News


चितवन, वैशाख १६ । नारायणी तटबन्धनको कार्य प्रगतिबारे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहितको टोलीले निरीक्षण गरेको छ ।
तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कुल कामको ४० दशमलव ९९ प्रतिशत हो ।
वर्षातको समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाउनु भएको हो । आयोजनाका अनुसार अहिले ५ वटा प्याकेजको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम तीब्र रुपमा अघि बढेको छ । निरीक्षणका क्रममा प्रमुख दाहालले तटबन्धनको कार्य प्रगतिकोबारे जानकारी लिनु भएको थियो । तटबन्धनका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठुलो चट्टान) झार्ने कार्य भइरहेको छ । यस्तै गोलाघाट क्षेत्रमा ड्याम बनाउने काम तीब्र रुपमा अघि बढेको छ । निरीक्षण पश्चात संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले समग्रमा कामको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।अहिले अधिकांश विकास निर्माणको काममा ढिला सुस्ती भइरहे पनि तटबन्धनको काम सन्तोषजनक रहेको उहाँको भनाइ थियो ।
पहिलो चरणमा अति जोखिम रहेको २० किमीमा तटबन्धनको काम भइरहेकाले यसपछि प्राथमिकताका आधारमा तटबन्धको काम अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो । तटिय क्षेत्रमा बसोबास गर्ने जनतालाई धेरै नै जोखिम भएकाले नारायणी नदी व्यवस्थापन आयोजनाको सहकार्यमा डिपिआर निर्माण गरेको उल्लेख गर्नुभयो । तटबन्धनको कार्यले जनताका जग्गाहरु सुरक्षित हुँदै गएको छ भने नदी उकासबाट निस्किएका जग्गालाई महानगरले संरक्षण गर्ने प्रमुख दाहालले बताउनुभयो । तटबन्धको कार्यले निरन्तरता दिदै गएपछि भरतपुरका लागि ठुलो उपलब्धी हुने उहाँको भनाइ थियो । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मनोहर साहका अनुसार चितवनतर्फ ४० दशमलव ९९ र नवलपरासी तर्फ १९ दशमलव ०३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तटबन्ध निर्माणमा आवश्यक पर्ने जग्गा प्राप्तीको लागि मुआब्जाको प्रावधान नरहेको कारण निशुल्क जग्गा प्राप्तीमा बाधा हुने गरेको प्रमुख साहले बताउनुभयो । गुरुयोजना अनुसार बजेट विनियोजन नहुदाँ लक्ष्य समय सीमाभित्र आयोजना सम्पन्न गर्न नकिनेको उल्लेख गर्नुभयो।
तटबन्धको रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । यसको काम ४० प्रतिशत काम पुरा भएको निर्माण कम्पनीले जनाएको छ । ।दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ । यो काम अहिले अन्तिम चरणमा पुगेको छ । सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । यो काम पनि ४० प्रतिशत भइसकेको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ । करिब ४ हजार हेक्टर जग्गा नारायणी नदी उकासबाट आउने छ भने करिब १ लाख जनता लाभान्वित हुनेछन् ।

बैशाख १५, भरतपुर । जलदेवी सामुदायिक वन परिसरबाट अवैध भनि जफत गरिएको सालका काठ वैध ठहर भएको छ । जलदेवी सामुदायिक वन उपभोक्ता समुह भरतपुर २ आँपटारी चितवनको जलदेवी पार्क अन्तर्गत विस्तारित टिकटक पार्कमा पर्यटकहरुलाई आर्कषण गर्न ऐतिहासिक तथा लोपोन्मुख सामाग्रीहरु सालको काठवाट वनाउन भनि राखिएको ४३ थान अर्थात् ४८.०८ क्युफिट चिरान काठ अवैध भनी तत्कालिन समयमा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको नेतृत्वमा जफत गरी वन कार्यालयमा वुझाइएको थियो । २०७९ मंसिर २३ गते अनुसन्धानको क्रममा डिभिजन वन कार्यलय भरतपुर चितवनमा लगी राखिएको थियो ।
अनुसन्धान पश्चातः अवैध नठहरिएको फैसला भई सरकारी वकिल कार्यलय भरतपुरवाट २०७९ पुस १७ गतेको फैसलाको जानकारी पत्र प्राप्त भई डिभिजन वन कार्यालयमा सो पत्र दर्ता भए पश्चातः डिभिजन वन कार्यलयको २०८१ वैशाख १३ गतेको पत्र बाट चिरान काट फिर्ता गरिएको वारे जानकारी पत्र आएको उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष ऋषिकेश अर्यालले बताए । सामुदायिक वनको उपभोक्ताहरुको सम्पती जलदेवी सामुदायिक वन उपभोक्ता समुह लाई नै फिर्ता भई आएको उक्त चिरान काठ हाल सामुदायिक वनको जिपलाईनको टिकट घर भित्रसुरक्षित साथ यथा स्थानमा नै राखिएको उनको भनाइ छ । उक्त काठ सामुदायिक वन प्रदेश महासंघ सदस्य, सामुदायिक वन उपभोक्ता महासंघ चितवन नेपालको अध्यक्ष लगाएत सदस्यहरु, छिमेकि सामुदायिक वनका अध्यक्ष तथा कार्यसमिति सदस्यहरु, समूहको पदाधिकारिहरु, कार्यसमितिका सदस्यहरु, र उपभोक्ता सदस्यहरुको उपस्थितिमा ल्याइएको हो ।

बैशाख १५, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । चितवनको रत्ननगरमा बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ गते उद्यमीहरुलाई जिल्लाको आर्थिक विकासका लागि जोड्ने गरी रत्नविज समिट कार्यक्रम गर्दैछ । आयोजकले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको आर्थिक विकासको लागि रत्नविज समिटलाई अर्थपूर्ण बनाउने जनाएको छ । कार्यक्रममा चार जना उद्यमीहरुको सफलताको कथा सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जिल्लाको आर्थिक विकासका सम्भावनाबारे तथ्यपरक प्रस्तुती गर्नेछन् ।

कार्यक्रममा थोरै लगानी गरेर व्यवसायमा सफलता हासिल गरेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फूडर्सका सञ्चालकपुरुषोत्तम रिजाल, आवर क्जेटका सञ्चालक तथा महिला उद्यमी डा।सन्ध्या कँडेल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेलको सफलताको कथा प्रस्तुत गरिने रत्नविज समिटका संयोजक तथा जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी दिए ।सोही कार्यक्रममा पूर्व मिसनेपाल सुगारिक केसीले उद्यमशिलतामा नवितम सोच, प्रसिडेन्सी कलेजबाट विजनेश मोडल क्यानभास सम्बन्धी प्रस्तुती हुनेछ । रत्ननगर जेसीजको रजत जयन्तीको अबसर पारेर सुरु गरिएको रत्नविज समिट प्रत्येक बर्ष आयोजना गर्ने गरी पहिलो संस्करणको रुपमा २२ गते गर्न लागेको रिजालले जानकारी दिए । सप्ताह अन्तर्गत बैशाख १९ गते पूर्वी चितवनका पत्रकार र रत्ननगर जेसीज बीच मैत्रीपूर्ण फुटबल, २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते बृक्षारोपण, २४ गते लागु औषधि दुव्यसनी सम्बन्धी सचेतना, २५ गते अन्तर मावि बक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने सप्ताहका संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए । रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजिगर्दै सामाजिक काम गरेर मनाउन थालिएको बताए । समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको उनको भनाई छ । पत्रकार सम्मेलन रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।

 

Subcategories