News

जेठ २७, चितवन । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको अध्यक्ष भरतप्रसाद खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्ष खतिवडासहितको सत्र सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षहरु मुकुन्दप्रसाद गौतम, कृष्णप्रसाद संजेल, गिरिजापति गुप्ता, निर्मलप्रसाद बाँस्तोला, उमाकान्त ढुंगेल, बाबुराम भुषाल, महासचिवमा विनोदराज पाण्डे, सचिवमा कृष्णप्रसाद हुमागाई, सहसचिवमा सूर्यबहादुर भण्डारी र कोषाध्यक्षमा दिपक गिरी चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा पदमबहादुर थापा, हरिशरण अधिकारी, मोहम्मत याकुव, रतन महतरा, अमृतबाबु भट्टराई, रामप्रसाद कंडेल निर्वाचित भएका हुन् । त्यस्तै, गण्डकी प्रदेश संयोजकमा राजेन्द्र गिरी, कोशी प्रदेश संयोजकमा खगेन्द्र महतो, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिदत्त भट्ट, कर्णाली प्रदेश संयोजकमा कलबहादुर महतरा, बागमती प्रदेश संयोजकमा काशीराम सापकोटा, लुम्बिनी प्रदेश संयोजकमा अमृतबाबु भट्टराईलाई चयन गरिएको छ ।

२७ जेठ, चितवन ।
पश्चिम चितवनको पटिहानीमा ‘स्टोन पार्क’ सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिका वडा नं. २२ मा राप्ती नदीको सीमा क्षेत्रमा पार्क निर्माण गरिएको हो। वडा नं. २२ को ५० लाख, महानगरपालिकाको ३० लाख र नारायणी नदी व्यवस्थापन आयोजनाको ४० लाख रुपैयाँ बजेटमा स्टोन पार्क तयार भएको हो।चितवन राष्ट्रिय निकुञ्ज नजिकै ढुंगाबाट आकर्षक संरचनाहरु निर्माण गरेर पार्क बनाइएको छ।

राप्ती नदी र केरुङ घोलले काटेको जमिनलाई उकासेर मनोरम पार्क निर्माण गरिएको भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिनुभयो ।

पश्चिम चितवनको पटिहानी क्षेत्रमा आउने पर्यटकहरुले डुंगा चढ्ने ठाउँ भएको र यहाँबाट चितवन निकुञ्जको जंगल, वन्यजन्तुसहितको प्राकृतिक मनोरम दृष्यको अवलोकन गर्न मिल्ने भएकाले ‘खेर गएको जमिनको उपयोग गरेर स्टोन पार्क बनाएको अध्यक्ष महतोले बताउनु भयो ।

आफुले दक्षिण कोरिया भ्रमणमा जाँदा स्टोन पार्कको अवलोकन गरेपछि आफ्नो ठाउँमा पनि ढुंगै ढुंगाको पार्क बनाउने परिकल्पना गरेको बताउनुभयो ।

पार्कमा पटिहानी उपभोक्ता समितिले एउटा भ्यु टावर बनाएको छ। ढुंगा छापेर वाकिङ ट्रेल, सेल्फी पोइन्टहरु बनाइएको छ। वडाध्यक्ष महतोले पार्कमार्फत हुने आम्दानी व्यवस्थापनमा खर्च गरेर बाँकीले बोटे समुदायको जीविकोपार्जनमा सहयोग गर्ने बताउनुभयो । पार्क नजिकको क्षेत्रमा बोटे समुदायको बसोबास रहेको छ। पार्कको उद्घाटनको अवसरमा रैथाने खाना महोत्सव पनि गरिएको थियो। उद्घाटन कार्यक्रममा मेयर रेनु दाहालले भरतपुर महानगरपालिकाले भ्रमण वर्ष–२०२४ मनाइरहेको बेलामा नयाँ गन्तव्यको रुपमा स्टोन पार्क निर्माण गरि सञ्चालनमा ल्याउनुले पर्यटकिय हिसाबले गन्तव्य थपिएको बताउनु भयो ।
पटिहानीमा निर्माण गरिएको अम्रेला स्ट्रिट अहिले आन्तरिक पर्यटकले भरिभराउ हुने गर्छन् ।

चितवन,जेठ २३ । तस्विर : कोमल चन्द्र भगत । 

केराखेतीका लागि प्रसिद्ध जिल्लाको रूपमा चिनिने चितवनमा हावाहुरी, असिनापानी लगायतका प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको छ । किसानहरूका अनुसार गत शुक्रवार र शनिवार आएको हावाहुरीले चितवनका विभिन्न स्थानका केराखेतीमा करोडौँ रुपैयाँ बराबरको क्षति हुन पुगेको छ। “बर्सेनि प्राकृतिक विपद्का कारण केराखेतीमा क्षति हुने गरे पनि किसानले बिमा गरेको रकम समयमा पाउन नसकेको नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिनुभयो । पछिल्लो हावाहुरीले चितवनको खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिका क्षेत्रका किसानको करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अध्यक्ष पन्तले बताउनु भयो । केराखेती गर्ने किसानहरूलाई कृषि मन्त्रालयले ८० प्रतिशत प्रिमियम अनुदान दिने गरेको छ भने किसानले २० प्रतिशत प्रिमियम बुझाउने गरेका छन्। तर गत वैशाखमा चार करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बिमा रकममध्ये २ करोड ५० लाख रुपैयाँ अझै किसानहरूले नपाएको अध्यक्ष पन्तले बताउनुभयो ।

किसानहरूले अहिले पनि ६० करोड रुपैयाँ बराबरको बिमा गरेका छन्। बिमा कम्पनीले प्रतिबोट २७५ लागत मूल्य तोकेर बिमा गर्ने गरेका हुन्। चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार बिमा गरेको पहिलो तीन महिनामा क्षति भए ५५ प्रतिशत, चारदेखि ६ महिनामा ६५ प्रतिशत, ७९८ महिनामा ७५ प्रतिशत र नौदेखि १२ महिनामा क्षति भए शतप्रतिशत क्षतिपूर्ण दिनेगरी बिमा गर्ने गरिएको छ। केराबारीमा क्षति भएको ३५ दिनभित्र क्षतिपूर्ति दिइसक्नुपर्ने व्यवस्था रहेको छ। गत वर्षका ४०र४५ जना किसानले क्षतिपूर्ति वापत बिमा रकम नपाएको गुनासो किसानहरूको छ। बिमा कम्पनीबाट २० लाख रुपैयाँ पाउनुपर्नेमा अहिलेसम्म नपाएको किसान ऋषि गुरुङले बताए।

क्षतिपूर्ति नपाउँदा जग्गा भाडा वापत लिएको ब्याज र मल किन्न समेत समस्या भएको बताए। बिमा कम्पनीमा पैसा माग्न जाँदा सरकारले तिर्नुपर्ने रकम जम्मा नगरेको कारण भुक्तानी दिन नसकेको बताउने गरेको उहांले बताउनु भयो । “सरकारले पैसा जम्मा गर्ने बित्तिकै किसानले पाउंछ भनेर बिमा कम्पनीले बताउने गरे पनि अहिले सम्म नपाएको अर्का किसान बिष्णु भट्टराईले बताउनु भयो । यही अवस्था रहे केरा उत्पादक किसानहरू पलायन हुने अवस्था आउने उहांको भनाइ छ । सरकारले किसानलाई दिने ८० प्रतिशत अनुदान बिमा कम्पनीले समयमा पाउने गरेका छैनन्। पछिल्लो हावाहुरीले क्षति पुर्‍याएको केराखेतीको विवरण लिने काम शुरू भएको छ।

 

 

Subcategories