For news and programs, please contact us at +977 9855056039 .
काठमाडौँ, जेठ १२ ।
नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी।१’ ‘केपी।२’ ‘केपी।३’ र ‘केपी।४’ पुष्टि भएको थियो । “यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,” उहाँले भन्नुभयो, “तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्दछ ।” कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उहाँको भनाइ छ । ‘केपी।१’ १२ जनामा, ‘केपी।२’ १७ जनामा, ‘केपी।३’ र ‘केपी।४’ एक(एकजनामा देखिएको थियो । रासस
११, जेठ, चितवन । दुलर्भ एक सिंगे गैँडा लगायत बाघ, भालु र आहार प्रजाति जोगाउन चितवनमा पहिलोपटक सामुदायिक वनमा माटोको ढिस्को (तटबन्ध) निर्माण गरिएको छ । पर्यटकीय नगरी सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनले बाढीको जोखिमबाट गैँडा जोगाउन वनका दुई स्थानमा माटोको ढिस्को बनाएको हो । वि.सं. २०७४ सालमा आएको बाढीमा बगेर १५ वटा गैँडा भारत पुगे । आहार प्रजाति बाढीमै परेर मरे । भारत पुगेका १५ मध्ये ११ वटा गैँडा सरकारले फिर्ता ल्यायो । उति बेला बगेका अन्य चार वटा गैँडाको अवस्था अझै अज्ञात छ । चितवन राष्ट्रिय निकुञ्जमा चोरीसिकार विगतको तुलनामा कम भए पनि संरक्षणमा नयाँ–नयाँ चुनौती देखिँदै छन् । मानव–वन्यजन्तुबीचको द्वन्द्व र बाढीको जोखिमले संरक्षणमा जटिलता बढ्दै जान थालेपछि यस्ता काम गर्नु परेको बाघमारा सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनु भयो । बाढी आउँदा वन्यजन्तुले ज्यान जोगाउने गरी सुरक्षित स्थान निर्माण गरिएको अध्यक्ष तामाङको भनाइ छ । सौराहा र आसपासका क्षेत्रमा बाढी आउँदा पानीको सतह पाँच फिटसम्म पुगेको यकिन गरी सात फिट अल्लो माटोको ढिस्को (तटबन्ध) बनाइएको तामाङले जानकारी दिनुभयो ।
गैँडाको मुख्य बासस्थान रहेको सामुदायिक वनको मुख्य भाग ठूलोचौर र बूढीराप्ती नदीकिनारको अंगरी दहमा एक–एकवटा माटोको ढिस्को निर्माण गरिएको छ । प्रति ढिस्को तीन कठ्ठा १५ धुरमा ३६ मिटर लम्बाइ र ३६ मिटर चौडाइ रहेको छ । प्रति ढिस्कोमा दुई हजार घनमिटर माटो प्रयोग गरिएको छ । दुईवटा ढिस्को निर्माणका लागि करिब ११ लाख रूपैयाँ लगानी गरिएको छ । बाढीले बगाएर ल्याएको पाँगो माटोले पुरिएको सिमसार क्षेत्रबाट ढिस्को निर्माणका लागि माटो निकालिएको छ ।
सिमसार क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन पाँगो माटो निकालेर ढिस्को निर्माण गरिएको वनका अध्यक्ष तामाङले बताए । वन्यजन्तुको आहार व्यवस्थापनका हिसाबले सिमसार महत्वपूर्ण अङ्ग हो ।
वनले निर्माण गरेको ढिस्कोमा अहिले पनि वन्यजन्तु आराम गर्न थालेका छन् । भारतको काजीरंगा राष्ट्रिय निकुञ्ज र बर्दिया गुलरीयाको कृष्णसार संरक्षित क्षेत्रमा गरेको कामको अनुसरण गरी चितवनमा पहिलोपटक सामुदायिक वनको कोर क्षेत्रमा वन्यजन्तुका लागि सुरक्षित स्थान निर्माण गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
पर्यापर्यटनबाट राम्रो आम्दानी गर्दै आएको यस सामुदायिक वनले वन व्यवस्थापन, बासस्थान र घाँसे मैदान व्यवस्थापन, मानव–वन्यजन्तुको द्वन्द्व न्यूनीकरण, गरिबी निवारण, बालीनाली राहत वितरणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । आधुनिक मेसिन प्रयोग गरी घाँसे मैदान व्यवस्थापन, दुईवटा सोलार पम्प र दुईवटा मोटर पम्पको प्रयोग गरी सिमसारमा पानी व्यवस्थापन गरिएको सामुदायिक वनका सचिव कृष्ण भट्टले जानकारी दिनुभयो ।
मानव–वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि बस्ती र वनको सिमानामा कङ्क्रिट वाल निर्माण, बालीनाली राहत, पशुचौपायाको बिमा, सुत्केरी भत्ता, मृत्यु हुँदा काजक्रिया खर्च, उपचार खर्च, शिक्षामा वार्षिक १० लाख लगानी र गरिबी निवारणका लागि सीपमूलक तालिम दिँदै आएको छ ।
वार्षिक साढे दुई करोड आम्दानी गर्दै आएको सो सामुदायिक वनले उपभोक्तालाई वनप्रतिको निर्भरता हटाउन उपभोक्तामैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ । सो सामुदायिक वन गैँडा, बाघ, भालु, चितुवा, मृग प्रजाति, घडियाल र मगर गोहीको मुख्य बासस्थान हो । सौराहामा आउने अधिकांश पर्यटक सो वनमा हात्ती सफारी र डुङ्गा सयर गरेर रमाउने गरेका छन् । सामुदायिक वनले वन्यजन्तु जोगाउन माटोको ढिस्को निर्माणलाई निकुञ्जले सकारात्मकरुपमा लिएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले सामुदायिक वनले निर्माण गरेको माटोको ढिस्कोले डुबान हुने क्षेत्रमा वन्यजन्तु जोगाउने बताउनु भयो । ‘बाघमारा सामुदायिक वनले राम्रो योजना अघि सारेको र यो योजना संरक्षणका हिसाबले यो प्रभावकारी हुने तिवारीको भनाइ छ ।