पनि मर्मत गरिएको छ । पछिल्लो गणना अनुसार निकुञ्जमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ । तर उक्त गणनामा यी गैँडा समावेश गरिएको छैन । हाल देशभर ७ सय ५२ गैँडा छन् । हाल पठाउन लागिएका गैँडा हुर्किएपछि भाले पठाएर प्रकृतिमा छोड्ने योजना छ ।  रासस