News

 

फागुन १७, चितवन।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै शाही युवा शक्ति नेपालले काठमाडौंमा र्‍याली निकालेको छ। राजधानीको दरबारमार्गमा प्रदर्शनका कारण माहोल अशान्त बनेको थियो। पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरू नारायणहिटी दरबार संग्रहालयमा छिर्ने प्रयास गरिरहेका छन्। यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। सामाखुसीबाट निस्किएका प्रदर्शनकारीहरू दरबारमार्ग आइपुग्दा नारायणहिटी संग्रहालय अगाडि भिड जम्मा भएको थियो। उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘राजतन्त्र जिन्दाबाद’, ‘हामीलाई राजा चाहियो’, ‘राजा आऊ, देश बचाउ’ जस्ता नारा लगाउँदै प्रदर्शन गरे। समर्थकहरूले नेपालको झन्डा बोकेर बाइक र पैदल र्‍याली गरे भने केहीले पूर्वराजा शाहको ठूलो तस्बिरसमेत बोकेका थिए । उनीहरूले झन्डा हल्लाउँदै नाचगानसमेत गरे। नाराबाजी र भिडले सडक अस्तव्यस्त बनाएको छ। ट्राफिक व्यवस्थापनमा पनि समस्या देखिएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच पुनः राजालाई लगाइदिनुपर्ने समेत बताएका छन्।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी तैनाथ गरिएको छ भने नारायणहिटी क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ।

फागुन १७, चितवन। चितवनबाट सुरु गरिएको ‘ट्राफिक टिचर अभियान’ बागमती प्रदेशभर लागु गर्न लागिएको छ । विद्यार्थीहरुलाई सडक नियम सम्बन्धी जानकारी गराउने उद्देश्यले राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरले सो अभियान सुरु गरेको थियो । माघ ११ मा चितवनबाट सुरु गरिएको अभियान बागमती प्रदेशका सबै जिल्लामा लागु गरिने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका एसपी नरेश सुवेदीले बताए । अभियान अन्तर्गत सामुदायिक तथा निजी विद्यालयका शिक्षकरतलाई ट्राफिक प्रहरीले तालिम दिन थालेको छ । तालिम लिएका शिक्षकहरूले हरेक हप्ता एउटा कक्षाका विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा लिनुपर्छ । चितवनमा भएका निजी तथा सामुदायिक विद्यालयका ५ सय ८ जना शिक्षकहरुलाई ट्राफिक नियमबारे तालिम प्रदान गरिएको छ । चितवनका ७ वटा स्थानीय निकायमा प्रशिक्षण सम्पन्न गरिएको एसपी सुवेदीले जानकारी दिए । ‘एक विद्यालय एक ट्राफिक शिक्षक’ अवधारणा अन्तर्गत सवारी दुर्घटनाको अवस्था, न्यूनीकरणमा देखिएका समस्या, चुनौती र जबाफदेहिताको क्षेत्रबारे शिक्षकहरूलाई प्रशिक्षण दिइन्छ । प्रशिक्षणको आधारमा शिक्षकहरुले विद्यार्थीहरूलाई ट्राफिक नियम पालना गर्ने र दुर्घटनाबाट जोगिनेबारे कक्षाकोठामा सिकाउँछन् । सडक नियमबारे विद्यार्थीलाई पढाउन पाठ्यसामग्री पनि उपलब्ध गराउने लक्ष्य राखिएको एसपी सुवेदीले जानकारी दिए । ट्राफिक नियम ‘जीवन मरणको नियम’ भएको हुनाले शिक्षकहरुले कक्षाकोठामा सो नियम सिकाउन आवश्यक रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका इनस्पेक्टर गायत्रीराज शर्माले बताए । उनले भने, ‘सवारी नियमको ज्ञान विद्यार्थीसम्म लैजाने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।

 

फागुन १७, चितवन। आयोजक गोर्खाली रग्बी क्लबले प्रथम गोर्खाली रग्बी सेभेन्सको उपाधि जित्न सफल भएको छ। भरतपुरको कृष्णपुर खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक फाइनलमा गोर्खाली रग्बी क्लबले त्रिभुवन आर्मी क्लबलाई १२–७ को स्कोरले पराजित गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समय ७–७ स्कोरले बराबरी भएको थियो। त्यसपछिको थप समयमा गोर्खालीले गोल्डेन स्कोर गर्दै च्याम्पियन बनेको हो। गोर्खालीका कप्तान यदु अधिकारीले उक्त गोल्डेन स्कोर गरेका हुन्। जितसँगै विजेता टोलीले २ लाख रुपैयाँ जित्न सफल भएको छ। नेपाली रग्बी खेलको इतिहासमा यो अहिले सम्मको सर्वाधिक राशि हो। उपविजेता त्रिभुवन आर्मी क्लबले १ लाख रुपैयाँ प्राप्त गर्‍यो। गोर्खाली रग्बी क्लबका भारतीय खेलाडी जावेद हुसेन प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए। यसअघिको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १७–१२ स्कोरले पराजित गरेको थियो। उक्त खेलको पनि निर्धारित समय पनि १२–१२ को स्कोरमा बराबरी हुन पुगेको थियो। खेलको अन्तिम समयमा कर्णालीले एउटा सहज कन्भर्जनमा पाएको २ स्कोर गर्न चुक्दा टोलीको फाइनल पुग्ने अवसर गुमायो। त्यसपछिको थप समयमा आर्मीले गोल्डन स्कोर गर्दै जोड्दै फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमिफाइनल खेलमा आयोजक गोर्खाली रग्बी क्लबले सशस्त्र प्रहरी बलको एपिएफलाई २९–० स्कोरले सहजै पराजित गर्‍यो। एकतर्फी रूपमा टुंगिएको खेलमा गोर्खाली क्लब सुरुआतदेखि नै हाबी देखिएको थियो। खेलमा एपिएफले कुनै अंक जोड्न सकेन। प्रतियोगिताका विजेता टोलीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्की, राइट पथका एमडी फिलिप केसी, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले पुरस्कार वितरण गरे।

Subcategories