News

माघ १७, भरतपुर ।
भरतपुर महानगरपालिका वडा नं. ३ ले वडा भित्रका टोलविकास संस्था र महिला समुहका प्रतिनिधीहरुलाई दुइ दिने आवासीय दिएको छ । माडी नगरपालिका वडा नं–८, अयोध्यापुरीमा भएको टोल विकास संस्था र महिला समूहलाई दिइएको दुईदिने आवासीय तालिममा सहभागी भएका प्रतिनिधिहरुले वडाले अघि सारेका सबै किसिमका कार्यक्रम तथा योजनाहरुलाई कार्यान्वयनमा लैजान सँगसँगै हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिका वडा नं–३ का टोल विकास संस्थाहरुले वडाको समग्र विकासमा लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । भरतपुर–३ नं वडाले वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणका कार्यक्रम गर्दै आएको छ । यसबाहेक सिलाइकटाइ तालिम, संस्कृति बचाउन मादल बजाउने तालिम दिइरहेको छ ।

कौसी खेती प्रवद्र्धनका लागि तालिम, मल–बीउ वितरण, टोल विकास संस्थाको क्षमता विकास तालिम, लागूऔषध दुर्व्यसन न्यूनीकरण, विपन्नलाई न्यानो कपडा वितरणलगायतका कार्यक्रमहरु गरेको छ । यस्तै कालोपत्रे, ढल तथा नाला निर्माणलगायत भौतिक पूर्वाधारका ठूला योजनाहरु पनि वडा नं–३ ले गरिरहेको छ । शिक्षा, स्वास्थ्यका क्षेत्रमा विभिन्न शिविर तथा स्वास्थ्य परीक्षणका कार्यक्रम पनि वडाले गरेको छ । ‘वडाको समग्र विकासमा टोलहरुको साथ र सहयोग छ, वातावरणमैत्री वडा बनाउन यहाँ टोलहरुमा सरसफाइ सामग्री वितरणदेखि सूचकहरुको विषयमा तालिम प्रदान गरिएको छ’, बेलचोक टोल विकास संस्थाका उपाध्यक्ष श्रीकृष्ण लम्सालले भने, ‘सरसफाइ अभियान चलाइरहेका छौँ, सौन्दर्यीकरणका कामहरु भइरहेका छन्, टोलहरुको योजना नै वडाले बनाएको छ, यसलाई कार्यान्वयनमा ल्याउन कामहरु टोलमा भइरहेका छन् ।’ क्षमता विकास आवासीय तालिममा भरतपुर–३ नं वडाका मेलमिलाप संयोजक कृष्णप्रसाद पौडेलले वडाभित्र भएका विवाद, झैझगडालाई मेलमिलापबाट टुङ्गो लगाएको बताए । उनले हालसम्म मेलमिलाप समितिले गरेको कामको प्रगतिको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त मूल समितिका सचिव सुरेन्द्र धितालले वातावरणमैत्री तथा पूर्ण सरसफाइ कार्यक्रमले वडालाई हरियाली बनाउन सहयोग गरेको बताए । बाह्रघरे टोलका सचिवसमेत रहेका धितालले टोलहरुलाई वातावरणमैत्री बनाउन सूचकहरु पूरा गर्ने काम भइरहेको बताए ।

तालिम कार्यक्रमका प्रमुखअतिथि वडाध्यक्ष विकास थापाले वडाका हरेक विकास निर्माण तथा क्षमता, सीप विकासका कार्यक्रममा टोलहरुको सहकार्य रहेको बताए । उनले भने, ‘टोलहरुको योजनालाई अघि सारिएको छ, यसवर्ष पनि वडामा भरतपुर महानगर, प्रदेश सरकार तथा संघीय सरकारबाट करोडौँका योजनाहरु परेका छन् ।’ उनले आवासीय तालिमले टोल विकास संस्थाका प्रतिनिधिहरुको क्षमता विकास गरेको, हालका कार्यक्रमलाई अगाडि बढाउन गृहकार्य भएको र भावी कार्यक्रमको योजना बनेको बताए । कार्यक्रममा जनप्रतिनिधिहरु माधव अर्याल, कमलादेवी बोलखे तथा रामबहादुर लोहनीले वडामा टोल विकास संस्था र जनप्रतिनिधिबीच हरेक काममा ऐक्यबद्धता र समन्वय रहेको बताएका थिए ।युवा समाज नेपालका महासचिव किशोर खनालले वातावरण र सरसफाइको विषयमा प्रशिक्षण दिएका थिए । यस्तै, फोटो र भिडियोसम्बन्धी कोमलचन्द्र भगत, टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारको विषयमा रामचन्द्र आचार्यले प्रशिक्षण दिएका थिए । कार्यक्रम सञ्चारकर्मी अजिता अधिकारीले सञ्चालन गरेकी थिइन् । तालिममा टोलबाट छानिएका प्रतिनिधिहरुले टोल विकास संस्थाले गरिरहेको कामको समीक्षासमेत गरेका थिए ।


माघ ११, चितवन । भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो । परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने अवधारणा अनुसार भूमिगत विद्युतिकरणको कार्यलाई उच्च प्रथामिकतामा रहेको उल्लेख गर्नुभयो । अहिले तारहरु लत्रिएको, ठुलाको संख्यामा रहेका पोलहरु हट्दा महानगरको सौन्दर्यतामा वृद्धि भएर जाने बताउनुभयो ।
पहिलो चरण अन्र्तगत भरतपुरका मुख्य सडक खण्डमा गरिएको कार्यले महानगरलाई स्मार्टका साथै सहज विद्युत आपूर्तिमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
महानगरपालिकामा भौतिक पूर्वाधार विकासको कार्य तीब्र रुपमा भएसँगै काठमाडौँपछि भरतपुरमा यो परियोजना पहिलो पटक सुरु भएको प्रमुख दाहालको भनाई छ ।
भरतपुरमा निर्माणधिन ६ लेन सडक, बाइपासरोड र आँपटारीदेखि पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ । भूमिगत विद्युतिकरण ११ केभी लाईन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाका ईन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले ३३ केभीको काम सम्पन्न भई ११ केभी जडानको कार्य तीब्र रुपमा अघि बढेको छ । १ महिनाभित्र ६ वटा फिटरबाट विद्युत आपूर्तिको कार्य पुरा हुनेछ भने ६ महिनाभित्र १७ वटै फिडरको काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । भूमिगत विद्युतिकरणसँगै ईन्टरनेट फाईबर बिछ्याउने कार्य पनि अघि बढी रहेको छ । अबको ६ महिनापछि सबै पोलहरु हटाइने छ । सबै विद्युतिय संरचनामा भूमिगत विद्युतबाट विद्युत प्रशारण हुने आयोजनाले जनाएको छ ।

 

 

चितवन, माघ १० ।
१५ औं संस्करणको चितवन महोत्सव २०८१ सकिएको छ । उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुती’ मुल नारा दिएर पुष २५ बाट सुरु भएको महोत्वको सम्पन्न भएको छ ।

संघीय सरकारका उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेको महोत्सव बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा र बन तथा बातावरण मन्त्री कृष्ण सिलवालले समापन गरेका हुन् ।

महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवको समापन गर्दै महोत्सव ऐतिहासिकरुपमा सफल भएको बताउनु भयो ।

महोत्सव अवधिभर ५ लाख अवलोकनकर्ताले महोत्सवको अवलोकन गरेको र ३० करोड बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। लक्ष्य अनुसार कै सहभागिता र कारोबार भएको भन्दै अध्यक्ष श्रेष्ठले समापन समारोहमा खुसी व्यक्त गर्दै महोत्सव सफल पार्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यावद दिनुभयो ।

अवलोकनकर्ताहरुको चाप र महोत्सव परिसरभित्र निर्माण गरिएका र आयोजना गरिएका प्रबद्र्धनात्मक क्रियाकलापहरुमा अवलोकन कर्ताहरुको जुन चासो र भिडभाड देखियो यसले आयोजकलाई रोमाञ्चित बनाएको र आगामी दिनहरुमा पनि यस किसिमका महोत्सवहरु आयोजना गर्नका लागि थप उत्साहित बनाएको श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा रोजगार मेला, हार्डवयर्स एक्सपो, मह परिसर, अटो परिसर, रेष्टुरेन्ट परिसर, फन पार्क, चाईना एक्सपो, लघु, घरेलु परिसर, कृषि परिसर लगायत ४३० स्टलहरु रहेका थिए । बिगतका १४ वटा महोत्सवहरुलाई तुलना गर्दा यस पटकको महोत्सव पृथक बनेको श्रेष्ठले बताउनुभयो ।
महोत्सव अवलोकनकर्ता र प्रदर्शकबाट संकलन गरेको पृष्ठपोषण फर्मलाई अध्ययन गर्दा करिव ९० प्रतिशत अवलोकनकर्ताहरु महोत्सवमा भएका क्रियाकलापहरुबाट पूर्ण सन्तुष्टि भएको पाइएको श्रेष्ठले जानकारी गराउनुभयो ।

महोत्सवको माध्यमबाट उद्योग व्यवसायको प्रवद्र्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीहरुको परम्परा, रितिरिवाज र भेषभुषाहरुको जर्गेना हुनुका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधार लगायतका क्षेत्रहरुको विकासका संभावनाहरुको पनि उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको महसुश भएको श्रेष्ठ बताउँहुन्छ ।
चितवन महोत्सवमा पहिलो पटक आयोजना गरिएको चाइनिज कमोडिटी एक्सपोमा रहेका स्टलहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै अध्यक्ष श्रेष्ठले निर्माण सामाग्री (हाडवयर्स) व्यवसायी संघ चितवनको सहकार्यमा आयोजित निर्माण एक्सपोमा पनि उल्लेख्य दर्शकहरुले उपस्थिति जनाएको बताए । चितवन महोत्सव २०८१ मा प्रतियोगितात्मक कृषि प्रदर्शनी, हस्तकलाका उत्पादन, साना तथा लघु, घरेलु उत्पादनको प्रदर्शनी, औद्योगिक प्रदर्शनी, अटोमोवाईल्स प्रदर्शनी, अर्गानीक उत्पादनको प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रदर्शनी, रमाइलो मेला, कृषि , शिक्षा, स्वास्थ्य, पर्यटन र सूचना प्रविधि बिषयमा राष्ट्रिय स्तरका छुट्टाछुट्टै सेमिनार तथा गोष्ठी, साहित्यिक गोष्ठी, खेलकुद प्रतियोगिता, दैनिक स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वदेशमा उद्योगहरुको विस्तार गरी स्वदेशमै वस्तुहरु उत्पादन गर्नुुपर्ने आजको आवश्यकता रहेको बताउनु भयो । जसका लागि देशमा उद्योग व्यवसायमैत्री वातावरण बनाउनु पर्ने र त्यसका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो । महोत्सवले स्वदेशी र स्थानीय उत्पादनको प्रवद्र्धन र बाजारीकरणमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो

समापन समोरोहमा एक चाइनिज प्रदर्शक र एक स्वदेशी प्रदर्शकले आफ्नो धारणा राख्दै महोत्सवमा साचे जस्तो सफलता प्राप्त गरेको बताएका छन् । समापन समारोहमा दुई प्रदर्शक, अध्यक्ष र प्रमुख अतिथिबाहेक अन्य कुनै पनि वक्ताहरुले बोलेनन् ।

उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदीले समापोन समारोहमा स्वागत मन्तव्य राखेका थिए भने उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले कार्यक्रम सञ्चालन गरेका थिए ।
महोत्सवको समापन समारोहमा महोत्सवमा उत्कृष्ट प्रदर्शक, उवासंघका पूर्व अध्यक्ष, महोत्सव मुल समिति भित्रका उत्कृष्ट कार्यसम्पादन गर्ने उपसमिति संयोजकहरुलाई सम्मान समेत गरिएको थियो ।

Subcategories