News

बैशाख १५, रत्ननगर । तस्विर कोमल चन्द्र भगत । चितवनको रत्ननगरमा बैशाख १९ गतेबाट सुरु हुने जेसीज सप्ताहमा जिल्लाको आर्थिक विकासको सम्भावनाको खोजी गरिने भएको छ । रत्ननगर जेसीजले तय गरेको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २२ गते उद्यमीहरुलाई जिल्लाको आर्थिक विकासका लागि जोड्ने गरी रत्नविज समिट कार्यक्रम गर्दैछ । आयोजकले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको आर्थिक विकासको लागि रत्नविज समिटलाई अर्थपूर्ण बनाउने जनाएको छ । कार्यक्रममा चार जना उद्यमीहरुको सफलताको कथा सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जिल्लाको आर्थिक विकासका सम्भावनाबारे तथ्यपरक प्रस्तुती गर्नेछन् ।

कार्यक्रममा थोरै लगानी गरेर व्यवसायमा सफलता हासिल गरेका चन्दन चटपटका सञ्चालक चन्दन गुप्ता, रिजाल फूडर्सका सञ्चालकपुरुषोत्तम रिजाल, आवर क्जेटका सञ्चालक तथा महिला उद्यमी डा।सन्ध्या कँडेल, मेरो किनमेलका सञ्चालक सन्तोष कँडेलको सफलताको कथा प्रस्तुत गरिने रत्नविज समिटका संयोजक तथा जेसीजका उपाध्यक्ष शौरभ रिजालले जानकारी दिए ।सोही कार्यक्रममा पूर्व मिसनेपाल सुगारिक केसीले उद्यमशिलतामा नवितम सोच, प्रसिडेन्सी कलेजबाट विजनेश मोडल क्यानभास सम्बन्धी प्रस्तुती हुनेछ । रत्ननगर जेसीजको रजत जयन्तीको अबसर पारेर सुरु गरिएको रत्नविज समिट प्रत्येक बर्ष आयोजना गर्ने गरी पहिलो संस्करणको रुपमा २२ गते गर्न लागेको रिजालले जानकारी दिए । सप्ताह अन्तर्गत बैशाख १९ गते पूर्वी चितवनका पत्रकार र रत्ननगर जेसीज बीच मैत्रीपूर्ण फुटबल, २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते बृक्षारोपण, २४ गते लागु औषधि दुव्यसनी सम्बन्धी सचेतना, २५ गते अन्तर मावि बक्तृत्वकला र सोही दिन जेसीज सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने सप्ताहका संयोजक रामप्रसाद पाण्डेले जानकारी दिए । रत्ननगर जेसीजका अध्यक्ष नरहरी पुरीले जेसीज सप्ताह जिल्लाको आर्थिक विकासको खोजिगर्दै सामाजिक काम गरेर मनाउन थालिएको बताए । समाजले युवाहरुको भूमिका खोजिरहेको बेला युवाहरुलाई समाजमा जोड्ने गरी कार्यक्रम तय गरिएको उनको भनाई छ । पत्रकार सम्मेलन रत्ननगर जेसीजका महासचिव सुरेशजंग पाण्डेले सञ्चालन गरेका थिए ।

 


बैशाख १५, चितवन । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिनुभयो । अभियानकै क्रममा शनिबार पनि भरतपुर महानगरपालिका–२२ का परिवारलाई बाख्रा र हाँस वितरण गरिएको छ । १९ जना कृषकलाई ५० वटा दरले हाँस र २० जनालाई २ वटाका दरले बाख्रा र २ बोका वितरण गरिएको हो । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताइन्। यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिनेछ, १७ समूहलाई रु दुई लाखका दरले वितरण गरिनेछ, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताउनुभयो। बाख्रा र हाँस पाएपछि कृषकहरु खुसी भएको सञ्चारकर्मीलाई बताए । नव महिला कृषक समूहका अध्यक्ष कष्ण कुमारी महतोले हाँस बेचेर छोरा छोरीको पढाईमा खर्च गर्ने बताउनुभयो । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास गर्नुभयो ।गतसाल जेठमा समेत यहाँकै १५ परिवारलाई बाख्रा वितरण गरिएको थियो।


चितवन, वैशाख १५ । लागू औषधको ट्रान्जिट प्वाइको रुपमा रहेको चितवनलाई निष्तेज पार्ने अभियान सुरु भएको छ । जिल्लामा सबैभन्दा धेरै लागू औषधको प्रयोगकर्ताको रुपमा युवा समूहहरु समावेश भएको तथ्याङ्क वृद्धि भएसँगै चितवन प्रशासनको नेतृत्वमा ३ महिने महाअभियान सुरु भएको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ३ महिने महाअभियानको उद्घाटनसँगै कार्ययोजना पुस्तिका सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा बोल्दै महानगर प्रमुख दाहालले सभ्य, सुन्दर सुसंस्कृत महानगर निर्माणमा विकास निर्माणसँगै लागू औषध नियन्त्रण गर्नु स्थानीय सरकारको दायित्व रहेको बताउनुभयो । उहाँले सडक मानवमुक्त पहिलो महानगर जस्तै लागू औषध नियन्त्रणमा पनि देशको उदाहरणीय काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अभियानमा महानगरपालिकाको तर्फबाट आवश्यक साथ सहयोग र सहकार्य हुने प्रमुख दाहालले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विकृति विसंगति रहित समाजको निर्माण, युवा वर्गलाई लागुऔषधको दलदलबाट बाहिर ल्याई लागुऔषध मुक्त समाजको निर्माण गर्नका लागि अभियान प्रभावकारी हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो ।
जिल्लाका ७ वटै स्थानीय सरकारले ३ महिने अभियानका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको छ ।
पछिल्ला वर्षहरुमा लागू औषध ओसार पसार, कारोबार एवम् सेवनका घटन बढ्दै गएपछि जिल्लामा नै पहिलो पटक ७ वटै पालिकालाई लक्ष्ति गरी लागू औषध विरुद्धको महाअभियान सुरु गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
चितवन अदृश्य तवरले लागुऔषधको ट्रान्जिट पोईन्ट देखियो सिडियो थापाले भन्नुभयो, चितवनकै सात वटै स्थानिय तहको टाल टोल, वडा वडा र सबै बस्तीहरूमा सरोकारवालासँग समन्वय गरेर थप सचेतनामूलक कार्यक्रम हुनेछ ।’
महाअभियान अन्तर्गत लागूऔषध प्रयोग, कारोबार र ओसारपसार गर्ने ठूलासाना अपराधीहरु भकाभक पक्राउ गर्ने उहाँले बताउनुभयो
लागुऔषध जरैदेखि निर्मूल पार्नका लागि चितवन प्रशासन आफै एक्सनमा उत्रिन लागेको यो पहिलो कार्यक्रम हो ।
कार्यक्रममा सिडियो थापाले लागुऔषधको कारोबारीलाई शुन्य सहनशीलताको नीति अपनाई कारबाही गर्ने र लागुऔषधको सेवनकर्तालाई परिवारमा पुर्नस्थापना समत गर्न यो अभियानले ठोस योगदान पुग्ने
विश्वास व्यक्त गर्नुएको थियो ।
भावी दिनमा लागुऔषधको थप भयाभह अवस्थाबाट जोगिन हामीले समयमै महाअभियान सुरु गर्न लागेका हौँ,’ सिडियो थापाले भन्नुभयो, ‘लागुऔषध नियन्त्रण एक निकायबाट मात्रै सम्भव नहुने भएकाले समाजका सबै सरोकारवालको प्रभावकारी समन्वयबाट मात्र नियन्त्रण गर्न सम्भव विषय भएकाले हामीले महाअभियान सुरु गरेका हौँ ।’ कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सहायक प्रजिअ चिरञ्जीवि शर्माले अभियानलाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
विकृतिजन्य क्रियाकलाप नगर्न र अपराधमुक्त समाज निर्माणका लागि अग्रसर हुन चितवन प्रहरी प्रमुख ९एसपी० भावेश रिमालले अपिल गर्नुभयो ।
‘लागुऔषध नियन्त्रणका लागि अभियानकै रुपमा प्रहरी पनि नयाँ ढैगले परिचालन हुन्छ’ चितवन प्रहरी प्रमुख ९एसपी० भावेश रिमालले भन्नुभयो, ‘सडक सुरक्षा र लागुऔषध नियन्त्रण गर्ने गरी अभियान हुनेछ ।
पछिल्लो ३ वर्षको तथ्याङ्क अनुसार जिल्लामा १८ देखि २५ वर्ष उमेरका सबैभन्दा बढी लागू औषध प्रयोगकर्ता रहेको देखिएको छ । त्यस्तै २६ देखि ३५ वर्ष उमेरका ३५ प्रतिशत रहेका छन् । यसमध्ये सबैभन्दा बढी ६० प्रतिशत ज्याला मजदुरी गर्ने लागूऔषध सेवनकर्ता रहेका छन् । जिल्लामा लागू औषध दुव्र्यवसनीहरुको संख्या प्रत्येक बढ्दो क्रममा रहेको छ ।

Subcategories