फागुन २५, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा पहिलो पटक सल्यक्रिया गरी हात्तीको सुत्केरी गराइएको छ । खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीलाई व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि सल्यक्रिया गरी निकालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो। उनीहरूले हात्तीलाई सुत्केरी गराउन केही प्रयासहरू गरे। तर सामान्य रूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन। बरू माउ र बच्चाकै ज्यान जानसक्ने खतरा देखियो। डाक्टर श्रेष्ठ नेतृत्वको टोलीले बुधबार गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो।
गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हो। उसको यो दोस्रो बेतको बच्चा हो। यो चितवन निकुञ्जमा रहेको जंगली हात्ती ध्रुवेसँगको संसर्गबाट जन्मिएको हो। गण्डकीकलीको तीन वर्षअघि पहिलो पटक जन्मिएको बच्चा मरेको थियो।

डाक्टर श्रेष्ठका अनुसार त्यतिखेर गण्डकीकलीको बच्चाका पछाडिका दुईवटा खुट्टा योनीबाट निस्किएका थिए। तर पुरै बच्चा निस्कन सकेन। ‘हामीले ३० जनाजति मान्छे लगाएर बच्चा तानेका थियौं तर बच्चालाई बचाउन सकिएन,’ उनले भने, ‘तर यसपालि त खुट्टा पनि बाहिर निस्किएन। पेटभित्र उल्टो अवस्थामा बसेको रहेछ।’ चिकित्सकहरूले करिब दुई घन्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकालेका थिए। सुरूमा छावाले कुनै हलचल गरेन। उसको मुटुको धड्कन शून्य थियो। हामीले उसलाई कृतिम श्वास दियौं। फोक्सोमा दबाब पुर्‍यायौं। करिब ३ मिनेटमा छावा निद्राबाट ब्युँझिएझैं भयो। श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैं उठेर हिँडडुल गर्न थालेको छ। छावालाई अहिले पाउडर दूध खुवाइएको छ। शल्यक्रियामा डाक्टर श्रेष्ठ, हात्ती प्रजनन् केन्द्र खोरसोरका नासु मनिपुरन चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डाक्टर अमिर षडौला, डाक्टर विकल्प कार्की, वन्यजन्तु प्राविधिक किरण रिजाल, क्यानडाका पशु चिकित्सक डाक्टर निक मास्टरलगायत सहभागी थिए।

फागुन १४, रत्ननगर । 
पूर्वी चितवनको रत्ननगरमा रहेको गामबेसीँको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको छ । नारायणगढ निवासी स्वर्गीय रुकमणि प्रधानको पुण्यतिथिमा संरक्षण केन्द्रमा आश्रित वालवालिकाको लागि खाद्यान्न तथा स्टेशनरी सहयोग गरिएको हो । प्रधानका श्रीमान केएल भूषण प्रधान, जेठा छोरा गगन प्रधान, चितवन उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा कान्छा छोरा सहन प्रधान, छोरीहरु शशी श्रेष्ठ , डा।सन्जु लाल, वर्षा प्रधान, नाति प्रियनलाल केन्द्रमा पुगेर खाद्यान्न तथा स्टेशनरी हस्तान्तरण गरेका थिए । संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले आर्थिक मन्दीको प्रभाब संरक्षण केन्द्रमा परेको भन्दै सहयोग गर्न दाँताहरुलाई आग्रह गरेका छन् ।

मंसीर २६, चितवन।

सविना लामिछाने ।

भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ ।
भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो ।
आईतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिवद्धता जनाएको भरतपुर महानगरपालिकाका ईन्जिनियर सारकार लामाले जानकारी दिनुुभयो ।
धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब ५सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा सहिद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ । यो सडक निर्माण गर्न भरतपुर महागनरपालिकाले निर्माण कम्पनीलाई बरम्बार ताकेता गरेपनि विभिन्न बाहना बनाएर काम गरेको थिएन ।
यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथ अन्तर्गत महेन्द्रचोक–रिमाल चोक सडक खण्डको अस्फाल्ट कार्य १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ ।
त्यस्तै निर्माणधिन पार्वतीपुर बजार सडक खण्डको बाँकी निर्माण कार्य १ महिनाभित्र सम्पन्न गर्ने गरी अगाडि बढाउने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको प्रत्यक्ष सरोकारको विषयमा स्थानीय सरकारको हैसियतले महानगरको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाकले यहाँ निर्माणधिन विकासको आयोजना समयमै सम्पन्न गराउन निर्माण व्यवसायीलाई पटक पटक आह्वान गरी सहजीकरण गरेको बताउनुभयो । अब कुनै पनि आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरे नियमानुसार कारबाही प्रकृया अगाडि बढाउने उहाँको भनाई छ ।
माडी ठोरी हुलाकी सडक खण्ड अन्तरगतको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, हुलाकी आयोजना प्रमुख धमेन्द्र झा, सडक डिभिजन भरतपुरका प्रमुख रमेश प्रसाद पौडेलेको संयुक्त बैठकले निर्माण कम्पनी रमण शिवशक्ति जेभीलाई किछटो काम पुरा गर्न अल्टिमेटम दिएको छ ।
यसै प्याकेज अन्तर्गतका सम्पुर्ण सडक खण्डको बाँकी निर्माण कार्य तोकिएको समयभित्रै एवं यस अघि महानगरको बैठकमा भएको छलफल अनुसार काम गर्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीले प्रतिवद्धता जनाएको ईन्जिनियर लामाले जानकारी दिनुभयो ।

चितवन, १८ 

पुस  चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा आज एक कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ ।

नगरप्रमुख विनोद रेग्मी र महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाले पत्रकार सामुहिक दुर्घटना बीमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेर आज महासंघसँग सम्झौता गरेको हो । आगामी दिनहरुमा बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी कार्यविधि बनाएर व्यवस्थित गरिएको नगरप्रमुख रेग्मीले जानकारी दिए ।
कार्यविधिमा बीमाका लागि नगरप्रमुख संयोजक रहने गरी समिति निर्माण गरिएको छ । महासंघका अध्यक्ष समेत समितिमा रहने गरि कार्यविधि बनाइएको नगरप्रमुख रेग्मीले बताए । आज सम्झौता भएसँगै पत्रकारहरुको बीमा प्रकृया अघि बढ्ने र केही दिन भित्रै महासंघका सदस्यहरुको बीमा हुने रेग्मीले बताए । उनले भने, ‘यसबाट पत्रकार र पत्रकारका परिवार लाभान्वित हुने छन् ।’
कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहेको भन्दै नगरप्रमुख रेग्मीले भइपरि आउने दुर्घटनाबाट राहतका लागि बीमा कार्यक्रम गर्न लागिएको बताए । कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्षमा पत्रकारको रु सात लाखको दुर्घटना बीमा गराएको थियो । अघिल्लो वर्ष रु ३ लाखको दुर्घटना बीमा गरिएको थियो ।
नगरपालिकाले कार्यविधि नै बनाएर आगामी दिनमा पत्रकारहरुको रु १० लाखको दुर्घटना बीमा गर्न लागेको हो । यो बीमा अन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको पत्रकारको परिवारलाई रु १० लाख र घाइते हुने पत्रकारको उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बीमा गरिनेछ ।
नगरपालिकाका उपप्रमुख विमला तामाङले नगरपालिका र महासंघका बीचमा संस्थागत रुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताइन् । महासंघका अध्यक्ष अधिकारीले हाल महासंघमा २७६ पत्रकार रहेकोमा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर बाँकी सबैको बीमा गरिने बताए । संस्थागत रुपमा नगरपालिकासँग सम्झौता गर्न पाएकोमा खुसी प्रकट गर्दै अध्यक्ष अधिकारीले यसबाट पत्रकार र परिवार लाभान्वित हुने बताए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडा, तिलकराम रिमाल, महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्य, नगरपालिकाका वडाध्यक्षहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

पौष १७, भरतपुर ।

नेपाल कुखुरा व्यवसायी मञ्च र बागमती प्रदेशको कृषि तथा पक्षी विकास मन्त्रालयको संयुक्त आयोजनामा १० औं राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइएको छ । कार्यक्रममा मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले अर्थतन्त्रमा पोल्ट्री क्षेत्रको योगदान चारदेखि पाँच प्रतिशत रहेको बताए ।
आर्थिक वर्ष २०७७÷०७८को तथ्यांक अनुसार कृषिजन्य कूल ग्राहस्थ उत्पादनमा पोल्ट्रीले आठ प्रतिशत ओगटेको शर्माले बताए । अर्थतन्त्रमा बलियो योगदान दिने पोल्ट्री क्षेत्रबाट वार्षिक मासु उत्पादनमा ४३ प्रतिशत क्षेत्र ओगटेको जानकारी दिए । नेपालमा कूल पाँच लाख २० हजार सात सय ४२ मेट्रिकटन मासु उत्पादन हुने गरेकामा पोल्ट्री क्षेत्र (कुखुरा र हाँस) ले दुई लाख २७ हजार चार सय एक मेट्रिकटन मासु उत्पादन गरेको तथ्यांक कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा फिजिसिन डा. भोजराज अधिकारीले मानव स्वास्थ्यका लागि मासु र अण्डाको महत्वबारे प्रकाश पारेका थिए।

डा. अधिकारीले मानव स्वास्थ्यका लागि आवश्यक सम्पूर्ण तत्व अण्डा र कुखुराको मासुमा हुने बताउंदै बिहान खाजाका रुपमा अण्डाको प्रयोग प्रत्येक दिन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताए । उद्योग सङ्घका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले कार्यपत्र प्रस्तुत गर्दै राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण आर्थिक क्षेत्र चलायमान बन्न नसक्दा चालु पुँजी कर्जा मार्गदर्शन कार्यान्वयनमा ल्याउन खोज्दा व्यवसायी मर्कामा परेको बताएका थिए । नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बैंकहरुका कारण व्यवसायी पलायन हुन थालेको बताए ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन प्रा डा होमबहादुर बस्नेत, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, ह्याचरी उद्योग सङ्घका अध्यक्ष ऋषिराम पौडेल, नेपाल दाना उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष शङ्कर कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने लगायतले पोल्ट्री व्यवसायको समस्या समाधानमा जोड दिएका थिए।