News

१ वैशाख, रत्ननगर । तस्विर : कोमल चन्द्र भगत । चितवनमा शनिबार देखि २९औं वन्यजन्तु सप्ताह सुरु भएको छ । संरक्षणकर्मीलहरुले नयां वर्षको दिन विधिवत् रुपमा उद्घाटन गरेका छन् । हरेक नयाँ बर्षको पहिलो साता वन र वन्यजन्तु संरक्षणमा दीर्घकालिन प्रभाव पार्ने कार्यक्रम गरी वन्यजन्तु दिवस मनाउदै आएका छन् ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिको अगुवाइमा सौराहामा सप्ताहको २९औं संस्करणको विधिबत उद्घाटन गरिएको छ । यस बर्षको वन्यजन्तु सप्ताहको नारा वन्यजन्तुको संरक्षण ः पर्यापर्यटन र आयआर्जन रहेको छ । मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मध्यवर्तीका जनतामा जीविकोपार्जनको आधार तयार नगर्दा सम्म उनीहरुलाई संरक्षणमा क्रियाशिल बनाउन उत्तिकै चुनौती रहेको बताउनुभयो। मध्यवर्तीको अबधारण अनुसार आयआर्जन र जीविकोपार्जनका गतिविधि प्रभावकारी नभएपछि मध्यवर्ती उपभोक्ता समितिले गर्ने काम समेत ओझेलमा पर्ने गरेको अध्यक्ष घिमिरेले बताउनुभयो । अहिले वन्यजन्तु संरक्षणको सम्भावना र चुनौतीको विषय स्थिर अबस्थामा रहेको छ । यस पटकको सप्ताहमा दीगो संरक्षणका लागि पर्यटन मार्फत जीविकोपार्जनको आधार तयार गर्ने गरी योजना बनाइएको अध्यक्ष घिमिरेको भनाई छ । कृषिलाई संस्कृतिसंग र संस्कृतिलाई पर्यटनसंग जोडेर समुदायको जीविकोपार्जनमा सघाउदै काम गरेको घिमिरेले बताउनु भयो । त्यस्तै कृषि, संस्कृति र सीप विकासलाई संगसंगै अगाडि उहांको भनाइ छ ।

अध्यक्ष घिमिरेले थारु महिलाहरुलाई उनीहरुको नृत्य प्रशिक्षण र टिकौलीका महिलाहरुलाई पन्चेबाजा तालिम दिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं ५ का वडाध्यक्ष वालकृष्ण चापागाईँले दीगो संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्तीसंग सहकार्य गर्न स्थानीय सरकार हरदम तयार रहेको बताउनुभयो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत बैशाख २ गते टिकौली सडक वरपर सरसफाई, ३ गते चरा अबलोकन, ४ गते वन्यजन्तु संरक्षण मुलक विद्यालय स्तरीय चित्रकला प्रतियोगिता, सोही दिन वन्यजन्तु र मानिस बीचको सहअस्थित्व सम्बन्धी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, ५ गते डुंगा सयर, ६ गते वन,वन्यजन्तु र बाताबरण संरक्षणमुलक सचेतना रयाली गरिने छ । सप्ताहको अन्तिम दिन बैशाख ७ गते वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयक अन्तक्र्रिया र संरक्षणमा योगदान दिएकाहरुलाई विभिन्न विधामा सम्मान गरिने मृगकुञ्जका अध्यक्ष घिमिरेले बताउनुभयो।

मृगकुञ्जको अगुवाईमा निकुञ्ज, स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसंग सम्बन्धित संघसंस्था गरी २६ वटा संघसंस्थाको सहकार्यमा सप्ताह सुरु भएको बाघमारा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर तामाङले बताउनुभयो। उद्घाटन कार्यक्रममा वडा नं ७ का कार्यबहाक वडाध्यक्ष सुर्यबहादुर तामाङ, चितवन राष्ट्रिय निकुञ्जका रेज्नर अक्षय चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.मधु केसी, वर्ड एजुकेशन सोसाइटीका अध्यक्ष टीका गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।

१ वैशाख, चितवन । चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं ८ गैँडाको आक्रमणबाट एक जना नेचर गाइडको मृत्यु भएको छ ।

रत्ननगर–८ स्थित रहेको एक जंगलमा गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर–६ सौराहाको जंगल वर्ड रिसोर्टमा नेचर गाइडको काम गर्ने ३३ वर्षीय सुवास रेग्मीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार दिउँसो करिब ११ः५० बजेको समयमा गैँडाले एक्कासी आक्रमण गर्दा रेग्मी गम्भीर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

 

१ वैशाख, चितवन । तस्विर कोमल चन्द्र भगत / अंकित भगत ।आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज चितवन लगायत अधिराज्यभर र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्त गर्दै, मिस्ठान्न भोजन बाँड्दै, साँस्कृतिक उत्सव आयोजना गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाउने गरिन्छ । सफलता प्राप्त गर्न आजका दिन नयाँ योजना निर्माण एवम् सत्संकल्प गर्ने परम्परा समेत रहेको छ । आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घर सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।

विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत् शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत् चलेको छ । विक्रम सम्वत् १३५ देखि शक सम्वत्, सम्वत् ६३३ देखि मानदेव सम्वत्, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत् चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ ।

Subcategories