२७ असोज,चितवन । पवित्रा ढकाल । तस्विर : कोमल चन्द्र भगत
गत निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट संघीय चुनाव लडेका डा. भोजराज अधिकारी चितवनको दक्षिणी माडी नगरपालिका–९ को हनुमानझुलामा शनिबार स्वास्थ्य शिविर गरेका छन्। डा. अधिकारीले बाँदरझुलास्थित आधारभूत स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन समेत गरेका छन् । प्रदेश सांसद ठाकुरप्रसाद ढकाल सहित अनुगमनमा पुगेका डा. अधिकारीले आफूले निर्वाचनताका हनुमानझुलावासी माझ गरेको वाचा नबिर्सेको र सोहीअनुसार स्वास्थ्य शिविरसहित आएको बताए । आधारभूत स्वास्थ्य केन्द्रमा ल्याब नभएको हुँदा यहाँ ल्याब स्थापना गर्न र ल्याब सेवा तीन महिना भित्र उपलब्ध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।

जनशक्ति उपलब्ध गराइदिन माडी नगरपालिका र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई पहल गरिदिन आग्रह पनि गरे । यहाँका जनताले एक्सरे सेवा माग गरे पनि ल्याब नभइकन आभारभूत स्वास्थ्यसेवा पूरा नहुने भन्दै उनले ल्याब स्थापनाका लागि तीन महिना भित्र वाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् । तीन महिनाभित्र उक्त आधारभूत स्वास्थ्यकेन्द्रमा ल्याब सेवा सुरु गर्ने र यहाँ प्रसुति सेवालाई थप व्यवस्थित गराउने उनले बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद ठाकुरप्रसाद ढकालले निकुञ्ज ऐनको कारण यहाँ विकासमा बाधा उत्पन्न भएको भन्दै यसको परिमार्जनका लागि आफू र प्रधानमन्त्री प्रचण्ड तदारुकताका साथ लागिपरेको जानकारी गराए । उनले आफूले हनुमानझुलाका बासिन्दाका अप्ठेरालाई ध्यानमा राखेर एम्बुलेन्स सेवा सुरु गरिसकेको र नयाँ भवन आफू पहिला मेयर हुँदा नै निर्माण गरेको जानकारी दिए । यहाँ सेवासुविधा थप गरी र आधारभूत स्वास्थ्यकेन्द्रलाई छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै निकुञ्जको मध्यवर्ती क्षेत्र स्थापना अगाडि नै यहाँ बस्ती भएको हुनाले निकुञ्जले यो ठाउँलाई अतिक्रमित क्षेत्र भन्दा समस्या आएको बताए ।  स्वास्थ्य शिविरमा ५१४ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए ।

सोही सन्दर्भमा अधिकारीले हनुमानझुला आधारभूत विद्यालयलाई खेलकूद सामग्री समेत हस्तान्तरण गरेका छन् । । शिविरमा मधुमेह, प्रेसर, पेट दुख्ने, हाडजोर्नी, ज्वरो लगायतका रोज जांच गरिएको थियो भने भिडियो एक्सरे, इसिजी, दिसा, पिसाव, रगत परिक्षण गरिएको थियो । शिविरमा निशुल्क औसधी वितरण गरिएको थियो । कार्यक्रम राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन जिल्ला समिति चितवनको आयोजनामा भएको स्वास्थ्य शिविरको प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ जिल्ला समन्वय समिति चितवनले समन्वय गरेको थियो ।