News

 १ फागुन, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखाबाट आँसु रोकिएको छैन । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम फोन थियो । त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर । त्यसयता उनी बेचैन छिन् । श्रीमान्‌सँगको सम्बन्धविच्छेदपछि ६ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालसम्म न शव आएको छ, न त राहत रकम नै ।  लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ । छोरीको शव ल्याउन आमा धनमाया १० महिनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन् ।

शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेसिया पठाए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । ‘शव आउला भन्ने आश गर्दागर्दै १० महिना बितिसक्यो तर न शव देख्न पाइयो, न राहत रकम नै हात पर्‍यो’, उनले भनिन्, ‘म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेको छैन ।’

तिलमायाको हत्या भएको खबरलगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउनका लागि आग्रह गर्दा पनि अहिलेसम्म सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन् । ‘समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ’, उनले भनिन्, ‘जे हुने भइहाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो ।’

सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउनेबित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेसिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताइन् ।

‘मलेसियन दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुंगो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौँ । मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ’, उनले भनिन् ।

वैदेशिक रोजगार बोर्डको नियमानुसार मृत्यु भएको मितिले एक वर्षभित्रमा आर्थिक सहायताका लागि निवेदन पेस गरिसक्नुपर्छ । तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले शव आउन ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए ।

‘शव परिचालनमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो’, उनले भने, ‘शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि शव अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौँ ।’

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ । यो अवधिमा मृत्यु भएकामध्ये ३ जनाको शव नेपाल आउन बाँकी छ ।

– रासस

फागुन १, चितवन । भरतपुरमा छैठौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२० चित्रवन रंगशालामा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले उद्घाटन गर्नुभयो ।

प्रतियोगिता उद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले राष्ट्रपति रनिङ शिल्ड दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा देशको नाम चिनाउन महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

यस्तै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई खेलकुद हब निर्माण गर्ने उद्देश्यसहित विभिन्न पूर्वाधार बनाउने कार्य भइरहेको दिनुभयो । एक वडा एक खेल मैदान, एक विद्यालय एक खेल मैदान, नगरस्तरीय खेल मैदान, प्रदेश स्तरीय खेलमैदान तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय खेलमैदान निर्माण्को कार्य तीब्र रुपमा अघि बढेको उल्लेख गर्नुभयो ।

महानगरपालिकाले खेल क्षेत्रको विकासको लागि वर्षेनी छुटाउने बजेटलाई वृद्धि गर्दै लिएर गएको उल्लेख गर्नुभयो । महानगरको आयोजनामा मेयर कप विद्यालयस्तरीय त्रिकेट लिग गौतम बुद्ध क्रिकेट रंगशालामा चलिरहेको र केही दिन अघि उपमेयर कप महिला, पुरुष भलिवल प्रतियोगिता सकिएको उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिका देशका ७५३ पालिका मध्ये सबैभन्दा धेरै खेलकुद गतिविधि गर्ने पालिकाको रुपमा सम्मानित भइसकेको छ ।

प्रतियोगितामा १८ विधाका खेलहरु हुने शिक्षा महाशाखा प्रमुख महेन्द्र सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा भरतपुरका सामुदायिक र निजी गरी ८६ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा २ हजार ६ सय ६३ जना विद्यार्थीले सहभागिता जनाएका छन् । जसमध्ये १ हजार ५ सय ५७ छात्र र १ हजार ७६ जना छात्रा छन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई प्रदेश हुँदै संघमा प्रतिशपर्धाका लागि पठाइने छ ।

कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर २० का अध्यक्ष मुक्ति घलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

माघ ३०, काठमाडौं — काठमाडौंको साँखुमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।

काठमाडौं प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मृतकमध्ये सुशांक डोटेलको शंखरापुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। यस्तै, अन्य दुईजनाको एनएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा परेको बा २ ख ७९५८ नम्बरको बस चाबहिलस्थित एसएस एकेडेमीले नगरकोट पिकनिकका लागि रिजर्भ गरेको थियो। नगरकोटबाट विद्यार्थीलाई फर्काउने क्रममा साँखु–नगरकोट सडकखण्डअन्तर्गत शंखरापुर नगरपालिका–५ स्थित कात्तिके क्षेत्रमा ब्रेक फेल भएर बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटना बुधबार दिउँसो करिब ४ः४५ बजे भएको हो।

४० जना घाइते, विभिन्न अस्पतालमा उपचार जारी

दुर्घटनामा परी घाइते भएका ४० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन्।

पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरूः

पिपुल्स लाइफ केयर अस्पतालमा उपचाररत घाइतेहरू:

  • फिलिप लामा (१०)
  • प्रज्ज्वल थापा (१०)
  • भीम तामाङ (११)
  • राम परियार (१६)
  • सुजन मगर (१६)
  • सिरिसा सुवेदी (१२)
  • प्रकाश बम (१६)
  • साधन विष्ट (१२)
  • आराध्या शाह (१०)
  • आशिष तामाङ (१५)
  • स्नेहा राई (२१)
  • गंगा ज्योति (४२)
  • रञ्जित थापा (१३)
  • सुहाना गुभाजु (१३)
  • श्रीशान्त पौडेल (१५)
  • कल्पना रेग्मी (३२)
  • विकल्प श्रेष्ठ (१०)
  • नाइस्का पाण्डे (२३)
  • सुविता तामाङ (१४)
  • निशान्त पौडेल (१४)
  • सौगात मगर (१४)
  • अबित खान (१०)
    (अन्य दुईजनाको विवरण आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचाररत घाइतेहरू:

  • आदित्य सुनार (१२/१३)
  • धीरज साउद (१४)
  • सन्देश गिरी (१३)

त्यस्तै, एनएमसी अस्पतालमा १० जना र त्रिवि शिक्षण अस्पतालमा तीन जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

Subcategories