चितवन,१७ मंसिर।

पर्यटकिय नगरी चितवनको सौराहामा यहि मंसीर २२ र २३ गते दोस्रो नेपाल गोही संरक्षण मेला २०८० को आयोजना हुने भएको छ । गोही तथा नदी प्रणालीको सुरक्षाका लागि समुदायको एक्यबद्धता भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएका केयर फर नेचर की संयोजक रञ्जना भट्टले पत्रकार सम्मेलनमा जानकारी दिइन् । यस संस्थाले यस अघि पश्चिम चितवनको मेघौलमा प्रथम गोही संरक्षण मेला सम्पन्न गरि सकेको छ । संसार भर पाइने बिभिन्न गोहीका प्रजातीहरु मध्ये नेपालमा पाइने घडियाल र मगर गोही विभिन्न संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्र वरपरका नदी, ताल तथा सिमसार क्षेत्रमा पाइने हुंदा यीनीहरुको संरक्षण गर्न सहयोग पुगोस भन्ने हेतुले गोही संरक्षण मेला गर्न लागिएको संयोजक भट्टको भनाइ छ ।

गोही मेलामा घडियाल र मगर गोही संरक्षणका लागि नदीमा आश्रित समुदायहरु, बिद्यालयका विद्यार्थी, स्थानीय पर्यटन व्यवसायी, नेचर गाइड, मध्यवर्ती सामुदायिक वन, चोरी शिकारी नियन्त्रण युवा अभियान, संरक्षणप्रेमी व्यक्तित्व, स्थानीय समुदायहरुको संयुक्त सहभागितामा आयोजना हुनेछ । फरक प्रकृतिको यस मेला गोही प्रजातीका सूचनामुलक श्रव्य द्रिष्य सामग्री, पोस्टर, चित्रकला तथा सूचना केन्द्रको अवलोकन गर्न सकिने छ । साथै स्थानीय कला, संस्कृति, खानाका परिकार लगायतका स्टलहरु हुनेछ । मेलाको अवधिभर संरक्षण सम्बन्धि नाटक, गित, नृत्य तथा पेंटिंग कार्यक्रमहरु  हुनेछन् भने बिद्यालयका बिद्यार्थीहरुका लागि, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका अन्तर्गतका ८ बिद्यालयहरुमा संरक्षण शिक्षा कार्यक्रम संचालन हुनेछ । कार्यक्रमलाई सहजीकरण र संचालनका लागि गोहीका बिषयमा अनुसन्धान गरेका अन्तरराष्ट्रिय बिज्ञहरु सहित राष्ट्रिय स्तरका अनुसन्धानकर्ता, बिज्ञ तथा विश्वविद्यालयका बिद्यार्थीहरुको उपस्थिति रहने छ ।

    चितवन राष्ट्रिय निकुन्ज र यसको वरपरका नदि तथा सिमसार क्षेत्रमा यसको राम्रो बासस्थान भएता पनि विभिन्न चुनौती र समस्याका कारण यिनीहरुको संख्या क्रमिक रुपमा घटिरहेको तथ्य विभिन्न अनुसन्धानले देखाएको छ र हाल घडियाल गोही ूअति संकटापन्न प्रजाती र मगर गोही जोखिम अवस्थामा सुचिकृत रहेको छ । नेपाल सरकार, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैह्र सरकारी संस्था र स्थानीय समुदायको सक्रियताका बावजुत पनि यी प्रजातीहरुको प्राकृतिक बासस्थान र संख्या घट्दै जानु संरक्षणका लागि गम्भिर चुनौती बन्दै गइरहेको सन्दर्भमा गोही प्रजातीहरुको प्रभावकारी संरक्षण, स्थानिय समुदायको थप सहभागिता, वैज्ञानिक सूचना र जानकारी, समग्रमा गोही प्रजातीको दिगो संरक्षण रणनीति तयार र नयाँ पिंढीमा संरक्षण संस्कृतिको विकास गर्नु अत्यन्त आवश्यकिय विषय रहेको छ । मेला दुइ दिन सम्म चल्ने छ ।