News

चैत ३१, चितवन । तस्विर : कोमल चन्द्र भगत । चितवनको पर्यटकिय नगरी सौराहामा नयां वर्ष २०८२ वैशाख १ गतेदेखि ३० औँ वन्यजन्तु सप्ताह सुरु हुने भएको । ‘बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔँ मानवसँगको द्वन्द्व र हानि नोक्सानी’ भन्ने मुल नारासहित सप्ताह शुरु गर्न लागिएको हो । आज ( आइतबार ) मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले पत्रकार सम्मेलनको आयोजना गरी सप्ताहव्यापी आयोजना हुने कार्यक्रमको बारेमा जानकारी दिएको छ । संरक्षण र पर्यटनसंग सम्बन्धित संघसंस्थाहरुको सहकार्यमा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी वन्यजन्तु सप्ताह मनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा निकुञ्जसहित संरक्षण र पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वैशाख १ गते ३० औं वन्यजन्तु सप्ताहको उद्घाटन गरिने, २ गते टिकौली सडक वरपर सरसफाइ गर्ने, ३ गते जनकौली मध्यवर्ती सामुदायिक वनमा चरा अवलोकन र ‘बुझौँ वन्यजन्तुको आनीबानी ः घटाऔँ मानवसँगको द्वन्द्व र हानिनोक्सानी’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने, ४ गते बुढीराप्ती खोला सरसफाइ कार्यक्रम र डुङ्गा सयर, ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्‍याली र सप्ताहको अन्तिम दिन वैशाख ७ गते समापनको अवसरमा ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया तथा संरक्षणमा योगदान दिएकाहरूलाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरिने, वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण र विभिन्न प्रतियोगीताहरुमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगीहरुलाई पुरस्कार प्रदान गर्नेलगायतको विभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष घिमिरेले बताउनु भयो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका सचिव ओमप्रसाद रिजालले सञ्चालन गर्नुभएको पत्रकार सम्मेलनमा सिवियपियु मृगकुञ्जका अध्यक्ष बसन्त राना, मृगकुञ्जका कोषाध्यक्ष सञ्जय महतो, सदस्यहरू पूर्णप्रसाद ढुङ्गाना, बिन्दा कार्की, सरस्वती लामा लगायतको उपस्थिति थियो। कार्यक्रममा नयां वर्ष २०८२ शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

चैत ३०, वीरगन्ज । हनुमानको जन्मोत्सवको अवसरमा वीरगन्जमा निकालिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएको छ। शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैया पुगेपछि दुई समुदायबीच झडप भएको हो। झडपका कारण स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेका छन्।अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरी स्रोतका अनुसार प्रशासनले कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको छ ।

चितवन, चैत २९ । तस्विर अंकित भगत, 

युवा उद्यमी मञ्च चितवनले शुक्रबारदेखि चितवनको नारायणगढ स्थित क्याम्पा चौरमा ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । स्थानीयस्तरमा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा रोजगारीको अवसर सृजना गर्न सहज हुने उहाँको भनाइ थियो । सो अवसरमा मेड इन भरतपुरको लोगो समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, भरतपुर महानगरपालिका–१ का वडाअध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चेम्बर अर्फ कमर्सका उपाध्यक्ष रुविन रामुदामु, युवा उद्यमी निकोलस पाण्डे, निशान पौडेल लगायतले स्वदेशी उत्पादनको सम्मान गर्ने र नेपाली स्वाभिमान कायम गर्न सकेमा यहाँ उत्पादित सामानले बजार पाउन सहज हुने बताउनुभयो । वैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने मेलाले नेपाली उत्पादनको पहिचान, गुणस्तर र प्रभावलाई आमजनमानसमा प्रभाव दिने विश्वास लिइएको छ । मेला हरेक दिन बिहान १०ः०० देखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । साँझ ५ः०० देखि ९ः०० बजेसम्म ‘ग्राण्ड फुड फेस्टिभल’ हुने छ । एक्स्पोमा एक सय १० भन्दा बढी स्टल छन् । नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको मेला यस वर्ष सातौँ संस्करण हो ।

Subcategories