फागुन २५, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा पहिलो पटक सल्यक्रिया गरी हात्तीको सुत्केरी गराइएको छ । खोरसोरमा रहेकी २५ वर्षे गण्डकीकलीलाई व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि सल्यक्रिया गरी निकालिएको हो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ वन्यजन्तु चिकित्सक डाक्टर विजयकुमार श्रेष्ठका अनुसार गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो। उनीहरूले हात्तीलाई सुत्केरी गराउन केही प्रयासहरू गरे। तर सामान्य रूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन। बरू माउ र बच्चाकै ज्यान जानसक्ने खतरा देखियो। डाक्टर श्रेष्ठ नेतृत्वको टोलीले बुधबार गण्डकीकलीको पछाडिको भाग करिब एक फिट चिरेर पेटभित्रको बच्चा निकालेको थियो।
गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षीया प्रेरणाकलीकी छोरी हो। उसको यो दोस्रो बेतको बच्चा हो। यो चितवन निकुञ्जमा रहेको जंगली हात्ती ध्रुवेसँगको संसर्गबाट जन्मिएको हो। गण्डकीकलीको तीन वर्षअघि पहिलो पटक जन्मिएको बच्चा मरेको थियो।

डाक्टर श्रेष्ठका अनुसार त्यतिखेर गण्डकीकलीको बच्चाका पछाडिका दुईवटा खुट्टा योनीबाट निस्किएका थिए। तर पुरै बच्चा निस्कन सकेन। ‘हामीले ३० जनाजति मान्छे लगाएर बच्चा तानेका थियौं तर बच्चालाई बचाउन सकिएन,’ उनले भने, ‘तर यसपालि त खुट्टा पनि बाहिर निस्किएन। पेटभित्र उल्टो अवस्थामा बसेको रहेछ।’ चिकित्सकहरूले करिब दुई घन्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकालेका थिए। सुरूमा छावाले कुनै हलचल गरेन। उसको मुटुको धड्कन शून्य थियो। हामीले उसलाई कृतिम श्वास दियौं। फोक्सोमा दबाब पुर्‍यायौं। करिब ३ मिनेटमा छावा निद्राबाट ब्युँझिएझैं भयो। श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैं उठेर हिँडडुल गर्न थालेको छ। छावालाई अहिले पाउडर दूध खुवाइएको छ। शल्यक्रियामा डाक्टर श्रेष्ठ, हात्ती प्रजनन् केन्द्र खोरसोरका नासु मनिपुरन चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका वन्यजन्तु चिकित्सक डाक्टर अमिर षडौला, डाक्टर विकल्प कार्की, वन्यजन्तु प्राविधिक किरण रिजाल, क्यानडाका पशु चिकित्सक डाक्टर निक मास्टरलगायत सहभागी थिए।