News

 

चितवन, माघ २२ । भरतपुरका सामुदायिक र संस्थागत विद्यालयमा अध्यययन गर्ने किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभी हो ।
विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले श्री मावि गौरीगञ्जबाट अभियानको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यो अभियानमा कक्षा ६ देखि १० मा पढ्ने सम्पूर्ण छात्राहरुलाई अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो ।
भरतपुर महानगरले मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्य गरिसेको र अब भने विभिन्न उमेर समूहको लागि यस्तै अभियान ल्याउने बताउनुभयो ।
अभियान फागुन २ गतेसम्म अर्थात् १० दिनसम्म चल्नेछ । विद्यालय जाने ६ कक्षादेखि १० कक्षासम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका छात्राहरुलाई खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले जानकारी दिनुभयो ।
भरतपुर महानगरका स्वास्थ्य अधिकृत केशव भट्टका अनुसार विद्यालयका अध्ययरत १६ हजार १ सय ६९ र विद्यालय बाहिरा रहेका ४ सय २३ गरी १६ हजार ५ सय ९२ जनालाई खोप लगाइने छ । खोप सेवाका लागि १ सय ९३ खोप केन्द्रहरु, २ सय १ जना स्वास्थ्यकर्मी र ४ सय २ जना स्वास्थ्यकर्मी खटिने छन् ।
आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिने तालिका रहेको अधिकृत भट्टले जानकारी दिनुभयो ।

चितवन, माघ २० ।

चितवन राष्ट्रिय निकुञ्जले सिमसार दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । ‘भविष्यका लागि सिमसार संरक्षण’ भन्ने मुल नाराका साथ निकुञ्जले रामसार सूचीमा सुूचिकृत बीस हजारी तालमा अन्तरक्रिया तथा फोहोर संकलन गरी दिवस मनाएको हो । मध्यवर्ती क्षेत्र, सामुदायिक वन, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, वडा कार्यालय, डब्लु डब्लु एफ नेपाल, एनटीएनसी लगायत संघसंस्थाको सहभागितामा कार्यक्रम गरिएको हो । यस्तै वरण्डाभार जैविक मार्ग अन्तरगत पूर्वपश्चिम महेन्द्र राजमार्गमा प्लाष्टिकजन्य फोहोर संकलन तथा चेतना अभिवृद्धि कार्यक्रम गरिएको छ । सिमसार र मानवबीच अन्तर सम्बन्ध, सिमसार संरक्षणका चुनौति, सिमसार पूर्नस्थापनामा भएका प्रयासहरु बारे आम नागरिकलाई यसको महत्व बुझाई यसको संरक्षणमा सबै तहतप्काको सहभागिता बढाउने कार्यक्रमको उदेश्य रहेको छ । कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्त, भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख, वडा अध्यक्षहरु, संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

१९ माघ, काठमाडौं । बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्तर्णी देवी र बालकृष्ण झाको पहिचान खुलेको छ । घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनीहरू महोत्तरीका हुन् । तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको लाइभहिन्दुस्थान डटकमले जनाएको छ । सडकमा बाइक स्टन्ट गरिरहेका युवकहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो । स्कोर्पियो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको बताइएको छ । गाडीमा रहेका सबै महाकुम्भमा स्नान गरेर घर फर्किंदै थिए ।

Subcategories